क्यानडामा नेपाली प्रजातन्त्र दिवस


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

क्यानडाको राजधानीमा नेपाली राजदूतावासको आयोजनामा ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस आइतबार मनाएको छ।

नेपाली राजदूतावासकै परिसरमा आयोजित कार्यक्रममा राजधानीमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र राजधानीवासी नेपालीहरुको उपस्तथिति थियो ।

उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै क्यानडाका लागि नेपालका राजदूत कालीप्रसाद पोखरेलले नेपाली जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्ने दिशामा वि.सं. २०७२सालमा नयाँ संविधान जारी भई हालै मात्र संघ, प्रदेश र स्थानीय निकायको चुनाव सम्पन्न भई नयाँ संविधान अनुरुप संघीय, प्रादेशिक तथा स्थानीय सरकारहरुको समेत गठन भएको कुरा बताए।

यसले मुलुकमा  लामो समयदेखि रहेको राजनीतिक संक्रमणको अन्त्य भएको र अब मुलुक आर्थिक विकाश र उन्नति तर्फ उन्मुख हुने जानकारी गराए।

मुलुकले अब राजनीतिक स्थायित्वसँगै आर्थिक विकासको गतिलाई पनि तीव्र बनाउन आवश्यक भएको बताउँदैं नेपाल सरकारले गैरआवासीय नेपालीहरुको सहभागिताबाट मुलुकको विकास हुने भएकोले सबैले आआफ्नो शिप दक्षता र आर्जित ज्ञान र बौद्धिकतालाई मुलुकमा लगानी गरेमात्र देश सम्वृद्धि तर्फ उन्मुख हुने बताए।

पोखरेलले नेपालमा  विद्युत उत्पादन उद्योगधन्दा र व्यापारमा लगानी गर्न र पर्यटन प्रवर्द्वनमा सरिक भइ नेपाल-क्यानडाबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको आर्थिक विकासमा सहयोग पुर्‍याउन क्यानडाका नेपाली समुदायलाई अनुरोध गरेका थिए।

ओटवास्थित नेपाली समुदायको संस्था नेप्लिज् क्यानेडियन एशोसियसन अफ ओटवाका प्रतिनिधि प्रभाकर रेग्मीले प्रजातन्त्र दिवस कार्यक्रम आयोजना गरेकोमा नेपाली राजदूतावासलाई धन्यवाद दिंदैं शुभ-कामना व्यक्त गरे।

कार्यक्रममा गैरआवासीय नेपाली संघ-क्यानडाका पूर्व उपाध्यक्ष तथा भाषा साहित्य एवं प्रकाशन विभागका संयोजक सुरेन उप्रेतीले बोलेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com