मन्त्री र कर्मचारीबीचको यौन सम्बन्धमा प्रतिबन्ध


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले मन्त्री र तिनका कर्मचारीबीच हुने यौन सम्बन्धमा प्रतिबन्ध लगाइने बताएका छन्।

मन्त्रिमण्डलमा रहेका उपप्रधानमन्त्रीको सम्बन्ध एउटी पूर्वकर्मचारीसँग भएको सार्वजनिक भएपछि उनले यस्तो घोषणा गरेका हुन्।

एउटा पत्रकार सम्मेलनमा बोल्दै बार्नबी जोइसको आचरणलाई ‘विवेकमा भएको भयङ्कर त्रुटि’ भन्दै प्रधानमन्त्री टर्नबुलले उनको निन्दा गरे।

मन्त्री पदको गरिमा तोडिएको छ कि छैन भनेर छानबिन हुँदै गर्दा जोइस सोमवारदेखि बिदामा बस्दै छन्।

जोइस र टर्नबुल दुवैले कुनै पनि स्थापित नियम भने उल्लङ्घन नभएको दाबी गरेका छन्।

आचरण

तर प्रधानमन्त्रीले मन्त्रीहरूको आचारसंहितालाई ‘साँच्चै अपर्याप्त’ भन्दै त्यसमा व्यापक सुधार गरिने बताए।

“मन्त्रीहरूले पदअनुसारको आचरण गर्नुपर्छ। उनीहरूले आफ्ना कर्मचारीसँग यौन सम्बन्ध राख्नु हुँदैन,” उनले भने।

यसअघि संसद्‌मा बोल्दै टर्नबुलले आफू संयुक्त राज्य अमेरिकाको भ्रमणमा अर्को हप्ता जाँदा जोइसलाई कार्यवाहक नदिने बताएका थिए।

जोइस र उनकी मिडिया सल्लाहकार भिकी क्याम्पिअनको यौन प्रकरण सावजनिक भएपछि गत बुधवारदेखि अस्ट्रेलियाको राजनीति तरङ्गित भएको छ।

टर्नबुलका अनुसार जोइस एक हप्ता बिदामा बस्नेछन्। तर विपक्षी दहलहरूले उनको राजीनामा माग गरेका छन्।

Malcolm Turnbull speaks in parliament

 

प्रधानमन्त्री टर्नबुलले जोइसको आचरणको निन्दा गरेका छन्

 

दोहोरो नागरिकता भएको विषयमा सांसद पद गुमाएका जोइस न्यूजिल्यान्डको नागरिकता त्यागेर फेरि गत डिसेम्बर महिनामा संसद्‌‌मा निर्वाचित भएका हुन्।

जोइसले आफ्नी श्रीमती, चार छोरीहरू र क्यापिअनलाई ‘नराम्रो चोट र अपमान’ दिएको टिप्पणी गर्दै टर्नबुलले भने, “बार्नबीले आफ्नै कार्यालयमा काम गर्ने युवतीसँग सम्बन्ध राख्दा आफ्नो विवेकमा भयङ्कर त्रुटि गरेका छन्।”

“त्यसो गर्दा उनले ती महिलाहरूलाई पीडाको संसारमा धकेलेका छन् र हामी सबैलाई क्षुब्ध बनाएका छन्। उनीहरूप्रति हाम्रो सहानुभूति छ।”

‘पीडादायक निजी अनुभव’ भन्दै मंगलवार जोइसले आफ्नी श्रीमती, चार छोरी र ती पूर्वकर्मचारीसँग सार्वजनिक रूपमै क्षमा मागेका थिए।

टर्नबुलले त्यस्तो आचरण आजको दिनमा अस्वीकार्य भएको भन्दै मन्त्रीहरूले कार्यस्थललाई मर्यादित बनाउनुपर्ने बताए।

बिहीवार सिनेटले जोइसले राजीनामा गर्नुपर्ने भन्दै एउटा प्रस्ताव पारित गरेको छ। तर त्यो बाध्यकारी भने हुँदैन।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com