अमेरिकामा दुई वर्षे बजेटमा दुईदलीय सहमति


प्रकाशित मिति : माघ २५, २०७४ बिहीबार

अमेरिकामा सरकारी खर्च समाप्त हुने अघिल्लो दिन रिपब्लिकन र डेमोक्र्याट नेताहरूले बजेट विधेयकमा दुईदलीय सहमति गरेका छन्।

खर्च अरबौं डलरले बढाइँदा राष्ट्रिय घाटा झन् बढ्ने भन्दै कतिपयले चिन्ता व्यक्त गरेका छन्।

विरलै हुने दुई पार्टीबीचको सहमतिमा रिपब्लिकन सिनेट नेता मिच म्याक्कनल र डेमोक्र्याटिक पार्टीका नेता चक सुमरले दुई वर्षे आर्थिक योजना अनुमोदन गरेका छन्।

सिनेटमा उक्त विधेयक सजिलै पारित हुने ठानिएको छ तर तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा त्यसले अवरोध बेहोर्न सक्छ।

विरोध

यो सहमति सरकारसँग खर्च गर्न पैसा नहुने अर्को अवस्था आइलाग्ने ठीक अघिल्लो दिन भएको छ।

बिहीवार मध्यरातसम्म कंग्रेसमा सहमति भएन भने सरकारले पाएको एक महिने खर्च गर्न पाउने अवधि समाप्त हुनेछ।

कंग्रेसका कतिपय डेमोक्र्याट र रिपब्लिकन नेताहरूले दुई दलीय विधेयकको विरोध गरेका छन्।

विधेयकमा के छ?

ह्वाइट हाउसका एकजना अधिकारीले सरकारी खर्च ३०० अर्ब डलरले बढ्ने बताए।

वाशिङटन पोष्ट अखबारले खर्च वृद्धि करिब आधा खर्ब रहेको बताएको छ।

सिनेटको विधेयक सार्वजनिक गरिएको छैन।

त्यसमा रक्षा खर्च पहिलो वर्ष ८० अर्बले र दोश्रो वर्ष ८५ अर्ब डलरले बढाइएको बताइएको छ।

त्यसैगरी बालबालिकाका लागि स्वास्थ्य बिमा जस्ता गैरसैनिक खर्च यो वर्ष ६३ अर्ब रहेको र अर्को वर्ष ६८ अर्ब डलर रहेको बताइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com