हङकङ बस दुर्घटनामा १८ जनाको मृत्यु


प्रकाशित मिति : माघ २७, २०७४ शनिबार

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शाटिनबाट ताईपोतर्फ हिँडेको बस ताइपोमा पुगेपछि भएको दुर्घटनामा १५ जना पुरुष तथा तीन महिलाको घटनास्थलमा नै निधन भएको बताइएको छ । उद्धारकर्मीले दुर्घटनामा क्षतिग्रस्त बसको माथिल्लो भाग काटेर बसमा फसेका अन्य यात्रुलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाएका छन् । घानाको अनुसन्धान शुरु गरिएको छ । घाइतेलाई भेट्न हङकङका कार्यकारी प्रमुख लाम चेङ युएट ङोरले विरामीहरूलाई उपचार सेवा दिइराखिएको प्रिन्स अफ वेल्स अस्पताल जानुभएको बताइएको छ ।
–––
मुनलाई प्योङयाङ भ्रमणको निम्ता
सोल, दक्षिण कोरिया, २७ माघ (रासस÷एएफ्पी) ः उत्तर कोरियाली नेता किम जोङ अनले शनिबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–इनलाई प्योङयाङ सम्मेलनमा सहभागी हुन निम्ता दिनुभएको सोलस्थित राष्ट्रपतिको कार्यालयका प्रवक्ताले जानकारी दिएका छन् ।
दक्षिण कोरियाको भ्रमणमा रहेकी नेता किम यो जोङले उत्तर कोरियाली सर्वोच्च नेता किमले राष्ट्रपति मुनलाई ‘सकेसम्म छिटो’ प्योङयाङमा जान निम्ता लिएर आएको जनाउनुभएको ब्लु हाउसका प्रवक्ताले बताए ।
किम यो जोङ पनि उत्तर कोरियाली सत्तारुढ वर्कस् पार्टीको केन्द्रीय समितिको उपनिर्देशक तथा सर्वोच्च नेता किमकी बहिनी हुनुहुन्छ ।

प्योङयाङमा छिट्टै हुन लागेको अन्तर कोरियाली शिखर सम्मेलन तेस्रो हो । यसअघि किमका पिता तथा तत्कालिन नेता किम जोङ द्वित्तीयले सन् २००० मा तत्कालिन दक्षिण कोरियाली राष्ट्रपति किम दाई–जुङ र सन् २००७ मा रो मु ह्युनलाई प्योङयाङमा नै भेट्नुभएको थियो ।

निम्तालाई राष्ट्रपति मुनले तत्कालै स्वीकार भने गर्नुभएको छैन । उत्तरको निम्तालाई दक्षिणले लामो समयदेखि सैन्य सहयोग दिँदै आएको अमेरिकाको राय नबुझिकन स्वीकार्नेस्थिति नै छैन ।

गत बर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा नेता किमबीच चेतावनीपूर्ण तथा एक आपसमा अनादर झल्काउने खालका श्रृङ्खलावद्ध भनाईहरू आएका थिए ।

शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि हाल दक्षिण कोरियामा रहेको उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपतिसँग भेट गरेको छ ।

उक्त प्रतिनिधिमण्डलको नेतामा उत्तर कोरियाको संसदका प्रमुख तथा यहाँको राजनीतिक प्रणालीअनुसार आलंकारिक राष्ट्रपति समेत मानिनुहुने किम योङ नाम तथा नेता किम जोङ अनकी बहिनी किम यो जोङ रहनुभएको छ ।

यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण हो ।

उहाँहरु दुई जना सहितको चार सदस्यीय प्रतिनिधिमण्डल शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको कार्यालयमा ब्लु हाउसमा पुग्नुभएको थियो ।

उक्त प्रतिनिधिमण्डल दक्षिण कोरियामा हिजोबाट सुरु भएको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन सत्रमा सहभागिताका लागि शुक्रबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएको हो ।

भ्रमण तथा दक्षिण कोरियाका राष्ट्रपतिसमक्ष भएको यस भेटघाटलाई दुई कोरियाको इतिहासमा एक महत्वपूर्ण घटनाका रुपमा लिइएको बताइएको यहाँका स्थानीय तथा राष्ट्रियस्तरका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् २००९ पछि उत्तर कोरियाको तर्फबाट यो स्तरका प्रतिनिधि दक्षिण कोरिया पुगेका पहिलो भएको समाचारमा जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com