किन दिदैंछिन् ट्रम्पकी सहयोगीले राजीनामा ?


प्रकाशित मिति : फाल्गुन १७, २०७४ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सर्वाधिक समय काम गर्नेमध्येकी एक सल्लाहकार उनकी सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेकी छन् ।

एउटा विज्ञप्तिमा उनले आफूले ट्रम्पलाई कुनै पनि शब्दमा धन्यवाद व्यक्त गर्न नसक्ने बताइन् ।

ह्वाइट हाउसले मंगलबार एउटा संसदीय समितिमा प्रमाण उपलब्ध गराउने क्रममा उनले राष्ट्रपति ट्रम्पको पक्षमा झुटो बोलेको स्वीकार गरेका विवरणसँग उक्त राजीनामा नजोडिएको प्रतिक्रिया दिएको छ ।

राष्ट्रपति ट्रम्पले उनलाई साँच्चिकै असल मानिस भन्दै उनको अभाव खट्किने बताएका छन् ।

२९ वर्षीया होप हिक्स पूर्व मोडेल तथा ट्रम्प अर्गानाइजेसनकी पूर्व कमर्चारी समेत हुन् ।

हिक्सले आफ्ना सहकर्मीहरूलाई आफूले ह्वाइट हाउसमा गर्नुपर्ने सबैथोक सम्पन्न गरेको बताएको विवरणहरूमा जनाइएको छ ।

उनी ह्वाइट हाउसकी सञ्चार निर्देशकको रुपमा काम गर्ने चौथो व्यक्ति थिइन् ।

ह्वाइट हाउसकी प्रवक्ता सेराह स्यानर्डसले हिक्स कहिलेबाट अलग हुन्छिन् त्यो प्रष्ट भइनसकेको बताइन् ।

उनले अमेरिकी संसद्को गुप्तचर समितिमा मंगलबार दिएको बयानसँग उक्त राजीनामा सम्बन्धित नरहेको पनि उल्लेख गरिन् ।

संसदीय समितिसमक्ष हिक्सले राष्ट्रपति ट्रम्पको पक्षमा बेला बेलामा झुटो बोलेको स्वीकार गरेकी थिइन् ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उनले सन् २०१६ को राष्ट्रपतीय चुनावका रुसले हस्तक्षेप गरेको भन्ने आरोपसँग सम्बन्धित विषयमा झुटो नबोलेको बताएकी थिइन् ।

चुनावी अभियानका क्रममा हिक्सले ट्रम्पको प्रेस सचिवको भूमिका खेलेकी थिइन् ।

अचानक एन्टोनी स्कारामुची बर्खास्त गरिएपछि गएको अगष्टमा उनले ह्वाइट हाउसको सञ्चार टोलीको प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् ।

उनले खासै चर्चामा नरही काम गर्दै आएकी थिइन् ।

राष्ट्रपति ट्रम्पले उनले निकै राम्रोसँग आफ्नो जिम्मेवारी बहन गरेको भन्दै भविष्यमा पनि उनीसँग काम गर्न चाहना रहेको जनाएका छन् । बीबीसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com