५ मंसिर २०८३, शनिबार| Saturday, November 21, 2026
अमेरिका

गर्भवती कामदारको अधिकारसम्बन्धी अमेरिकी कानुन असंवैधानिक ठहर

यो फैसलाले टेक्साससहित तीन राज्यका करिब २ करोड महिलाको कार्यस्थल सुरक्षा अधिकार प्रभावित पार्नुका साथै १.७ ट्रिलियन डलरको सम्पूर्ण खर्च विधेयकको वैधानिकतामाथि समेत प्रश्न उठाएको छ।

brown wooden stand with black background

Photo by Tingey Injury Law Firm

रोजगारदाताले गर्भवती महिला कामदारलाई कार्यस्थलमा आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने कानुनलाई अमेरिकाको एक संघीय पुनरावेदन अदालतले असंवैधानिक ठहर गरेको छ। पाँचौँ सर्किट पुनरावेदन अदालतको विभाजित इजलासले कंग्रेसले उक्त कानुन पारित गर्दा आवश्यक कानुनी गणपूरक संख्या नपुगेको भन्दै यो फैसला सुनाएको हो।

अदालतको ९-८ को बहुमतले ‘प्रेग्नेन्ट वर्कर्स फेयरनेस एक्ट’ संविधानको गणपूरक संख्यासम्बन्धी प्रावधानविपरीत पारित भएको ठहर गरेको छ। अमेरिकी संविधानअनुसार आधिकारिक कामकारबाही सञ्चालन गर्न कंग्रेसका दुवै सदनमा बहुमत सदस्यहरू भौतिक रूपमा उपस्थित हुनुपर्छ। तर, कोभिड१९ महामारीको चरम अवस्थामा सुरक्षा सावधानी अपनाउँदै सांसदहरूले टाढैबाट रिमोट र प्रतिनिधिमार्फत मतदान गर्ने व्यवस्था लागू गरेका थिए। सोही समयमा १.७ ट्रिलियन डलरको बृहत् खर्च विधेयकको एक हिस्साका रूपमा यो कानुन पारित भएको थियो।

न्यायाधीशहरूले आफ्नो फैसलामा लेखेका छन्, संविधानको कोरम खण्डले गणपूरक संख्या पुर्‍याउन प्रोक्सी भोटलाई मान्यता नदिने भएकाले यो ऐन पारित गर्ने प्रक्रिया असंवैधानिक छ।

कानुनविद्हरूका अनुसार यो फैसलाले करिब २ करोड महिलाको बसोबास रहेको टेक्सास, लुजियाना र मिसिसिपी राज्यमा उक्त कानुनलाई प्रभावहीन बनाउनेछ भने यसको असर राष्ट्रव्यापी रूपमा पर्न सक्नेछ। सन् २०२२ मा पारित यो कानुनले गर्भवती कामदारलाई शौचालय तथा पानी पिउने विश्राम, गह्रौँ सामान उचाल्नबाट छुट, र प्रसूतिपूर्वको स्वास्थ्य जाँचका लागि बिदाजस्ता आधारभूत सुविधाको सुरक्षा प्रदान गरेको थियो।

यो फैसला टेक्सासका निवर्तमान महान्यायाधिवक्ता केन प्याक्सटनका लागि ठूलो जित हो, जसले रोजगारदाताका रूपमा राज्यको तर्फबाट यो मुद्दा दायर गरेका थिए। फैसलासँगै टेक्सास राज्य र पाँचौँ सर्किटको क्षेत्राधिकारभित्र पर्ने अन्य रोजगारदाताहरूलाई अब यो कानुन कार्यान्वयन गर्न बाध्यता हुने छैन। यद्यपि, यस फैसलाविरुद्ध अमेरिकी सर्वोच्च अदालतमा पुनरावेदन गरिने अपेक्षा गरिएको छ।

यसअघि यही कानुनको प्रयोग गर्दै टेक्सासकी एक लेखापालले गर्भवती अवस्थामा घरबाटै काम गर्न नदिएको भन्दै रोजगारदाताविरुद्धको मुद्दामा ३ लाख ७६ हजार डलर क्षतिपूर्ति जितेकी थिइन्। त्यस्तै, गोदाम कामदारहरूले पनि हजारौँ गर्भवती कर्मचारीलाई सुविधा नदिएको भन्दै अमेजनविरुद्ध सामूहिक मुद्दा दायर गरेका थिए।

महिला अधिकारकर्मी र संविधानविद्हरूले अदालतको निर्णयको कडा आलोचना गरेका छन्। महिला कानुनी वकालत समूह ‘अ बेटर ब्यालेन्स’ की अध्यक्ष इनिमाई चेट्टियारले भनिन्, “यो निर्णयले टेक्सास, लुजियाना र मिसिसिपीका कामदारहरूको आधारभूत अधिकार खोसेको छ र लाखौँ अमेरिकी महिला तथा तिनका परिवारको स्वास्थ्य, जीविकोपार्जन र आर्थिक सुरक्षालाई जोखिममा पारेको छ।

येल विश्वविद्यालयका संवैधानिक कानुनका प्राध्यापक विलियम एस्क्रिजले कोभिड महामारीका बेला कंग्रेसले अपनाएको मतदान प्रणालीलाई अदालतले असंवैधानिक घोषणा गर्नु अत्यन्तै असामान्य रहेको बताए। इन्डियाना विश्वविद्यालयकी कानुनकी प्राध्यापक डेबोरा विडिसले अदालतले सदनको आन्तरिक नियममाथि हस्तक्षेप गर्दा शक्ति पृथकीकरणको सिद्धान्त भंग हुने तर्क गरिन्।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

पूर्व रिपब्लिकन सिनेटर मिच म्याककोनेलले समेत कानुनको पक्षमा वकालत गर्दै कंग्रेसको आन्तरिक मामिलामा अदालतले पुनरावलोकन गर्न नमिल्ने धारणा राखेका थिए।

यसैबीच, विज्ञहरूले यो फैसलाले १.७ ट्रिलियन डलरको सम्पूर्ण खर्च विधेयकको वैधानिकतामाथि नै प्रश्न खडा गरिदिएको औँल्याएका छन्। उक्त विधेयकमा टेक्सासका सैन्य सुविधाका लागि ४३ करोड ६० लाख डलरसहित करिब ८५८ अर्ब डलरको रक्षा बजेटसमेत समावेश थियो। असहमत न्यायाधीशहरूले सम्पूर्ण विधेयक नै असंवैधानिक तरिकाले पारित भएको मान्ने हो भने फैसला एउटा सानो अंशमा मात्र किन सीमित गरियो भनी प्रश्न उठाएका छन्। प्राध्यापक विडिसका अनुसार अदालतको यही तर्कलाई आधार मान्ने हो भने अब उक्त विधेयकअन्तर्गत स्वीकृत सम्पूर्ण १.७ ट्रिलियन डलरको खर्चविरुद्ध कानुनी चुनौतीको ढोका खुलेको छ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →