काबुलमा एम्बुलेन्स बम हमला, ६३ को मृत्यु, १ सय ४० घाइते


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

अफगानिस्तानको राजधानी काबुलको मध्यभागमा एक आत्मघाती बम हमला हुँदा ६३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। सो हमलामा १ सय ४० जना घाइते भएका छन्। हमलाकारीहरूले विस्फोटक पदार्थले भरिएको एउटा एम्बुलेन्स चलाएर प्रहरीको जाँचचौकी पार गर्दै एक व्यस्त सडकमा पुर्‍याएर विस्फोटन गराएका थिए।

उक्त हमला पुरानो आन्तरिक मन्त्रालयको भवन र यूरोपेली संघ र उच्च शान्ति आयोगका कार्यालयहरू नजिकै भएको छ। तालेबान लडाकु समूहले आफूले उक्त हमला गराएको बताएको छ। गत हप्ता तालेबान लडाकुहरूले काबुलमै रहेको एक होटलमा आक्रमण गर्दा २२ जना को ज्यान गएको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार विदेशी दूतावासहरू तथा नगर प्रहरीको मुख्यालय रहेको सो क्षेत्रमा मानिसहरूको भीड भएका बेला आत्मघाती हमला भएको हो। सो आक्रमण शनिवार अपराह्न स्थानीय समय अनुसार सवा १२ बजेतिर भएको थियो।

घाइतेहरूलाई अस्पताल ल्याउने क्रम जारी रहेकाले मर्नेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। यो काबुलमा कयौँ महिनायता भएका हमलामध्ये सबैभन्दा घातक हो।

कट्टरपन्थी इस्लामिक विद्रोही समूह तालेबान अफतानिस्तान र छिमेकी पाकिस्तानको धेरै भागहरूमा सक्रिय छ। गत अक्टोबर महिनामा अफगानिस्तानका विभिन्न स्थानमा एक हप्ताको अवधिभित्र भएका बम हमलाहरूमा १ सय ७६ जना मारिएका थिए।

अफगानिस्तानमा कडा इस्लामवादी कानून पुनः लागू गराउन खोजिहरहेका तालेबानका कारण त्यहाँको सुरक्षाफौजले धेरै क्षति बेहोर्नुपरेको देखिएको छ। गत मे महिनामा काबुलमा आत्मघाती हमला हुँदा १ सय ५० जनाको ज्यान गएको थियो। सो हमलामा आफ्नो संलग्नता भएको तालेबानले अस्वीकार गरेको थियो।

तर अफगान सरकार भन्छ तालेवानसँग आबद्ध हक्कानी संजालले पाकिस्तानको सहयोगमा उक्त हमला गरेको थियो। पाकिस्तानले भने अफगानिस्तानमा रहेका लडाकुहरूलाई सहयोग गरेको भन्ने आरोहरू अस्वीकार गर्दै आएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com