तत्काल युद्धविराम लागू गर: राष्ट्रसंघ महासचिव


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले युद्धले निम्त्याएको नर्कजस्तो स्थिति अन्त्य गर्न सिरियाको पूर्वी गुटा क्षेत्रमा तत्काल युद्धविराम गर्न माग गरेका छन्।

विद्रोही नियन्त्रित उक्त क्षेत्रमा सरकारी फौजले आक्रमण जारी राखिरहँदा उनको यस्तो टिप्पणी आएको हो।

त्यहाँ भएको पछिल्लो हवाई आक्रमणमा कम्तिमा दश जना नागरिक मारिएको बताइएको छ।

तत्पर

उक्त स्थानमा रहेका स्वास्थ्यकर्मीहरुले क्लोरिन ग्यासले निम्त्याउने जस्तै लक्षणहरु देखिएको बताएका छ्न्।

यदी युद्धविराम भए राष्ट्रसंघले पूर्वी गुटासम्म खाद्य सामाग्री र औषधी पुर्‍याउन तत्पर रहेको जनाएको छ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले शनिबार देशभर ३० दिने युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो।

तर युद्धविराम शुरु गर्ने कुनै प्रारम्भिक मिति चाहीं दिइएको थिएन।

सोमबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले युद्धविराम तत्काल गर्नुपर्ने बताएका हुन्।

एउटा चिकित्सा सहायता समूहका अनुसार आठ दिन अघि देखि भएको सरकारी आक्रमणमा कम्तिमा ५४१ जना मानिस मारिएका छन्।

हताहती

राजधानी दमास्कस नजिक रहेको पूर्वी गुटा अन्तिम विद्रोही नियन्त्रित क्षेत्र हो र रुसी र इरानी सहयोगीहरुको समर्थनमा उक्त क्षेत्रलाई सन् २०१३ देखि सिरियाली सेनाले घेरा हालेको छ।

यद्पी शनिवार यता हिंसामा केही कमी आएपनि उक्त क्षेत्रलाई लक्षित पारेर हवाई आक्रमणहरु भने जारी नै छन्।

सिरिया

 

सोमबार बिहानका विवरणहरुका अनुसार पूर्वी गुटाको डुमा नगरसहित र ह्यारास्टामा थप बमबारी भएका छन्।

यूनियन अफ मेडिकल केयर एण्ड रिलिफ अर्गनाइजेशन्स (यूओएसएसएम) सहायता निकायले आइतबार भएको सरकारी आक्रमणमा कम्तिमा २० जना नागरिक मारिएको जनाएको छ। यूओएसएसएमले पूर्वी गुटामा अस्पतालहरु सञ्चालन गर्छ।

गुटाको दक्षिणपूर्वी भेगमा सरकारी सैन्य र विद्रोहीहरुबीच झडप हुँदा दुबै पक्षमा हताहती भएका समाचारहरु आएका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार तीन लाख ९३ हजार नागरिकहरु उक्त क्षेत्रमा फसेका छन्।

जिनिभामा संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदलाई सम्बोधन गर्दै गुटेरेजले सुरक्षा परिषद् को प्रस्ताव प्रभावकारी ढंगले कार्यान्वयन गरिएमात्र अर्थपूर्ण हुने बताए।

मानवअधिकारवादी समूहका लागि सिरियाली सञ्जालका अनुसार सिरियाली सरकारी सैन्य र ऊ समर्थित समूहहरुको आक्रमणका कारण सन् २०११ को मार्च यता पूर्वी गुटामा १२ हजार ७ सय ६३ जना गैरसैनिकहरुको मृत्यु भइसकेको छ।

सन् २०११ देखि सिरियामा गृहयुद्ध शुरु भएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com