५ मंसिर २०८३, शनिबार| Saturday, November 21, 2026
अमेरिका

क्रेडिट कार्डको ब्याजदरमा सीमा तोक्न डेमोक्र्याटसँग मिलेर काम गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा झार्ने आफ्नो चुनावी वाचा पूरा गर्न राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीसँग मिलेर काम गर्ने घोषणा गरेका छन् । यो प्रस्ताव लागू भएमा १२ खर्ब ३० अर्ब डलर ऋणको भारमा रहेका अमेरिकी नागरिकको वार्षिक करिब १ खर्ब डलर बचत हुने अनुसन्धानले देखाएको छ ।

यो समाचार सुन्नुहोस्0:00 / --:--

Photo: Avery Evans/ Unsplash

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदरमा सीमा तोक्न नवनिर्वाचित डेमोक्र्याटिक कंग्रेससँग मिलेर काम गर्ने बताएका छन् । सन् २०२४ को चुनावी अभियानका क्रममा आफूले गरेको तर उद्योगीहरूको दबाब र आफ्नै रिपब्लिकन पार्टीका सांसदहरूको अनिच्छाका कारण पूरा गर्न नसकेको वाचा पूरा गर्ने आशासहित ट्रम्पले यस्तो धारणा राखेका हुन ।

शनिबार फक्स न्युज च्यानलको ‘स्याटरडे इन अमेरिका’ कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले भने, “म यो काम गर्नेछु । यी क्रेडिट कार्ड कम्पनीहरूले धेरै नाफा कमाइसकेका छन् ।

राष्ट्रपति ट्रम्प र डेमोक्र्याटिक पार्टी दुवैले क्रेडिट कार्डको ब्याजदरमा सीमा तोक्ने प्रस्तावको समर्थन गर्दै आएका छन् । हालको मानक प्रस्तावअनुसार ब्याजदरलाई १० प्रतिशतमा सीमित गर्ने योजना छ । न्युयोर्क फेडरल रिजर्भले गत अगस्टमा गरेको सर्वेक्षणअनुसार हाल क्रेडिट कार्डको औसत ब्याजदर करिब २२.२ प्रतिशत रहेको छ । यो प्रस्ताव लागू भएमा कम्पनीहरूले ग्राहकसँग असुल्ने ब्याजमा भारी कटौती हुनेछ ।

ह्वाइट हाउसको जनजीविका सहज बनाउने अभियान अन्तर्गत ट्रम्पले गत जनवरीमा पनि ब्याजदर सीमित गर्ने प्रस्ताव अघि सारेका थिए । तर, बैंक तथा क्रेडिट कार्ड कम्पनीहरूले त्यसको तत्काल र कडा विरोध गरेका थिए । ब्याजदरमा सीमा तोकिएमा न्यून आय भएका र कम ‘क्रेडिट स्कोर’ भएका ग्राहकहरूको कार्ड रद्द गर्नुपर्ने वा ग्राहकलाई दिइने विभिन्न ‘रिवार्ड’ तथा सुविधाहरूमा भारी कटौती गर्नुपर्ने बाध्यता आउने तर्क ती कम्पनीहरूको छ ।

रिपब्लिकन सांसदहरूलाई समेत यो प्रस्ताव मन नपरेका कारण रिपब्लिकनको नियन्त्रणमा रहेको कंग्रेसले ट्रम्पको उक्त वाचा पूरा गर्न खासै चासो देखाएको थिएन । तर, अब अमेरिकी संसदको दुवै सदनमा डेमोक्र्याटिक पार्टीको नियन्त्रण रहने भएकाले परिस्थिति फेरिन सक्ने देखिएको छ ।

सिनेट बैंकिङ समितिको आगामी अध्यक्ष बन्ने अपेक्षा गरिएकी म्यासाचुसेट्सकी डेमोक्र्याटिक सिनेटर एलिजाबेथ वारेनले ब्याजदर सीमित गर्नुपर्ने बताउँदै आएकी छन् । ट्रम्पको अन्तर्वार्ता आएपछि प्रतिक्रिया दिँदै वारेनले भनिन, क्रेडिट कार्डको ब्याजदरमा सीमा तोकौं र अमेरिकी नागरिकको पैसा जोगाऔं ।

हाउस फाइनान्सियल सर्भिसेज कमिटीकी प्रभावशाली डेमोक्र्याटिक सदस्य क्यालिफोर्नियाकी सांसद म्याक्सिन वाटर्सलगायत अन्य डेमोक्र्याट नेताहरूले पनि यो विचारलाई विभिन्न तरिकाले समर्थन गरेका छन् । रिपब्लिकनतर्फबाट मिजुरीका सिनेटर जोस हलीले पनि यस वर्ष ट्रम्पले प्रस्ताव राख्दा क्रेडिट कार्डको ब्याजदर सीमित गर्ने विभिन्न विधेयकहरू अघि सारेका थिए । हलीले त्यतिबेला कंग्रेसले आफ्नो द्विदलीय विधेयक पारित गरेर तत्काल राहत दिनुपर्ने बताएका थिए ।

ट्रम्पको चुनावी प्रतिबद्धताको अध्ययन गरेका अनुसन्धानकर्ताहरूका अनुसार यदि क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गरिएमा अमेरिकी नागरिकहरूले वार्षिक करिब १ खर्ब डलर ब्याजबापतको रकम बचत गर्नेछन् । यसबाट क्रेडिट कार्ड उद्योगलाई ठूलो धक्का लागे पनि कम्पनीहरू नाफामै रहने, तर ग्राहकले पाउने रिवार्ड र अन्य सुविधाहरू भने घट्न सक्ने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

कन्ज्युमर फाइनान्सियल प्रोटेक्सन ब्युरोका अनुसार सन् २०२४ मा अमेरिकाका करिब १९ करोड ५० लाख मानिससँग क्रेडिट कार्ड थियो र उनीहरूमाथि १ खर्ब ६० अर्ब डलर ब्याज शुल्क निर्धारण गरिएको थियो । न्युयोर्क फेडरल रिजर्भको गत वर्षको तेस्रो त्रैमासिक तथ्याङ्कअनुसार अमेरिकी नागरिकहरूमाथि अहिलेसम्मकै सर्वाधिक करिब १२ खर्ब ३० अर्ब डलर क्रेडिट कार्ड ऋणको भार रहेको छ ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →