हात्तीको आक्रमणले सप्तरीमा एक महिलाको मृत्यु


प्रकाशित मिति : बैशाख ११, २०७५ मंगलबार

वैशाख ११, सुनसरी, कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीको आक्रमणमा परी मंगलबार सप्तरीमा एक महिलाको मृत्यु भएको छ। कन्चनरुप ११ भुवनपट्टीकी ४० वर्षीया दुर्गीदेवी यादवको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो।

बिहान करिब २ बजे गाउँ पसेको हात्तीले दुुर्गीदेवीको घरमा आक्रमण गरेको थियो। हात्तीले घरबाट घिस्याउँदै खेतमा पुर्‍याएर कुल्चिएपछि दुर्गीदेवीको घटनास्थलमै मृत्यु भएको स्थानीय श्यामकुमार पासवानले जानकारी दिए।

दुर्गीदेवीको शवलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले पोस्टमार्टमका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल पठाएको छ। हात्तीले दुर्गीदेवी र सुरेन्द्र सरदारको घर भत्काउनुका साथै अन्नपात नष्ट गरेको छ।

यसअघि फागुन पहिलो साता दाउरा लिन आरक्ष क्षेत्रभित्र पसेका कञ्चनरुप नगरपालिका ५ पथरी टोलका नारायण साहकी पत्नी ३५ वर्षीया मञ्जुदेवी र टिर्हा मुखियाकी पत्नी ४५ वर्षिया पत्नी दुर्गीदेवीको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।

यसबाहेक हात्ती लगायतका जंगली जनावरको आक्रमणमा परी सप्तरीमा कञ्चनरुप नगरपालिका–१० बदगामाकी ७० वर्षीया फूलवादेवी यादव, हनुमाननगर सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कञ्चनरुप नगरपालिका–१० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी सङ्गीता यादव लगायतको मृत्यु भइसकेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com