मनाङ, मुस्ताङ र पूर्वी रुकुममा १८ बर्षमाथिका ‘प्राय सबै’लाई लगाइयो खोपको पूर्णमात्रा


प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार

नेपालका तीन जिल्लामा कोरोना भाइरसविरुद्धको खोप पूर्णमात्रामा लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसङ्ख्यामा पूर्णमात्रामा खोप लगाएको जानकारी दिए ।

मुस्ताङमा १८ बर्षमाथिका प्राय सबै झण्डै १० हजारजनालाई कोरोनाबिरुद्धको खोप लगाइएको छ । साढे ६ हजार भन्दा धेरैलाई जोन्सन एण्ड जोन्सन खोप दिइएको छ भने दोश्रोमा झण्डै साढे २ हजारलाई कोभिशिल्ड खोप दिइएको छ । भेरोसेल खोप पाउनेहरु झण्डै ३ सय रहेका छन् ।

झण्डै १३ हजार जनसङ्ख्या रहेको मुस्ताङ जिल्लामा १८ वर्षभन्दा माथिका झण्डै १० हजार सर्वसाधारण रहेको सरकारी रेकर्ड छ । मुस्ताङमा बिहानदेखि साँझसम्म सबै बस्तीमा पुगेर योग्य सबैलाई खोप दिइएको हो । जिल्लामा नभएका केही व्यक्ति भने छुटेको हुनसक्ने जनाइएको छ ।

त्यस्तै मनाङमा पनि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाइसकिएको छ । मनाङको कुल जनसङ्ख्या झण्डै ६ हजार २०० सय रहेकोमा खोप लगाउन योग्य १८ बर्षमाथिकाहरु झण्डै साढे ४ हजार रहेको अनुमान गरिएको छ । तीमध्ये प्राय सबैलाई खोप दिइएको छ । केही भने जिल्लाबाहिर भएका कारण छुटेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल लगाउने क्रममा

रुकुममा पनि १८ वर्षभन्दा माथिका प्राय सबैलाई कोरोनाबिरुद्धको खोपको पूर्णमात्रा लगाइसकिएको सरकारी भनाई छ । काठमाडौँ उपत्यकामा ४० प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोपको पूर्णमात्रा लगाइसकेका छन् । तर मुलुकभरको अवस्था हेर्दा भने करिब १८ प्रतिशत जनसङ्ख्याले मात्र खोपको पूर्णमात्रा लगाएका छन् ।

सरकारले यही असोज मसान्तसम्ममा कुल योग्य जनसंख्याको ३३ प्रतिशतलाई पूर्णमात्राको खोप लगाउने लक्ष्य राखेको छ । कूल दुई करोड १३ लाख जनसङ्ख्यालाई खोप लगाउने सरकारको तयारी रहेको छ ।

नेपालमा कोभिशिल्ड (आष्ट्राजेनेका) , भेरोसेल, जोन्सन एण्ड जोन्सनको खोप लगाइएको छ । अहिलेसम्म पहिलो मात्रा ६२ लाख ६२ हजार ८७० जनाले र पूर्णमात्रा ५७ लाख ५२ हजार ८५३ जनाले लगाइसकेको छन् ।

अहिले अन्य १० वटा हिमाली जिल्लाहरुम पनि १८ बर्षमाथिका सबैलाई दिनेगरी कोरोनाबिरुद्धको खोप अभियान चलाइएको छ । जसमा सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवा रहेका छन् ।

बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्षभन्दा माथिका नागरिकलाई दिनेगरी कोरोनाबिरुद्धको खोप अभियान चलाइएको छ । दुवै जिल्लामा १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप दिइनेछ । काठमाडौं, ललितपुर, भक्तपुरसँगै रामेछाप, मकवानपुर, सर्लाही र अछाममा ४० वर्ष माथिका नागरिकलाई पनि कोरोनाविरूद्धको खोप दिनेगरी अभियान चलाइएको छ । खोप लगाउन छुटेका १८ बर्षमाथिका विद्यार्थीलाई पनि दिइनेछ ।

अन्य  जिल्लामा जिल्लामा ४५ वर्षभन्दा माथिका नागरिकलाई पनि खोप लगाइन अभियान चलाइएको छ । यससँगै विद्यार्थीले पनि खोप लगाउन पाउनेछन् ।

यसअगाडि छुटेका अग्रपंक्तिमा खटिनेहरु, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई समेत खोप दिइनेछ । कोभिशिल्ड वा आष्ट्राजेनेकाको पहिलोमात्रा लगाएकाहरुलाई दोश्रोमात्रा भेरोसेल नलगाउन सचेत गराइएको छ ।

भेरोसेलबारे जान्नैपर्ने कुराहरु

मे ६ मा विश्व स्वास्थ्य संगठनले यो भ्याक्सिनलाई १८ बर्षभन्दा माथिकाहरुलाई  प्रयोगको अनुमति दिएको हो ।

