अमेरिका मानव तस्करी गर्ने गिरोहका मुख्य योजनाकार हस्त गौतम जेल चलान


प्रकाशित मिति : आश्विन १०, २०८० बुधबार

अमेरिका मानव तस्करी गर्ने गिरोहका मुख्य योजनाकार पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका ५२ वर्षीय हस्त गौतम जेल चलान भएका छन् । विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गर्ने कार्यमा संग्लन गौतमविरुद्ध मानव बेचबिखत तथा संगठित अपराधका चारवटा मुद्दा दर्ता भएकोमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो । गौतमसहित गिरोहका सदस्य कमल तामाङ पनि जेल चलान भएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

ब्यूरोले गरेको अनुसन्धानमा त्यसरी तस्करीका मुख्य योजनाकार गौतमले अहिलेसम्म दुई सय जनालाई अमेरिका पठाइसकेका खुलिसकेको छ । मानव बेचबिखन तथा ओसारमा पोसारमा गौतमसहित अन्य ४ जना पनि संग्लन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । स्याङ्जा घर भएका कुलप्रसाद काफ्ले, काभ्रेका लोकेश लामा, जेम्स भन्ने पूर्ण लामा र गुल्मीकी मीनाकुमारी थापालाई पनि प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

‘छोराछोरी अमेरिका ल्याइदिन्छौं भनेर न्युयोर्कका हामी ५ जनाबाट साढे २ करोडभन्दा बढी ठगे’

विभिन्न प्रलोभन देखाई अमेरीका पठाइदिने भन्दै नेपाली नागरिकहरुलार्ई युएई (दुबई), थाइल्याण्ड, फिलिपिन्स, जाम्बिया, सिंगापुर, हङकङ लगायतका देशहरूमा पुर्याएर राहदानी, मोबाईल समेत जफत गरी ठुलो मात्रामा पैसा माग गर्ने गरेको प्रहरीले जनाएको छ । गौतमसहितको टोलीले भनेजति पैसा नदिएमा शारिरीक तथा मानसिक यातना दिने, थप पैसा माग्ने, विदेशमा रहेका एजेन्टहरुलाई बेचबिखन गर्ने गरेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रहरीले विशेष सुचनाको आधारमा फरार रहेका यस अपराधका प्रमुख योजनाकार हस्त गौतमलाई रुपन्देहीको बेलहीयाबाट भदौं २० गते पक्राउ गरेको थियो । उनीहरुले आफ्नो बेस मेक्सिकोमा बनाई आफ्ना ५ जना एजेन्टहरुलाई नेपाल, दुबई, सिंगापुर, फिलिपिन्स, थाईल्याण्ड, श्रीलंका, कोलम्बिया, ल्याटिन अमेरिका लगायतका देशहरूमा परिचालन गरि अमेरिका पठाउने भन्दै पैसा असुली गरेका थिए ।

पीडितहरुबाट विभिन्न मितिमा अमेरिका पठाईदिने भन्दै अन्य एजेन्टहरु समेतलाई परिचालन गरी २ करोडबढी पैसा लिईसकेको खुलेको छ । गौतमले सम्ममा दुई सयजना सम्म नेपाली नागरिकहरुलाई अमेरीका पठाईसकेको प्रहरीको बयानमा बताएका छन् । उनले १३ नेपालीहरुलाई अमेरिका पठाईदिने भन्दै बिभिन्न देशहरुमा पठाई अलपत्र पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com