तिब्बतको ऐतिहासिक विहारमा आगलागी
प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार
फागुन ६, तिब्बतीयन बुद्धिजममा महत्वपूर्ण गुम्बामा आगलागी भएको छ । ल्हासाको जोखाङ विहारमा रहेको विहारमा आगलागी भएको हो ।
अनलाइनमा पोस्ट भएका भिडियो फुटेजमा बिहारको छानोबाट आगोको मुस्लो आएको देखिएको छ । प्यागोडा शैलीको विहारमा आगलागी भएको हो ।
चीनको सरकारी सञ्चारमाध्यमले शनिबार अबेर विहारमा आगलागी भएको र लगत्तै नियन्त्रणमा लिइएको जनाएको छ । घटनामा कसैको पनि ज्यान गएको छैन । तर आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले भने साँस्कृतिक सम्पदामा कुनै क्षति नभएको दाबी गरेको छ । मुख्यगरी बुद्धिस्टको बसोबास रहेको तिब्बत चीनको स्वायत्त राज्य हो ।
तिब्बतलाई विश्वको छानोको रुपमा लिने गरिन्छ । एक हजार वर्ष भन्दा पुरानो जोखाङ विहारलाई युनेस्कोले विश्वसम्पदा सूचिमा राखेको छ ।
चिनियाँ अधिकारीले आगलागीको भिडियो फुटेज तथा तस्बिरहरु अनलाइन तथा सामाजिक सञ्जालमा आउन नदिनका लागि ठूलो प्रयास गरेको दाबी गरिएको छ ।
यो विहार स्वतन्त्र तिब्बतको पक्षमा रहेकाहरुको केन्द्रको रुपमा रहने गरेको थियो । तिब्बती नागरिकले उनीहरुको नयाँ वर्ष ल्होसार मनाउने क्रममा आगो फैलिएको हो ।