सदस्यता वितरणमा विभेद नगर्न पत्रकार महासंघमा धर्ना


प्रकाशित मिति : फाल्गुन ६, २०७३ शुक्रबार

समावेशी सञ्चार अभियानले सदस्यता वितरणमा विभेद नगर्न र केन्द्रीय पार्षद चयन समावेशी बनाउन माग गर्दै नेपाल पत्रकार महासंघमा धर्ना दिँदै ध्यानाकर्षण गराएको छ ।

पत्रकार महासंघको जिल्ला अधिवेशन जारी रहँदा विभिन्न जिल्लामा आदिवासी जनजाति, दलित, महिला, मधेसी, अपांग लगायतलाई सदस्यताबाट बञ्चित गराइएको भन्दै अभियानले शुक्रबार महासंघका अध्यक्ष महेन्द्र विष्टलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

पत्रकार महासंघको जिल्ला अधिवेशनहरु यही फागुन ३ गतेदेखि चलिरहेको छ । अभियानले विभेदको अन्त्य गरी पत्रकारहरुलाई सदस्यता प्राप्ति गर्नबाट वञ्चित नगर्न सचेत गराउँदै पाँच बुँदे ध्यानाकर्षण पत्र अध्यक्ष विष्टलाई बुझाएको हो ।

अभियानले रुपन्देहीमा महासंघ केन्द्रले दिएको सदस्यता खारेज गरिएकोले तत्काल सच्याउनुपर्ने, वास्तविक पत्रकार हो भने जिल्लास्तरमै निर्णय गरेर छुटेकालाई सदस्यता दिने व्यवस्था मिलाउन, जिल्ला र केन्द्र अधिवेशनमा पदाधिकारी चयन, केन्द्रीय पार्षद चयन प्रक्रियामा संविधानको व्यवस्थाअनुसार पूर्ण समावेशी सिद्धान्तलाई अंगिकार गर्न पनि माग गरेको छ ।

रेमबहादुर विश्वकर्माको संयोजकत्वमा रहेको समावेशी सञ्चार अभियानमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), जागरण मिडिया सेन्टर, क्रियाशील पत्रकार महिला, सञ्चारिका समूह नेपाल, राष्ट्रिय अपाङ्ग पत्रकार संघ, मधेसी पत्रकार संघ, मुस्लिम पत्रकार संघ लगायत आठवटा संस्था आबद्ध छन् ।

ध्यानाकर्षण पत्रको पूर्ण विवरण–

समावेशी सञ्चार अभियान
श्री अध्यक्षज्यू
नेपाल पत्रकार महासंघ
केन्द्रीय समिति, सञ्चारग्राम काठमाडौं
विषय ः ध्यानाकर्षण पत्र
२०७३ फागुन ३ गतेबाट नेपाल पत्रकार महासंघको जिल्ला अधिवेशनहरु सुरु भएको छ । ती जिल्ला अधिवेशनहरु हुँदै गर्दा सदस्यताका सम्बन्धमा समावेशी सञ्चार अभियानको गम्भीर ध्यानाकर्षण भएको छ ।

पत्रकार महासंघ जस्तो साझा छाता संगठनको सदस्यता वितरण प्रक्रियामा समेत महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका पत्रकारहरुलाई विभेद गरेको पाइएको हुँदा यसमा हाम्रो आपत्ति रहेको छ । यसरी भएका विभेदको अन्त्य गरी पत्रकारहरुलाई सदस्यता प्राप्ति गर्नबाट बञ्चित नगर्न सचेत गराउँदै यथाशीघ्र सच्याउन गम्भीर ध्यानाकर्षण गराउँदै निम्न मागहरु यथासक्य पुरा गर्न माग गर्दछौं ।

१. रुपन्देही जिल्लाको सन्दर्भमा पत्रकार महासंघको केन्द्रले दिएको सदस्यता जिल्ला अधिवेशनका बेलामा खारेज गर्ने काम लज्जाजनक छ । सो काम तत्काल सच्याई सदस्यताबाट बञ्चित भएका पत्रकारहरुलाई सदस्यता दिलाउन जोडदार माग गर्दछौं ।

२. सदस्यता वितरण प्रक्रियामा छुटेका तर पत्रकार नै हो भने जिल्ला स्तरमै निर्णय गरेर सदस्यता दिने व्यवस्था मिलाइयोस, संघीय संरचनाको उच्चतम अभ्यास हुनुपर्नेमा अहिले पनि केन्द्रीकृत व्यवस्था कायम रहेकाले अब सो व्यवस्था हटाउन माग गर्दछौं ।

३. महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, अपाङ्गता भएका पत्रकारहरु भएकै आधारमा पत्रकार महासंघको सदस्यता दिनबाट बञ्चित गर्ने काम न्यायोचित हुनै सक्दैन, महासंघले लिएको समावेशी  नीतिअनुसार खोजी खोजी सदस्य बनाउनुपर्नेमा सदस्यताका लागि दिएको आवेदन नै अन्यायपूर्ण तबरले हटाउने काम हुनु निन्दनीय छ । त्यसैले छुटेका सदस्यहरुलाई सदस्यता दिने काम तत्काल गरियोस् ।

४.अब जिल्ला र केन्द्र (संघीय) अधिवेशनमा पदाधिकारी चयन, केन्द्रीय (संघीय) पार्षद चयन प्रक्रियामा नेपालको संविधान, नेपाल पत्रकार महासंघको विधानले प्रत्याभूत गरेका अधिकारहरु व्यवहारिक रुपमा कार्यान्वयन गर्दै पूर्ण समावेशी सिद्धान्तलाई अंगिकार गर्न जोडदार माग गर्दछौं । र, कुनै पनि शाखा पत्रकार महासंघको विधान बमोजिम समावेशी नभएको स्थितिमा मान्यता नदिन समेत सचेत गराउँदछौं । साथै दलीय भागबण्डा नगरी बास्तविक पत्रकारलाई सदस्यता प्रदान गर्न पनि हामी माग गर्दछौं ।

५. महासंघको अधिवेसन सुरु हुँदै गर्दा लोकतान्त्रिक प्रक्रियालाई नै अवरुद्ध गर्ने गरी भएका गतिविधिहरुप्रति समेत हाम्रो ध्यानाकर्षण भएको छ । निर्वाध रुपमा महासंघको अधिवेशन हुनुपर्नेमा त्यसो नहुनु प्रजातान्त्रिक अभ्यासकै उपहास भएको हामीले महसुस गरेका छौं । अतः निर्धारित समयमै महासंघको अधिवेशनहरु सम्पन्न गर्न समेत हामी जोडदार माग गर्दछौं ।

समावेशी सञ्चार अभियानको तर्फबाट संयोजक रेमबहादुर विश्वकर्मा
१. अध्यक्ष, जागरण मिडिया सेन्टर

२. डण्ड गुरुङ
अध्यक्ष, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)

३. शुभेच्छा बिन्दू
अध्यक्ष, क्रियाशील पत्रकारमहिला

४. नितु पण्डित
उपाध्यक्ष, सञ्चारिका समूह नेपाल

५. रविन थपलिया
अध्यक्ष, राष्ट्रिय अपाङ्ग पत्रकार संघ नेपाल

६. पंकज दास
अध्यक्ष, मधेसी पत्रकार संघ

७. अब्दुल्लाह मिया
अध्यक्ष, मुस्लिम पत्रकार संघ

८. लक्ष्मणदत्त पन्त
अध्यक्ष, मिडिया एक्सन नेपाल

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com