घरमै सुत्केरी हुन्छन् ४१ प्रतिशत महिला


प्रकाशित मिति : चैत्र २६, २०७४ सोमबार

महिला खबर–

ललितपुर । नेपालका ४१ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले गरेको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार ५७ प्रतिशत महिला मात्रै सुत्केरी हुन स्वास्थ्य संस्था जाने गरेका हुन् ।

बाँकी २ प्रतिशत महिलाले भने बाटोमा, काम गर्न जाँदा खेतबारी लगायतका ठाउँमा बच्चा जन्माउने परिवार स्वास्थ्य महाशाखाकी प्रजनन् स्वास्थ्य प्रमुख डा. पुण्य पौडेलले जानकारी दिईन् ।

स्रोत : २०१६ नेपाल जनसांख्यिक तथा स्वास्थ्य विवरण

सर्वेक्षणमा भनिएको छ – सन् १९९६ मा ८ प्रतिशत बच्चा मात्र स्वास्थ्य संस्थामा जन्माउने गरिएको थियो भने सन् २०१६ मा बढेर ५७ प्रतिशत पुगेको छ ।

सर्वेक्षण अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुनेमध्ये सबैभन्दा बढि ९० प्रतिशत सम्पन्न परिवारका महिला छन् । भने एस.एल.सी. वा सो भन्दा माथी शिक्षा हासिल गरेका ८५ प्रतिशत छन् ।

सर्वेक्षणमा जनाइएअनुसार १५–४९ वर्ष उमेर समूहका १० गर्भवती महिलाहरुमध्ये ८ भन्दा बढि ८४ प्रतिशत महिलाहरुले डाक्टर, नर्स वा अ.न.मी.जस्ता दक्ष प्रसुतीकर्मीबाट गर्भवती सेवा लिएपनि तिमध्ये सबैले अस्पतालमा सुत्केरी नहुने गरेका छन् ।

घरमै जन्मिएका दश शिशु मध्ये एक शिशुको जन्म कसैको सहयोग विना नै हुने गरेको छ । तर, समग्रमा हेर्दा ५८ प्रतिशत शिशुको जन्म दक्ष प्रसुतीकर्मीबाट हुने गरेको जनाइएको छ ।

पहिलोपटक सन्तान जन्माउने महिलामध्येमा २४ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मीको सेवा लिँदैनन् । सर्वेक्षणमा जनाइए अनुसार पहिलो पटक बच्चा जन्माउने मध्ये ७६ प्रतिशत महिलाले मात्रै दक्ष प्रसुतीकर्मीबाट सुत्केरी गराउने गरेको पाईएको छ ।

तिमध्ये सम्पन्न परिवारका ८९ प्रतिशत र एसएलसी माथि अध्ययन गरेका ८५ प्रतिशत महिलाले दक्ष प्रसुतीकर्मीको सेवा लिएका छन् ।

दक्ष प्रसुतीकर्मीबाट सुत्केरी गराउनेको प्रतिशत सन् १९९६ मा ९प्रतिशत थियो भने सन् २०१६ मा ५७ प्रतिशत पुगेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com