कुख्यात ग्वान्तानामो बे अमेरिकी जेल चालु राख्न राष्ट्रपति ट्रम्पको आदेश


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामा रहेको कुख्यात ग्वान्तानामो बे अमेरिकी जेल सुचारु राख्न मंगलबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बराक ओबामाले यो कुख्यात सैन्य जेल बन्द गराउन ८ बर्षदेखि लगातार प्रयास गरेका थिए ।

खासगरी आतंककारीहरुलाई राख्ने भनिएको यो जेलमा आतंकबादको अभियोग पुष्टी नभएका कैयनलाई समेत राख्ने गरिएको छ । यो जेल चरम यातनाका कारण कुख्यात बनेको थियो । स्टेट अफ द युनियन सम्बोधन गर्नु अगाडि ट्रम्पले यो जेल संचालनमा राख्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

सन् २००२ को जनवरीमा तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज बुसले यो जेल खोलेका थिए । सन् २००३ मा यो जेलमा ६८० जना सम्मलाई राखिएको थियो । बुसले आफ्नो कार्यकाल समाप्त हुनु अगाडि जेलबाट ५ सय लाई स्थानान्तरण गराएका थिए भने ओबामाले ४१ जनालाई बाँकी छाडेर १९७ जनालाई स्थानान्तरण गराएका थिए । ट्रम्पले भने न त अहिलेसम्म कसैलाई पठाएका छन् न त स्थानान्तरण नै गराएका छन् ।

ग्वान्तानामो बे लाई धेरैले यातनागृहका रुपमा ब्याख्या गर्दै आएका छन् । केही पहिलो यो जेलमा चरम यातना दिइएका केही तस्विरहरु नै सार्वजनिक भएका थिए ।

तस्विर: ग्वान्तानामो बे कारागारमा चरम यातना दिइदै

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com