अमेरिकासँगको वार्ताको पूर्वसन्ध्यामा उत्तर कोरियामा सैनिक नेतृत्व फेरबदल, रक्षामन्त्री र सैनिक प्रमुख हटाइए, दक्षिण कोरिया भन्छ– हामी नजिकबाट हेरिरहेका छौँ


प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार

अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको समाचार सोमबार सार्वजनिक भएको छ ।

अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेर बदललाई निकै चासोपूर्ण रुपमा लिइएको छ ।

यस चासोका कारण दक्षिण कोरिया पनि चनाखो बनेको बताएको छ । उसले वार्ताकै मुखमा आएर भएको यस फेरबदलको प्रभाव के हुन सक्ला भन्ने बारेमा पनि व्यापक मात्रामा परामर्श गरिरहेको छ ।

उत्तर कोरियामा सेना शक्तिशाली हुन्छ । यहाँको सेनाको प्रमुख संरक्षक सर्वोच्च नेता हुने र उहाँको विश्वासपात्र सैनिक प्रमुखमा नियुक्त हुने प्रचलन रही आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्तर कोरियाली नेता किम जोङ उनले देशका तीनजना उच्चपदस्थ सैन्य अधिकारीलाई केही दिनयता नै पदबाट हटाएर उनीहरुभन्दा तल्लो वरियताका अधिकारीलाई नियुक्त गरेको बताइएको छ ।

पदबाट हटाइएका प्रमुख अधिकारीमा रक्षामन्त्री पाक यङ सिक नै रहनुभएको छ । साथै उत्तर कोरियाको सेनाको चिफ अफ जनरल स्टाफ पनि हटाउनेमा पर्नुभएको छ ।

त्यसैगरी सेनाको राजनीतिक ब्युरोका प्रमुख पनि यसरी हटाउनेमा परेको खुलेको छ । सैन्य अधिकारीहरूलाई हटाइएको बारेको यो समाचार भने दक्षिण कोरियाली समाचार समिति योनहापले दिएको छ ।

त्यसैगरी जापानी सञ्चारमाध्यमहरुमा पनि यो समाचार आएको र नाम खुलाउन नचाहेका एकजना अमेरिकी रक्षा अधिकारीले पनि त्यसको पुष्टि गरेको बताइएको छ ।

अहिले ल्याइएका सेनाका अधिकारीहरु उत्तर कोरियाली नेता किमका नजिकका सहयोगीका साथै मध्यमार्गी रहेका बताइन्छ ।

तर उनीहरुलाई कहिले र किन हटाइएको हो भन्ने बारेमा भने कुनै पनि समाचार समितिहरुले स्पष्ट रुपमा समाचार सार्वजनिक गर्न सकिरहेका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निशस्त्रीकरणसम्बन्धी वार्ताको तयारीमा रहेका किमलाई अमेरिकासँग वार्ता गर्न नहुने भन्ने आवाज पनि सेना भित्रैबाट उठेको समाचार यस अघि नै आएको थियो ।

सो वार्तामा किमलाई आफ्नो सेनाभित्रबाट त्यसको विरोध हुन सक्ने त्रास रहेको दक्षिण कोरियाली एक उच्च स्रोतले बतायो ।

उत्तर कोरियालीहरूले अमेरिकालाई साम्राज्यवादी शक्ति र उत्तर कोरियाको ‘जन्मजात शत्रु’ समेत भएको भन्दै प्रस्तावित वार्ताको विपक्षमा आवाज पनि दिएका थिए ।

तर पछिल्लो समयमा नेता किम तथा उत्तर कोरियाली सञ्चारमाध्यम पनि आगामी वार्ताका बारेमा र अमेरिकाप्रति पनि केही नरम हुँदै गएको देखिएको छ । सोही बमोजिम नै उत्तर कोरियाले वार्ताको तयारी गरिरहेको बताइएको छ ।

उता राष्ट्रपति ट्रम्पले किमसँगको शिखर बैठक सिंगापुरमा जुन १२ मै हुने बताउदै आउनुभएको छ भने उत्तर कोरियाली नेता किमले पनि सो वार्ताको तयारी बडो चाखपूर्ण रुपमा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा समाचार आएको छ ।

यस्तो अवस्थामा सेनाको एक समूहले नै विरोध वा विद्रोह गर्नसक्ने त्रासले नेता किमले सैनिक नेतृत्वमा व्यापक फेरबदल गरेको हुनसक्ने बताइएको छ ।

तर यस विषयमा उत्तर कोरियाका तर्फबाट स्पष्ट रुपमा केही भनाई आएको छैन । नत दक्षिण कोरियाले नै के कति कारणले ती सैनिक अधिकारीहरु हटाइएका हुन् भन्ने बारेमा केही भनेको छ ।