गर्भवती महिलाहरुमा भ्याक्सिनको प्रभावकारिता वा जोखिमबारे प्रयाप्त तथ्यांक अहिलेसम्म उपलब्ध छैन । तर यो भ्याक्सिन अन्य कैयन भ्याक्सिनमा नियमित प्रयोग हुने प्रणालीबाट बनाइएको र त्यसको प्रोफाइल गर्भवती महिलाहरु लगायतका लागि समेत सुरक्षित भएकाले गर्भवती महिलाले यो भ्याक्सिन गर्भवती महिलाहरुमा पनि प्रभावकारी र सुरक्षित हुने अपेक्षा छ ।

विश्व स्वास्थ्य संगठनले पनि अन्तरिम रुपमा यो भ्याक्सिन गर्भवती महिलाहरुलाई पनि लगाउन सिफारिस गरेको छ । जोखिमको तुलनामा गर्भवती महिलालाई भ्याक्सिन लगाउँदा फाइदा धेरै हुने विश्व स्वास्थ्य संगठनको निष्कर्ष रहेको छ । विश्व स्वास्थ्य संगठनले भ्याक्सिन लगाउनु अगाडि गर्भवती भए नभएको परीक्षण गर्न भने सिफारिस गरेको छैन ।

विगतमा कोरोना संक्रमण भएकाले पनि यो भ्याक्सिन लगाउन सक्छन् । सामान्यतया कोरोना संक्रमणभएको ६ महिनाभित्र अर्को पटक संक्रमण हुने अवस्था असाधारण भएकाले संक्रमण भएको ६ महिनापछिमात्र भ्याक्सिन लगाउँदा उपयुक्त हुने सुझाव छ । तर जहाँ कोरोनाका नयाँ प्रकारहरु फैलिरहेका छन्, त्यहाँ भने ६ महिना नकुर्न सुझाव दिइएको छ ।

यो भ्याक्सिनको प्रभावकारिता अन्य बयस्क महिलाहरुजस्तै स्तनपान गराउने महिलाहरुमा पनि उस्तै हुने अपेक्षा गरिएको छ । विश्व स्वास्थ्य संगठनले अन्य महिलाहरुजस्तै स्तनपान गराउने महिलालाई पनि भ्याक्सिन लगाउन सिफारिस गरेको छ । भ्याक्सिन लगाएपनि स्तनपान रोक्न विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छैन ।

एचआईभी संक्रमितहरु कोरोनाबाट सिकिस्त हुने उच्च जोखिममा हुन्छन् । एचआईभी संक्रमितहरु परीक्षणमा सहभागी नभएपनि यो भ्याक्सिन एचआईभी संक्रमितहरुलाई प्राथमिकताका साथ दिन सिफारिस गरिएको छ ।

विगतमा खानेकुरा, भ्याक्सिन वा अन्य कुनै पनि प्रकारको एलर्जीको इतिहास भएकाहरुले यो भ्याक्सिन लगाउनु हुँदैन । ३८ दशमलव ५ डिग्री सेल्सियस भन्दा धेरै शरीरको तापक्रम भएकाहरुलाई पनि तत्काल यो भ्याक्सिन नलगाउन सुझाव दिइएको छ । उनीहरुले ज्वरो निको भएपछि भने भ्याक्सिन लगाउन सक्नेछन् ।

यो भ्याक्सिन दुईडोज लगाउनुपर्छ । हरेक डोज शुन्य दशमलव ५ मिलिलिटरको हुन्छ । पहिलो डोज लगाएको तीनदेखि चार हप्ताभित्र दोश्रो डोज लगाउन विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । यदि कसैले पहिलो डोज लगाएको तीनसाता अगाडि नै दोश्रो डोज लगाएको छ भने पनि दोहोराएर लगाउनु नपर्ने विश्व स्वास्थ्य संगठनको भनाई छ । चारहप्ता भन्दा ढिलो भएमा पनि यथाशीघ्र लगाउन सुझाव दिइएको छ । तर सबैलाई दुई डोज लगाउन सिफारिस गरिएको छ ।

१८ बर्षदेखि ६० बर्षसम्मका व्यक्तिलाई यो भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको तथ्यांक रहेको छ । ६० बर्षमाथिका व्यक्ति परीक्षणमा कममात्र सहभागी भएकाले प्रयाप्त तथ्यांक छैन । तर कम उमेरका र बढी उमेरकाहरुमा सुरक्षाको अवस्थाबारे कुनै फरक नभएकाले यो भ्याक्सिन ६० बर्षमाथिकाहरुलाई पनि दिइएको छ । ६० बर्षमाथिकाहरुलाई भ्याक्सिन दिएका मुलुकहरुलाई उनीहरुको सुरक्षा अवस्थाको सकृय निगरानी राख्न सुझाव दिइएको छ ।

यो भ्याक्सिन २१ दिनको अन्तरालमा २ डोज लगाउँदा ७९ प्रतिशत प्रभावकारी देखिएको छ । दोश्रो डोज लगाएको १४ दिनपछि लक्षणसहितको संक्रमण रोक्न यो ७९ प्रतिशत प्रभावकारी देखिएको हो । त्यस्तै अस्पताल भर्ना हुनेगरी सिकिस्त हुनबाट रोक्न पनि ७९ प्रतिशत प्रभावकारी रहेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com