अमेरिकी ग्रिनकार्ड प्रकृया इतिहासमै सबैभन्दा ढिलो


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

अमेरिकी ग्रिनकार्डको प्रकृया अहिलेसम्मकै इतिहासमा सबैभन्दा ढिलो भएको अमेरिकी सरकारको युएससीआईएसको तथ्यांकले देखाएको छ । विगतका बर्षहरुसँगको तुलनामा ग्रिनकार्डको प्रकृयामा सबैभन्दा ढिलो चालु आर्थिक बर्षमा भइरहेको देखिएको छ ।

एसाइलम पाएको आधारमा ग्रिनकार्डका लागि दिइएको आवेदनबारे निर्णय दिन युएससीआईएसले औषतमा अहिले साढे ८ महिनासम्मको अवधि लगाइरहेको छ । जबकी आवेदन दिएको मितिले आर्थिक बर्ष २०१७ मा साढे ७ महिना, २०१६ मा सबा ७ महिना, २०१५ मा साढे ६ महिना र २०१४ मा ५ महिनाको अवधिमा नै आवेदकले ग्रिनकार्ड पाउने गर्थे । एसाइलम आवेदन स्वीकृत भएको १ बर्षमा ग्रिनकार्डका लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

त्यस्तै शरणार्थीका रुपमा अमेरिका आएपछि दिइएको ग्रिनकार्ड आवेदनमा अहिले औषतमा पौने ७ महिनाको अवधि लाग्ने गरेको छ । जबकी गत बर्ष २०१७ मा साढे ६ महिना, २०१६ मा सबा ६ महिना, २०१५ मा साढे ५ महिना र २०१४ मा साढे ४ महिनाको अवधि लाग्ने गरेको थियो । शरणार्थीका रुपमा अमेरिका आएको एकबर्षमा ग्रिनकार्डका लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

रोजगारमा आधारित ग्रिनकार्डका लागि अहिले साढे १० महिनासम्मको अवधि लाग्ने गरेको छ । जबकी आर्थिक बर्ष २०१७ मा साढे ८ महिना, २०१६ मा पौने ७ महिना २०१५ मा साढे ६ महिना र २०१४ मा साढे ४ महिना लाग्ने गरेको थियो । एक्स्ट्रा अर्डिनरी लगायत रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्ने नेपालीहरुको संख्या पनि अमेरिकामा उल्लेख्य रहेको छ ।

त्यस्तै परिवारमा आधारित ग्रिनकार्डका लागि समेत अहिले औषतमा साढे १० महिनाको अवधि लाग्ने गरेको छ । गत आर्थिक बर्ष २०१७ मा साढे ८ महिना, २०१६ मा पौने ७ महिना, सन् २०१५ मा साढे ६ महिना र २०१४ मा साढे ५ महिनामा नै परिवारमा आधारित ग्रिनकार्ड पाउन सकिने व्यवस्था रहेको थियो । अरु सबै ग्रिनकार्डका आवेदनका लागि अहिले औषतमा सबा १० महिनासम्मको अवधि लाग्ने गरेको छ ।

यो अवधि औषत अवधि भएपनि कतिपय सर्भिस सेन्टरहरुले यो भन्दा केही कम वा केही बढी समय समेत लगाउन सक्नेछन् । कुन सर्भिस सेन्टरमा कति समय लाग्छ भन्ने जान्न यो लिंकमा क्लिक गरेर हेर्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com