खसोखास सातौं बर्षमा


प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार

तपाईहरु सबैको सहयोगबाट खसोखास साप्ताहिक आगामी यो अंकबाट सातौं बर्षमा प्रवेश गरेको छ । सातौं बर्ष प्रवेशसँगै हामीले हरेक शुक्रबार प्रकाशित हुँदै आएको साप्ताहिक हरेक मंगलबार प्रकाशित गर्न थालेका छौं । साथै खसोखास साप्ताहिक पूर्णरुपमा सशुल्क हुनेछ भने यसमा योगदान दिने स्तम्भकारहरुलाई पनि पारिश्रमिकको व्यवस्था गरेका छौं ।

सातौं बर्षमा हामीले केही परिवर्तनहरु पनि ल्याउने सोंच बनाएका छौं, जसले खसोखास साप्ताहिक पढ्नका लागि तपाईलाई थप प्रेरित गर्ने हामीले अपेक्षा गरेका छौं । इमिग्रेशन, इम्पावरमेन्ट, इन्टरटेन्मेन्ट, इन्लाइटेनमेन्ट, इन्करेजमेन्ट जस्ता पाँच ‘इ’ लाई हामीले सातौं बर्षमा पनि निरन्तरता दिनेछौं । जसमध्ये अमेरिकी इमिग्रेशनको विषय हाम्रो पहिलो प्राथमिकतामा पर्नेछ । पाठकबर्गले अमेरिकी इमिग्रेशनको नेपाली भाषामा आधिकारिक श्रोतका रुपमा खसोखासलाई लिन थालिसक्नुभएकाले हामीले त्यो विश्वसनियतालाई कायम गरेरै अगाडि बढ्नेछौं ।

खसोखास साप्ताहिकको ग्राहक अभियान सुरु भइसकेको छ । खसोखास अन्तरगत ‘पढौं र पढाऔं अभियान’ खसोखासलाई माया गर्ने कैयन व्यक्ति कर्पोरेट ग्राहक बनिसक्नुभएको छ । हामीले अबदेखि व्यक्तिगत रुपमा ग्राहक बन्नेहरुलाई पनि घरघरमा खसोखास पुर्याउने व्यवस्था गर्नेछौं । यो ग्राहक अभियान यो बर्ष अझ धेरै ब्यापक बनाउने योजना बनाएका छौं । आशा छ, सबै पाठकहरुले यसमा साथ र सहयोग गर्नुहुनेछ ।

सातौं बर्षमा प्रवेश गरेको अवशरमा हामी हाम्रा शुभचिन्तक, योगदानकर्ताहरु, पाठक, विज्ञापनदाता लगायत सबैलाई धन्यवाद दिन चाहन्छौं । तपाईहरुको साथ, सहयोग र माया नभएको भए खसोखास साप्ताकिको निरन्तरता सम्भव थिएन । तपाईहरुकै मायाको कारणले हामी सात बर्षमा प्रवेश गर्न सम्भव भएको हो । ह्वाइटहिमाल साप्ताहिकका रुपमा प्रकाशन आरम्भ गरेर खसोखास साप्ताहिकहुँदै गतबर्षदेखि खसोखास साप्ताहिक म्यागाजिनका रुपमा प्रकाशन भइरहेको खसोखासलाई तपाईहरुको मायाको जरुरत अझ धेरै छ । यो अवशरमा हामी खसोखास प्रकाशनका लागि ७ बर्ष अगाडि प्रेरणा प्रदान गर्नुहुने आदरणीय स्वर्गीय शान खड्कालाई विशेष स्मरण गर्न चाहन्छौं ।

खसोखास साप्ताहिकले अहिले म्यागाजिनका रुपमा मात्र नभई अनलाइन संस्करणका रुपमा समेत हरेक क्षण पाठकहरुलाई ताजा ताजा अपडेट पस्किरहेकै छ । त्यसका लागि अमेरिका र युरोपका विभिन्न स्थानमा सम्पादक, रिपोर्टर र योगदानकर्ताहरु रहनुभएको छ भने नेपालमा पनि अनलाइन अपडेटका लागि लगातार ५ जना सम्पादकहरु खटिरहनुभएको छ । हामीले अनलाइन संस्करणलाई पनि थप समृद्ध बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।

किशोर पन्थी
प्रकाशक/ प्रधानसम्पादक
खसोखास साप्ताहिक
लुम्बिनी इन्टरटेन्मेन्ट इन्क, युएसए

तस्विर : सन् २०१३ मा खसोखास पढ्दै भिडियोग्राफर शम्भु मोक्तान । फोटो : अशोक पन्त

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com