मूल्याङ्कनभन्दा पाँच गुणा बढी तिरेर गोदाम खरिद, आइसमा करदाताको १ अर्ब डलर दुरुपयोगको जोखिम
आइसले हिरासत केन्द्रका खाली ओछ्यानमै मासिक १ करोड ३० लाख डलर खर्च गरेको र मूल्याङ्कनभन्दा निकै महँगोमा गोदाम खरिद गरेको सरकारी प्रतिवेदनले देखाएको छ । हतारको निर्णयका कारण १ अर्ब डलरभन्दा बढी लगानी जोखिममा परेपछि अहिले अधिकांश गोदाम बिक्रीमा राखिएका छन् ।
Photo: Adem Percem / Unsplash
अमेरिकी आइसले हालै खरिद गरेका पाँचवटा हिरासत केन्द्रका खाली ओछ्यानका लागि मासिक अनुमानित १ करोड ३० लाख डलर खर्च गरेको र नौवटा ठूला गोदाम खरिद गर्दा वास्तविक मूल्याङ्कनभन्दा ५० प्रतिशतभन्दा बढी रकम तिरेको सरकारी निगरानी निकायको नयाँ प्रतिवेदनले देखाएको छ । करदाताको एक अर्ब डलरभन्दा बढी रकम खर्चेर किनिएका ती गोदाममध्ये अधिकांश अहिले आइसले बिक्री गर्ने प्रयास गरिरहेको छ ।
सरकारी जवाफदेहिता कार्यालय जीएओको प्रतिवेदनअनुसार आइसले तीनवटा गोदामका लागि मूल्याङ्कन गरिएको मूल्यभन्दा तेब्बरभन्दा बढी रकम भुक्तानी गरेको थियो । मिशिगनमा आइसले ३ करोड ४० लाख डलरभन्दा बढीमा एउटा गोदाम खरिद गरेको थियो, जुन जीएओको गणनाअनुसार मूल्याङ्कन गरिएको मूल्यको झण्डै पाँच गुणा बढी हो ।
सार्वजनिक रूपमा यसबारे कुनै प्रतिक्रिया नदिए पनि आइसले प्रतिवेदनभित्रै जीएओको सिफारिस स्वीकार गरेको छ । अध्यागमन निकायले आफ्नो खर्च योजना अद्यावधिक राख्नुपर्ने र हिरासत केन्द्र खरिद गर्नुअघि त्यसको पूर्ण लागत मूल्याङ्कन गर्नुपर्ने सुझावमा सहमति जनाएको हो ।
निगरानी निकायलाई लेखेको पत्रमा होमल्याण्ड सेक्युरिटीले आइसले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा वित्तीय स्रोतहरूको निरन्तर निगरानी र व्यवस्थापन सुनिश्चित गर्न आवश्यक प्रक्रिया, नीति, कार्यविधि र सुरक्षा उपायहरूलाई सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
करिब एक वर्षअघि आइसले प्रत्येकमा ८ हजारसम्म आप्रवासी बन्दी राख्न मिल्ने गरी खाली रहेका ठूला गोदामहरू खरिद गर्ने योजना अघि सारेको थियो । तर स्थानीय नेता, आप्रवासी अधिकारकर्मी र कङ्ग्रेसका केही रिपब्लिकन सदस्यहरूले नै कडा विरोध जनाएपछि उक्त योजनामा तुरुन्तै अवरोध सिर्जना भएको थियो ।
एटलान्टाको उपनगर जर्जियाको सोसल सर्कलमा आइसले गोदाम बनाउने योजना बनाएपछि स्थानीय अधिकारीहरूले मुद्दा दायर गरेका थिए । उनीहरूले नयाँ सुविधाले सहरको ढल निकास प्रणालीको क्षमता नाघ्ने र जसका कारण धारा सुक्ने तथा मानव मलमूत्र बाहिर पोखिने समस्या निम्तिने बताएका थिए । निजी कारागार कम्पनीका ठेकेदारहरूले समेत एकै स्थानमा १ हजार ५ सयभन्दा बढी बन्दी राख्ने विषयमा चिन्ता व्यक्त गरेका थिए ।
तत्कालीन होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले गत मार्चको अन्त्यतिर पद छाडेपछि आइसले गोदाम खरिद योजना स्थगित गरेको थियो । प्रतिवेदनअनुसार हाल कम्तीमा सातवटा गोदाम बिक्रीका लागि राखिएका छन् ।
जीएओ प्रतिवेदनका लेखकहरूले गोदाम खरिदको पहललाई हतारमा कार्यान्वयन गरिएको र जसबाट ठूलो मात्रामा स्रोतको दुरुपयोग हुन सक्ने प्रमुख लगानीको उदाहरणका रूपमा चित्रण गरेका छन् । आइसले आफूले व्यवस्थापन गर्ने हिरासत केन्द्रहरूको सङ्ख्या झण्डै दोब्बर बनाए पनि ती केन्द्रहरूको रेखदेख र व्यवस्थापन गर्ने कर्मचारीको चरम अभाव झेलिरहेको छ । प्रतिवेदनअनुसार स्वीकृत ८७ पदमध्ये हाल ५५ पद रिक्त छन् ।
प्रतिवेदनले ग्यारेन्टी भुक्तानी सम्झौता भएका केन्द्रहरूमा आइसले औसतमा दैनिक ९ हजारभन्दा बढी खाली ओछ्यानका लागि रकम तिरिरहेको तथ्य फेला पारेको छ । सन् २०२५ को जुलाईमा राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बिग ब्युटिफुल बिल’ पारित भएसँगै सन् २०२९ सम्मका लागि ४५ अर्ब डलर बजेट प्राप्त गरेपछि आइसले नयाँ हिरासत क्षमता खरिद गर्न थालेको थियो ।
त्यसैगरी, आइसले पश्चिमी मिनेसोटाको एउटा पुरानो कारागार ४९ करोड ५० लाख डलरमा खरिद गरेको विषयमा पनि चर्को आलोचना खेपिरहेको छ । केएआरई ११ ले प्राप्त गरेको कागजातअनुसार उक्त कारागारका मालिकले एक वर्षअघि सोही संरचना राज्य सरकारलाई ७ करोड ५० लाख डलरमा बिक्री गर्ने प्रस्ताव गरेका थिए । उक्त खरिदबिक्रीसम्बन्धी कागजातहरू उपलब्ध गराउन माग गर्दै तल्लो सदनको होमल्याण्ड सेक्युरिटी समितिका डेमोक्र्याट सांसदहरूले शुक्रबार डीएचएसलाई पत्र पठाएका छन् ।





