सिरियामा युद्धविराम भए पनि बमवर्षाको क्रम जारी


प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार

 

फागुन १४, काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले शनिवार युद्धविराम प्रस्ताव पारित गरेको भए पनि सिरिया सरकारले विद्रोहीको कब्जामा रहेको क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ ।

राजधानी दमास्कसनजिकको पूर्वी गूतामा विगत एक हप्तादेखि भएको बम आक्रमणमा सयौं मानिस मारिएका छन् ।

राष्ट्रसंघले कुनै विलम्बविना ३० दिने युद्धविरामको आग्रह गरेको केही घण्टामा यी आक्रमणहरू भएका हुन् ।

आइतवार फ्रान्स र जर्मनीले रुसलाई सिरिया सरकामाथि युद्धविरामको सम्मान गर्नका लागि दबाब दिन आह्वान गरेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको संयुक्त टेलिफोन वार्तामा जर्मन चान्सलर अंगेला मर्कल र फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयन गर्न सहायताको आग्रह गरे ।

गूता विद्रोहीहरूको कब्जामा रहेको प्रमुख क्षेत्र हो ।

युद्धविराम प्रस्तावपछिको सरकारी हवाई आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको बताइएको छ भने पूर्वी गूतामा रहेको एक विद्रोही समूहले कैयौं सरकारी सेना मारेको भनेको छ ।

बीबीसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com