दक्षिण अफ्रिका: राष्ट्रपतिको राजीनामा माग, भ्रष्टाचारको आरोप


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

दक्षिण अफ्रिकाका सञ्चारमाध्यमहरूले त्यहाँको सत्तारुढ दल अफ्रिकन नेशनल कंग्रेसले राष्ट्रपति जेकोब जुमाको राजीनामा माग गरेका विवरणहरू बाहिर ल्याएका छन्।

अबेर बिहानीसम्म चलेको पार्टीको बैठकपछि कुनै आधिकारिक वक्तव्य भने दिइएको छैन।

राष्ट्रपति जुमामाथि भ्रष्टाचारको आरोप लागेको छ।

पार्टीको प्रमुखका रूपमा सिरिल रामापोसा गएको डिसेम्बरमा चुनिएपछि राजीनामाका लागि परेका दवाबको जुमाले बेवास्ता गर्दै आएका छन्।

राजीनामा
जुमाको भविष्यबारे छलफल गर्न एएनसीका १०० भन्दा वरिष्ठ नेताहरूले प्रिटोरियाको एउटा होटलमा १३ घण्टा बैठक गरेका थिए।

बैठकपछि कसैले औपचारिक प्रतिक्रिया दिएनन्। तर स्थानीय सञ्चारमाध्यमले उक्त भेलाले जुमालाई राजीनामा दिन औपचारिक रूपमा आग्रह गरेको जनाएका छन्।

बैठकको बीचमै एएनसी नेता सिरिल रामापोसा नजिकै रहेको जुमाको निवासमा गएका थिए।

उनले राष्ट्रपति जुमालाई पदबाट राजीनामा नदिए पार्टीले फिर्ता बोलाउने जानकारी दिएको बताइएको छ।

विभाजन
प्रिटोरियास्थित बीबीसी संवाददाता भन्छन्- रामापोसा विभाजनको रेखा देखापरिसकेको पार्टीमा फुट नआओस् भन्ने चाहन्छन् र सहमतिको प्रयास गरिरहेका छन्।

एउटा अपुष्ट विवरणमा जुमाले राजीनामा दिन सहमति जनाएको तर त्यसका लागि ३ महिना आफूलाई पदमा बहाल राख्नुपर्ने शर्त राखेको उल्लेख गरिएको छ।

सैद्धान्तिक रुपमा जुमाले राजीनामा दिने माग अस्वीकार गर्न सक्छन्। तर त्यसो गर्दा उनले यसै महिनाको अन्त्यमा सदनमा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने हुनसक्छ।

त्यस्तो अवस्थामा झन् विवाद र विभाजन बढ्ने कतिपयले टिप्पणी गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com