दक्षिण कोरिया भन्छ– हामी नजिकबाट हेरिरहेका छौँ

उता दक्षिण कोरिया भने यस चासोका कारण चनाखो बनेको बताएको छ । उसले वार्ताकै मुखमा आएर भएको यस फेरबदललाई नजिकबाट हेरेको बताएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले भनेको छ– अहिले आएर भएको उत्तर कोरियाभित्रका लागि एक शक्तिशाली सेनाको फेरबदललाई हामीले नजिकबाट हेरेका छौँ ।

यसको प्रभाव आगामी वार्तामा के हुन सक्ला भन्ने बारेमा पनि व्यापक मात्रामा परामर्श गरिरहेको दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ताले भन्नुभएको छ– हामीले यस घटना र यसको प्रभाव तथा कारणलाई नजिकबाट हेरिरहेका छौँ, एक हिसाबले भन्ने हो भने हामीले अनुगमन नै गरेका छौँ ।

उहाँले आसन्न वार्तामा कुनै असर नपरोस् भन्ने नै दक्षिण कोरियाको चासो हो भन्नुभएको छ ।

दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

यसैबीच सोमबार सोलबाट प्राप्त एक समाचारमा दक्षिण कोरिया र अमेरिकाका विदेश मन्त्रीबीच फोन वार्ता भएको जनाइएको छ ।

दक्षिण कोरियाली विदेशमन्त्री काङ ख्योङ्वाले अमेरिकी विदेशमन्त्री माइक पेम्पेओलाई सोमबार बिहान फोन गर्नुभएको थियो ।

सिंगापुरमा अमेरिका र उत्तर कोरियाबीच हुन लागेको शिखर वार्ताको समय नजिकिँदै आएको बेला उक्त फोनवार्ता भएको बताइएको छ ।

दक्षिण कोरियाली विदेशमन्त्री काङ र अमेरिकी विदेशमन्त्री माइक पम्पेओबीच सोमबार बिहान फोनवार्ता भएको र सो वार्तामा उक्त सिंगापुर वार्ताको बारेमा कुराकानी भएको प्राप्त समाचारमा जनाइएको छ ।

आइतबार पुनः उक्त वार्ता समयमै हुने भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी गराएपछि पुनःउहाँहरुबीच त्यसका विषयमा विकसित परिस्थितका बारे फोनवार्ता भएको अनुमान गरिएको छ ।

यस फोनवार्ताको जानकारी दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जानकारी दिएको दक्षिण कोरियाली सरकारी समाचार समिति योनहापले जानकारी दिएको छ ।

अमेरिकी उत्तर कोरियाली उच्च अधिकारी सिंगापुरमा

त्यसैगरी प्राप्त अर्काे एक समाचारअनुसार उत्तर कोरियाली र अमेरिकी उच्च अधिकारी सोमबार सिंगापुर पुगेको समाचार छ ।

उत्तर कोरियाली रक्षा विभागका एक उच्च अधिकारी र अमेरिकी विदेश मन्त्रालयका एक अधिकारी सिंगापुर पुगेको जापानी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपतिसँगको वार्ताको तयारीका लागि ती अधिकारीहरु सिंगापुर पुगेका जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

यसअघि पनि गतहप्तामात्र उनीहरु वार्ताको पूर्व तयारीको लागि भन्दै सिंगापुर पुगेका थिए । यस पटक त्यहाँ पुगेका अधिकारीहरुले आगामी वार्ताका एजेण्डाका बारेमा सामान्य रुपमा पूर्व तयारी गर्ने र त्यस बारेमा आ आफ्ना देशका शीर्ष नेतृत्वलाई जानकारी गराउने अनुमान गरिएको छ ।

दुई नेताबीचको शिखर वार्ता अघि ती अधिकारीहरुले संयुक्त रुपमा अग्रिम तयारीको अवस्था हेर्ने भएका प्राप्त समाचारमा जनाइएको छ ।

यस शिखर वार्ताको बारेमा सिंगापुरको विदेशमन्त्रालयले समन्वय गरिएको र वार्ताको तयारी पूरा भएको पनि जानकारी दिएको थियो ।

यस वार्ताबारे विश्वमा नै निकै ठूलो चासो फैलिएको छ । विश्वका सञ्चारमाध्यमहरुले वार्ताको समाचार संकलनका लागि आ–आफ्ना प्रतिनिधिहरु सिंगापुर पठाउने तयारी गरिरहेका छन् ।

कतिपय सञ्चारमाध्यमहरुले वार्ताको तयारीको बारेमा सिंगापुरमै पुगेर ‘रिपोर्टिङ्’ गर्न पनि थालिसकेका छन् । यस वार्ताको चासो कोरियाली क्षेत्र र एसियामा मात्र सीमित नभई विश्वव्यापी रुपमा नै रहेको बताइन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com