चीन, रसिया, इरान र सिरियाको लाइनमा नेपाल उभिदा अमेरिकासँगको सम्बन्धमा चिसोपन आउला ?


प्रकाशित मिति : माघ १९, २०७५ शनिबार

यतिखेर भेनेजुएलाको विषयलाई लिएर नेपाल र अमेरिकाको सम्बन्ध चिसिएको विश्लेषण हुन थालेको छ । खासगरी नेकपा अध्यक्ष पुष्पकमल दाहालको वक्तब्यलाई नोटिसमा राखेर अमेरिकाले सरकारको धारणा मागेपछि दुईदेशबीचको सम्बन्धमा चिसोपन सुरु भएको अनुमान गरिएको थियो ।

अमेरिकी राजदूत र्यान्डी बेरी काठमाडौंमा हुँदाहुँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बोलाएको र प्रधानमन्त्री ओली सरिक ब्रिफिङमा नआई उपप्रमुख माइक गोन्जालोजलाई पठाउनुलाई कुटनीतिक बृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । दाहालकै धारणासँग मिल्ने गरी सरकारको पनि वक्तव्य आउनु र दाहालले अर्को वक्तव्य निकाल्दै भेनेजुएलामा अमेरिकाको साम्राज्यवादी हस्तक्षेप भएको भन्ने आफ्नो अघिल्लो वक्तव्य सही भएको बताउनुले नेपालको भेनेजुएलाप्रतिको धारणाप्रति अमेरिका स्पष्ट भएको छ ।

भेनेजुएलामा गत साता विपक्षी दलका नेता हुवाँ गुआइडोले राष्ट्रिय सभाको बैठक डाकी संविधान हातमा लिएर आफू चुनाव गराउने अन्तरिम सरकारको राष्ट्रप्रमुख बनेको घोषणा गरेका थिए । त्यसलाई अमेरिकाले समर्थन गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले त्यसविरुद्ध वक्तव्य निकाल्दै जननिर्वाचित राष्ट्रपति मडुरोलाई हटाउने साम्राज्यवादी चाल भनी त्यसको भत्र्सना गरेका थिए ।

नयाँ उचाईबाट ओरालोतिर ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी विदेशमन्त्री माइक पम्पिओ र नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीबीच भएको भेटवार्ताले नेपाल र अमेरिकाबीचको सम्बन्ध नयाँ उचाईको पुगेको चर्चा सेलाउन नपाउदै भेनेजुएला काण्डले सम्बन्धमा चिसो पानी फ्याकेको छ । नेपाल र अमेरिकाबीच १७ बर्षपछिको उच्चस्तरीय औपचारिक भेटघाट भएको भन्दै सम्बन्धमा नयाँ युग सुरु भएको प्रचारवाजी समेत गरिएको थियो । सन् २००२ मा तत्कालिन अमेरिकी विदेशमन्त्री कोलिन पावेल नेपाल भ्रमणमा आएयता दुईदेशका अधिकारीबीचको औपचारिक भ्रमण भएको थिएन ।

यद्यपी युद्धमा रहेको माओवादीविरुद्ध अप्रेसनमा सैन्य सहयोग माग्दै देउवा अमेरिका पुगेर राष्ट्रपति जर्ज डब्लु बुससँग भेटवार्ता गरेका थिए । तर, अमेरिकी दस्तावेजमा देउवाको भ्रमणलाई निजी भनिएको थियो । गत पुसमा नेपाल र अमेरिकाबीच परराष्ट्रमन्त्रीस्तरीय वार्तालाई भने औपचारिक वार्ता भनिएको थियो ।

अमेरिकाको ५० करोड डलर सहायता पनि निकै चर्चामा रहेको थियो । अमेरिकाको ५० करोड डलर र नेपालको १३ करोड रुपैयाँ लगानीमा सञ्चालित दीगो विकास लक्ष्यअन्तर्गत ३०० किलोमिटर लामो हाई भोल्टेज विद्युतीय प्रशारणलाइन, तीन सबस्टेशन, रणनीतिक राजमार्गका ३०५ किलोमिटर सडक मर्मतलगायतका काम भइरहेका छन् । अमेरिकाले भुकम्पपछि पुनर्निर्माण, उद्दार र सहायतामा १३ करोड डलर घोषणा गरेकोमा १९ करोड डलर दिएको छ । अमेरिकाको यो सहयोगमा विद्यालय र अस्पताल निर्माण भएका छन् । १६ हजार घर बनेका छन् । दुई लाख ६० हजार युवालाई तालिम दिइएको छ ।

यो परिवेशमा अमेरिका र नेपालबीचको सम्बन्ध निकै राम्रो बन्दै गएको विश्लेषण गरिएको थियो । तर पछिल्लो परिघटनाले भने नेपाल र अमेरिकाबीचको सम्बन्ध गलत दिशातिर जाने आशंका बढेको छ । परराष्ट्रमन्त्रीको अमेरिकाभ्रमणपछि नेपालसँग सशंकित बनेको चीनलाई रिझाएर लैजानेमा पनि नेपालसँग चुनौती रहेको छ ।  भेनेजुएला सन्दर्भमा  नेपाल चीनको पक्षमा उभिएको छ ।

भेनेजुएलाको सन्दर्भमा को कता ?

