माल्दिभ्सः सर्वोच्चले उल्टायो आफ्नै आदेश


प्रकाशित मिति : माघ २४, २०७४ बुधबार

माल्दिभ्सको सर्वोच्च अदालतले राजनीतिक बन्दीहरूलाई रिहा गर्नुपर्ने गत हप्ताको आफ्नै निर्णय उल्टाइदिएको छ।

राष्ट्रपति अब्दुल्ला यामीनले प्रधानन्यायाधीशसहित सर्वोच्चका दुई वरिष्ठ न्यायाधीशहरूलाई गिरफ्तार गर्न लगाएको एक दिनपछि अदालतको पछिल्लो आदेश आएको हो।

बाँकी रहेका तीनजना न्यायाधीशहरूले ‘राष्ट्रपतिले देखाएका चिन्ताका बीच’ आफूहरूले यसअघिको निर्णयलाई खारेज गरेको बताएका छन्।

देशमा संकटकाल घोषणा गरेको केही घण्टापछि यामीनले आफूलाई पदच्युत गर्न न्यायाधीशहरूले षड्यन्त्र गरिरहेको आरोप लगाएका थिए।

माल्दिभ्स: न्यायाधीशहरू प्रहरी नियन्त्रणमा

माल्दिभ्समा संकटकाल घोषणा

हस्तक्षेप

यसअघि माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशीदले भारतलाई हस्तक्षेप गर्न आह्वान गरेका थिए।

सुरक्षा फौजले सर्वोच्च अदालतमा हस्तक्षेप गरी दुईजना वरिष्ठ न्यायाधीश र अर्का पूर्वराष्ट्रपति मौमून अब्दुल गयूमलाई पक्राउ गरेपछि नाशीदले भारतीय सेनासहित दूत पठाउन आह्वान गरेका हुन्।

राष्ट्रपति यामीनले सोमवार प्रधानन्यायाधीश अब्दुल्ला साईद र अर्को न्यायाधीश अलि हामीदलाई पक्राउ गर्न आदेश दिएका थिए।

राष्ट्रपति अब्दुल्ला यामीन
राष्ट्रपति अब्दुल्ला यामीन

मंगलवार टेलिभिजनमा एउटा सम्बोधन गर्दै यामीनले भने, “मैले देशमा संकटकाल घोषणा गर्नुपर्‍यो किनकि ती न्यायाधीशहरूबारे अनुसन्धान गर्ने अरू कुनै उपाय भएन।”

सर्वोच्चका बाँकी न्यायाधीशहरूले यसअघिको निर्णय आफूहरूले खारेज गर्न लागेको भन्दै एउटा वक्तव्य जारी गरेका थिए।

सर्वसम्मत

गत हप्ता सर्वोच्च अदालतले नौजना विपक्षी नेताहरूमाथिको अभियोग सर्वसम्मत रूपमा खारेज गर्दै जेलमा रहेकाहरूलाई रिहा गर्न आदेश दिएको थियो।

अदालतले उनीहरूमाथि पुनः सुनुवाइ हुनुपर्ने बताएको थियो।

अदालतले पदबाट हटाइएका १२ जना सांसदहरूलाई पुनर्बहाली गर्न पनि आदेश दिएको थियो।

उक्त आदेशले संसद्‍मा विपक्षीहरू पुनः बहुमतमा फर्कन्थे।

अदालतको आदेशले देशलाई आश्चर्यमा पार्‍यो र त्यसको जवाफमा सरकारले संसद् निलम्बन गरिदियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com