५ मंसिर २०८३, शनिबार| Saturday, November 21, 2026
अन्तर्राष्ट्रिय

बिदाको मुख्य सिजनमै अमेरिकामा हवाई यात्रा कष्टकर बन्ने संकेत, बिनातलब काम गर्नुपर्ने कर्मचारीको चिन्ता

राजनीतिक गतिरोधका कारण समयमै बजेट पारित नभए क्रिसमस र नयाँ वर्षको बिदामा अमेरिकी हवाई यात्रा अस्तव्यस्त बन्ने देखिएको छ । उडान कटौती र उच्च बुकिङका बीच कर्मचारी अभाव सिर्जना भएमा उडान रद्द हुँदा यात्रुहरूले अर्को विकल्प पाउनसमेत कठिन हुने विज्ञहरूले चेतावनी दिएका छन् ।

यो समाचार सुन्नुहोस्0:00 / --:--

(आधिकारिक होमल्याण्ड सेक्युरिटी तस्बिर/ ब्यारी बहलर)

प्राविधिक गडबडीका कारण होइन, बरु राजनीतिक गतिरोधका कारण अमेरिकामा आगामी हवाई यात्रा थप कष्टकर बन्न सक्ने देखिएको छ । यातायात सुरक्षा प्रशासन र संघीय उड्डयन प्रशासन सहित संघीय सरकारका निकायहरूको बजेट आगामी डिसेम्बर १२ मा समाप्त हुँदैछ । यसको अर्थ क्रिसमस र नयाँ वर्षको बिदाको मुख्य सिजन सुरु हुनुभन्दा ठीक दुई हप्ताअघि सुरक्षा जाँचकर्ता र हवाई ट्राफिक नियन्त्रकहरूले तलबबिनै काम गर्नुपर्ने अवस्था आउन सक्छ ।

विगतमा यस्तै अवस्था आउँदा कर्मचारी अभावका कारण यात्रुहरूले ठूलो सास्ती भोग्नुपरेको थियो । टीएसए सुरक्षा जाँचमा घण्टौँ लामो लाइन लाग्ने र हवाई ट्राफिक नियन्त्रकको अभावमा उडानहरू रद्द हुने समस्या दोहोरिने जोखिम बढेको छ ।

एयरलाइन न्युजलेटर ‘फ्रम द ट्रे टेबल’ का लेखक ज्याक ग्रिफका अनुसार डिसेम्बरको बिदा मौसम र अत्यधिक उडान तालिकाका कारण आफैँमा संवेदनशील समय हो । उनले भने, “यस्तो बेला हिउँ पर्ने र एयरलाइन्सहरूले क्षमताभन्दा बढी उडान तालिका राख्ने गर्छन्, जहाँ सानो गल्तीको पनि ठाउँ हुँदैन । यदि टीएसए र एफएएमा पर्याप्त कर्मचारी भएनन् भने त्यसले भयावह स्थिति निम्त्याउनेछ ।

दुवै प्रमुख राजनीतिक दल र ट्रम्प प्रशासन बिदाको समयमा सरकारी कामकाज ठप्प हुन नदिने पक्षमा देखिएका छन् । विशेषगरी हालैका प्राविधिक अवरोधहरूका कारण देशभर चिन्ता बढिरहेका बेला नेताहरूले अर्को अस्थायी बजेट विधेयक पारित गर्ने विकल्पलाई प्राथमिकता दिएका छन् । तर, डिसेम्बर १ मा हुने सिनेट डेमोक्र्याट्सको आन्तरिक नेतृत्व चयन नभएसम्म बजेटसम्बन्धी छलफल अघि नबढ्ने भएकाले सहमति जुट्न हप्तौँ लाग्न सक्ने सांसद र वरिष्ठ सहयोगीहरूले बताएका छन् ।

यसैकारण टीएसए र हवाई ट्राफिक नियन्त्रकहरूको प्रतिनिधित्व गर्ने युनियनका नेताहरू आफ्ना सदस्यहरूले बिदाको समयमा तलब नपाउने हुन् कि भनेर चिन्तित छन् । टीएसए युनियन ‘अमेरिकन फेडेरेसन अफ गभर्नमेन्ट एम्प्लोइज’का एक काउन्सिल अध्यक्ष हाइड्रिक थोमसले भने, हामी यात्रुहरूको यात्रालाई निकै गम्भीरतापूर्वक लिन्छौँ र उनीहरू बिदामा आफ्ना प्रियजनसँग भेट्न सकून् भन्ने चाहन्छौँ । तर, तलब रोकेर काममा लगाउनु भनेको अमेरिकी जनताको वास्ता नगर्नु हो ।

नेसनल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसनका अध्यक्ष निक ड्यानियल्सका अनुसार हवाई ट्राफिक नियन्त्रण प्रणाली पहिलेदेखि नै कर्मचारी अभाव र पुराना उपकरणको समस्याबाट गुज्रिरहेको छ । गत हप्ता मात्र देशभर उडान अवरुद्ध हुँदा देखिएको प्रणालीगत कमजोरीले वर्षौँदेखिको समस्यालाई उजागर गरेको उनले बताए ।कर्मचारीहरू नै यो प्रणालीका मुख्य आधार हुन्, तर उनीहरू फेरि तलबबिनै काम गर्न बाध्य हुँदैछन्, ड्यानियल्सले भने, हाम्रो तलबलाई बन्धक बनाउन बन्द गरियोस् ।

फिलाडेल्फिया एएफजीईकी अध्यक्ष लाशन्डा पामरले अघिल्ला दुई सटडाउनको असरबाट कर्मचारीहरू अझै तङ्ग्रिन नसकेको बताइन् । वार्षिक करिब ४० हजार ७०० डलर मात्र तलब पाउने कतिपय टीएसए कर्मचारीहरूलाई इन्धन र बालबालिकाको हेरचाह खर्च जुटाउनसमेत कठिन हुने भएकाले बाध्य भएर काममा आउन नसक्ने अवस्था सिर्जना हुने उनको भनाइ छ ।

गत वर्ष क्रिसमसअघिको शनिबारदेखि नयाँ वर्षपछिको आइतबारसम्म टीएसएले सामान्य दिनको तुलनामा दैनिक १ लाख ४० हजार बढी यात्रुको जाँच गरेको थियो । यस वर्ष पनि प्रमुख अमेरिकी एयरलाइन्सहरूले बुकिङ निकै राम्रो रहेको जनाएका छन् । तर, इन्धनको उच्च मूल्यका कारण एयरलाइन्सहरूले कम नाफा हुने उडानहरू कटौती गरिसकेका छन् । यस्तो अवस्थामा कर्मचारी अभावका कारण कुनै उडान रद्द भएमा यात्रुहरूले अर्को उडानमा सिट पाउन निकै कठिन हुनेछ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

सेप्टेम्बर ११ को आतंकवादी हमलापछि स्थापना भएको टीएसएले गत हप्ता मात्र आफ्नो २५औँ वार्षिकोत्सव मनाएको छ । एएफजीईका अध्यक्ष थोमसले आफ्ना सदस्यहरूको समर्पणकै कारण विगत २५ वर्षमा त्यस्ता हमला दोहोरिन नपाएको उल्लेख गर्दै थपे, हामीले देशलाई असफल बनाएका छैनौँ, बरु राजनीतिज्ञहरूले हामीलाई असफल बनाइरहेका छन् ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →