तालिवान सत्तामा आएपछि अफगानिस्तानमा कति सर्वसाधारण मारिए ?


प्रकाशित मिति : असार १२, २०८० मंगलबार

अफगानिस्तानमा संयुक्त राष्ट्र संघको कार्यालयको रिपोर्ट अनुसार २०२१ मा तालिबान सत्तामा आएपछि बम विष्फोट र अन्य हिंसाका घटनामा एक हजारभन्दा बढी अफगान नागरिकको मृत्यु भएको छ।

प्रतिवेदनका अनुसार १५ अगस्ट २०२१ देखि यस वर्षको मे बीचमा १ हजार ९५ सर्वसाधारणको मृत्यु भएको छ भने २ हजार ६ सय ७९ जना घाइते भएका छन् ।

यी आक्रमणका सम्बन्धमा प्रतिवेदनमा अफगानिस्तानका धार्मिक स्थल र हजारा समुदायलाई निशाना बनाइएको बताइएको छ ।

मस्जिद, शैक्षिक केन्द्र र बजार जस्ता सार्वजनिक स्थानहरूमा आत्मघाती बम विस्फोट र आईईडी विष्फोटका कारण सबैभन्दा बढी मृत्यु भएको छ।

तालिबान आएपछि देशमा सशस्त्र लडाइँमा कमी आए पनि इस्लामिक स्टेटको खोरासान शाखाको सुरक्षा चुनौती भने कायमै छ ।

राष्ट्रसंघको कार्यालयका अनुसार देशमा भएका धेरैजसो हमलामा यो संगठनको हात रहेको थियो । तालिवानको आगमनपछि देशमा आत्मघाती हमलाको संख्या तिब्र रुपमा बढेको प्रतिवेदनमा उल्लेख छ ।

तालिबानले उनीहरूले अफगानिस्तानलाई सुरक्षित राखेको र हालका महिनाहरूमा इस्लामिक स्टेटका लक्ष्यहरूमा आक्रमण गरेको बताउँछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com