जेनजी आन्दोलनका तस्बिर र कलाकृति समेटिएको ‘प्रतिध्वनि’ प्रदर्शनी


प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार

जेनजी आन्दोलन (२०८२) का सहिद युवा कलाकार विनोद महर्जन र आन्दोलनका क्रममा घाइते भएका फोटो पत्रकार दीपेन्द्र ढुङ्गानाको सिर्जना, संघर्ष र योगदानलाई स्मरण गर्दै ‘प्रतिध्वनि’ कला प्रदर्शनी सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मङ्गलवारदेखि प्रतिष्ठानस्थित चन्द्रमानसिंह मास्के ग्यालरीमा सुरु भएको प्रदर्शनी भदौ २८ गतेसम्म चल्नेछ ।

प्रदर्शनीमा आन्दोलनका क्रममा वरिष्ठ फोटो पत्रकार ढुङ्गानाले खिचेका तस्बिरहरू, घटनापछिका दृश्य तथा सम्बन्धित समाचार सामग्रीहरू राखिएका छन् । आन्दोलनको दस्ताबेजीकरण गर्ने क्रममा आफैं घाइते हुन पुगेका ढुङ्गानाको घटनाक्रमलाई प्रदर्शनीमा दृश्यात्मक रूपमा प्रस्तुत गरिएको हो ।

ढुङ्गाना विगत ६ वर्षभन्दा बढी समयदेखि फोटो पत्रकारितामा सक्रिय छन् । उनले नयाँ पत्रिका दैनिक, बीबीसी, नोओस्फियर, मोंगाबे र निक्केई एसियाजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत काम गरिसकेका छन् । २०८२ भदौ २३ गते नयाँबानेश्वरमा जेनजी आन्दोलनको कभरेज गर्ने क्रममा रबरको गोली लागेर उनी घाइते भएका थिए ।

प्रदर्शनीमा सहिद युवा कलाकार विनोद महर्जनका कलाकृति तथा उनको कलायात्रासँग सम्बन्धित सामग्रीहरू समेत प्रस्तुत गरिएका छन्। ललितपुर, पाटन सुन्धारा–दुपातका महर्जन मूर्तिकला, काष्ठकला, धातुकला, चित्रकला र परम्परागत कलामा पोख्त बहुप्रतिभाशाली कलाकार थिए । उनले धातुका मूर्ति, सुन–चाँदीको इलेक्ट्रोप्लेटिङ, काठका नक्कासी र क्यानभास चित्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए ।

‘प्रतिध्वनि’ प्रदर्शनीले आन्दोलनसँग जोडिएका दुई युवा सिर्जनाकर्मीको कला, सङ्घर्ष र स्मृतिलाई कला तथा दृश्य दस्ताबेजका माध्यमबाट जीवन्त रूपमा प्रस्तुत गरेको आयोजकले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com