अमेरिकामा २ हजार बालबालिका अभिभावकबाट अलग


प्रकाशित मिति : असार २, २०७५ शनिबार

संयुक्त राज्य अमेरिकाको सीमा क्षेत्रबाट ६ हप्तामा करिव २ हजार अप्रवासी बालबालिकालाई उनीहरूका अभिभावकबाट अलग गरिएको अधिकारीहरूले बताएका छन्।

मेक्सिकोसँगको सीमा क्षेत्र गैरकानुनी रूपमा नाघ्न खोज्ने आप्रवासीविरुद्ध कारबाही अघि बढाइएपछि वयस्कहरू पक्राउ परेका छन् भने उनीहरूका सन्तान अलग्गै राखिएका छन्।

यसैबीच ह्वाइट हाउसले बालबालिका र अभिभावक अलग गर्ने अभ्यास रोक्न रिपब्लिकन पार्टीले मस्यौदा गरेको एउटा नियमलाई राष्ट्रपति ट्रम्पको समर्थन रहेको जनाएको छ।

यसअघि राष्ट्रपति ट्रम्पले त्यसलाई हस्ताक्षर गर्न अस्वीकार गर्ने जस्तो भान पर्ने धारणा राखेका थिए।

हलचल
यो मुद्दाले अमेरिकामा राजनीतिक हलचल ल्याइदिइएको छ।

बिहीवार अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले ईसाइ धर्मग्रन्थ बाइबल उल्लेख गर्दै आफूले आप्रवासीहरूको विषयमा शून्य शहनशीलताको अपनाइने बताए।

यसको अर्थ गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्नेहरूलाई विगतमा जस्तो नभई फौजदारी अभियोगमा कारबाही अघि बढाइन्छ।

यसअघि पहिलो पटक सीमा पार गर्न खोज्नेहरूलाई साधारण कसुरमा आरोप लगाउने गरिएका थिए।

सबै वयस्कहरूलाई अभियोग लगाएर थुनिएको छ भने उनीहरूसँगै आएका बालबालिकालाई अलग्गै राखिएको र एक्लै आएका नाबालक भनेर वर्गीकरण गरिएको छ।

अलग

१९ एप्रिलदेखि ३१ मेसम्ममा १९४० जना वयस्कहरूबाट १९९५ बलबालिकालाई अलग गरिएको अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटिले जनाएको छ।

उनीहरूको उमेर खुलाइएको छैन तर तिनीहरुलाई अमेरिकी सरकारको स्वास्थ्य र मानव सेवा हेर्ने निकायमा हस्तान्तरण गरिएको छ।

त्यसपछि तिनीहरुलाई सरकारी बन्दी गृह वा बाल सेवा केन्द्रमा पठाइएको छ।

संयुक्त राष्ट्रसंघले चाहिँ अमेरिकी सरकारलाई बालबालिकालाई अभिभावकबाट अलग गर्ने प्रकिया तत्काल रोक्न भनेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com