चीन, रसिया, क्युबा, टर्की लगायतका मुलुकहरु राष्ट्रपति मडुरोको पक्षमा रहेका छन् भने अर्जेन्टिना, ब्राजिल, क्यानडा, चिली, कोलम्बिया, कोस्टारिका, ग्वाटेमाला, होण्डुरस, पाराग्वे, परु लगायत इजरायल, अष्ट्रलिया, क्यानडासहित अमेरिका विपक्षी नेताको पक्षमा रहेका छन् । यो अवस्थामा नेपाल पनि चीन, रसिया, क्युबा लगायतका मुलुकको लाइनमा लागेको छ । यद्यपी चीनको धारणा राष्ट्रपति मडुरोको पक्षमा देखिएपनि सन्तुलित प्रकारको रहेको छ । राष्ट्रपति मडुरोको पक्षमा मेक्सिको, बोलिभिया, इरान र उरुग्वे पनि रहेको छ भने विपक्षमा डेनमार्क, इक्वेडर, फ्रान्स, पानामा, कोसोभो, बेलायत समेत रहेको छ । स्पेनले भने केही सन्तुलित धारणा अपनाएको छ । युरोपियन युनियन, सुरिनाम लगायतले भने नयाँ निर्वाचनको आग्रह गरेका छन् ।

सातदशक पुरानो सम्बन्ध

नेपाल र अमेरिकाबीचको सम्बन्ध झण्डै ७१ बर्ष पुरानो सम्बन्ध हो । अमेरिकाले नेपाललाई सन् १९४७ मा स्वतन्त्र राष्ट्रको मान्यता प्रदान गरेको थियो, र दुई राष्ट्रबीच सन् १९४८ मा दौत्य सम्बन्ध स्थापना भएको थियो । दुई राष्ट्रबीचको आपसी सम्बन्ध मित्रतापूर्ण छ । नेपालका लागि अमेरिकाको नीतिगत उद्देश्य भनेको नेपालमा शान्त, समृद्ध, सुदृढ र प्रजातान्त्रिक समाज स्थापनाको प्रयासलाई सघाउनु रहेको अमेरिकाले बताउँदै आएको छ । समावेशी र प्रभावकारी शासनव्यवस्थाको निर्माण, राजनीतिक स्थायित्व र आर्थिक विकास, मानवीय सेवाका क्षेत्रमा परनिर्भरताको न्यूनीकरण, क्षेत्रीय सुरक्षा तथा बृहत् अन्तर्रा्ष्ट्रिय समुदायमा सकारात्मक योगदान परउाने लगायतका पहलहरूमा नेपालसँग संयुक्त राज्य अमेरिकाले सहकार्य गरिरहेको छ । नेपाल शान्तिस्थापनाका अन्तर्राष्ट्रिय मिसनहरूमा ठूलो संख्यामा सेना पठाई सहयोग गर्नेमध्ये एक प्रमुख राष्ट्र हो ।

अमेरिका र नेपालले व्यापार र लगानी संरचना सम्झौता गरेका छन् । जसले दुई राष्ट्रबीच व्यापार र लगानीको सुदृढीकरण, व्यापारका विशेष मुद्दामा छलफल, र बृहत् व्यापारिक सम्बन्ध वृद्धि लगायतका विषयमा द्विपक्षीय वार्ता गर्ने अवसर उपलब्ध गराउँछ । नेपालमा अमेरिकाले निर्यात गर्ने प्रमुख वस्तुहरूमा कृषि सामग्री, हवाई पार्टपूर्जा, अप्टिकल तथा मेडिकल उपकरण, तथा कलपूर्जाहरू पर्छन् । त्यस्तै नेपालबाट अमेरिकाले आयात गर्ने वस्तुमा गलैंचा, लत्ताकपडा, र गरगहना गर्छन् ।

नेपाल र अमेरिका संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्वबैंक, विश्व व्यापार संगठन लगायतका विभिन्न अन्तर्रा्ष्ट्रिय संगठनहरूको सदस्य राष्ट्रहरू हुन् ।

जनस्तरमा फरक पार्ला ?

अमेरिकामा झण्डै तीनलाख नेपालीहरु रहेको सन्दर्भमा भेनेुजुएलाको सन्दर्भमा जनस्तरमा समेत असर पार्ने हो कि भनेर नेपालीहरु चिन्तित रहेका छन् । तर यो विषयले तत्काल जनस्तरमा भने असर पार्ने देखिन्न । अन्तर्राष्ट्रिय मामिलाहरुका सन्दर्भमा नेपालले सधै अमेरिकाको साथ दिदै आएको छैन । कैयन पटक अन्तर्राष्ट्रिय विषयहरुमा राष्ट्रसंघमा हुने मतदानहरुमा समेत नेपालले अमेरिकालाई साथ नदिएका परिघटनाहरु छन् ।

भेनेजुएलाका सन्दर्भमा नेपालले त्यहाँका राष्ट्रपतिलाई नै समर्थन गरेपनि कुटनीतिक भाषा र शैली अपनाउन जरुरी थियो । नेपालको सत्तारुढ दल कुटनीतिक भाषा र शैली अपनाउन चुकेका कारण त्यसले अमेरिकालाई रुष्ट भने अवश्य बनाएको छ । नेकपाका अध्यक्ष दाहालको बक्तब्यले सिधै अमेरिकाप्रति आक्रमण गरेका कारण अमेरिका केही हदसम्म भने अवश्य चिढिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com