आफ्नै प्रतिबद्धताबाट पछि हटे ट्रम्प


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

क्यानडाले बेइमानी गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनको शिखर बैठकपछि जारी संयुक्त वक्तव्यमा आफूले अनुमोदन गरेका कुराबाट पछि हटेका छन्।

ट्रम्प

 

उनले अरू देशहरूले अमेरिकामाथि ‘ठूलो मात्रामा कर लगाइरहेको’ पनि बताए।

अमेरिकाले स्टील र एलुमिनियम आयातमा हालै लगाएको करलाई लिएर जारी तनावका बीच ‘नीतिमा आधारित व्यापार प्रणाली’ को वकालत गर्ने खालको संयुक्त वक्तव्यमा सहमति भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकाले कर लगाएको बदलामा आफ्नो देशले पनि जुलाइ १ बाट कर लगाउने प्रतिबद्धता जनाए।

‘अपमानजनक’

एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रिय सुरक्षा चासोका नाममा ट्रम्पले स्टील र एलुमिनियममा लगाएको कर सही भएको भन्नु ‘अपमानजनक’ भएको बताए।

उनले भने, “यो दुःखद हुनेछ तर निकै स्पष्ट र दृढ पनि हुनेछ कि बदलास्वरूप हामीले जुलाइ १ बाट कर लगाउन गइरहेका छौँ।”

ट्रम्प

 

“क्यानडाका मानिसहरू विनम्र र व्यावहारिक छन् तर त्यसको अर्थ हामीलाई दुःख दिन चाहिँ पाइँदैन।”

युरोपेली संघले ट्रम्पको निर्णयका बावजुद संयुक्त वक्तव्यप्रति कटिबद्ध रहने जनाएको छ।

कटिबद्ध

ब्रिटेनको एउटा सरकारी स्रोतले भन्यो, “जी सेभेनको संयुक्त वक्तव्यमा गरिएका प्रतिबद्धप्रति हामी कटिबद्ध छौँ।”

उत्तर कोरियाली नेतासँग सिंगापुरमा हुने शिखर बैठकमा सहभागी हुन जाँदै गरेका ट्रम्पले आफ्ना प्रतिनिधिहरूलाई जी सेभेनको संयुक्त वक्तव्यलाई अनुमोदन नगर्न निर्देशन दिएको भन्दै ट्वीट गरेका छन्।

ट्रुडोले झूटो वक्तव्य दिएको आरोप लगाउँदै ट्रम्पले अमेरिकी किसान, कामदार तथा कम्पनीहरूमाथि क्यानडाले व्यापक कर लगाएको बताए।

ट्रम्पका ट्वीट अनुसार बैठकहरूका दौरान ट्रुडो भद्र र नरम देखिएका थिए तर पछि अमेरिकी करहरूलाई अपमानजक भनेर व्याख्या गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com