सामुदायिक लघुवित्तको आइपिओ, राष्ट्र बैंकको आग्रहमा रोकियो
प्रकाशित मिति : माघ ८, २०७४ सोमबार
माघ ८, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ९ गतेदेखि जारी गर्न लागेको साधारण शेयर (आइपिओ) निष्काशन रोकेको छ।
सामुदायिक लघुवित्तको आइपिओ राष्ट्र बैंकको आग्रहमा रोकिएको बोर्डका प्रवक्ता निरज गिरीले बताए। राष्ट्र बैंकले आइपिओ निष्काशन अनुमति दिएपछि मात्रै संस्थाको आइपिओ निष्काशन हुने उनको भनाइ छ।
यता सामुदायिक लघुवित्त संस्थाले भने बोर्डले आइपिओ निष्काशन तत्काल रोक्न निर्देशन दिएसँगै आइपिओ निष्काशन प्रक्रिया रोकेको जनाएको छ। संस्थाले अब बोर्डले अनुमति दिएपछि मात्र आइपीओ निष्काशन हुने जनाएको छ।
संस्थाले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपिओ निष्काशन गर्न लागेको थियो।
यसअघि संस्थाको आइपिओमा छिटोमा माघ १२ गते र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको थियो। आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।