नेपालको १०० अर्ब डलरको अर्थतन्त्र निर्माणमा अमेरिकी लगानी र डायस्पोराको भूमिका खोज्दै सरकार
विदेशमन्त्री शिशिर खनालले न्यूयोर्कमा आयोजित नेपाली अमेरिकी व्यवसाय तथा लगानी सम्मेलनमा भिडियो सन्देशमार्फत प्रविधि, स्वच्छ ऊर्जा, जलवायु उत्थानशील पूर्वाधार र उद्यमशीलतामा नेपाल–अमेरिका सहकार्य विस्तार गर्न आह्वान गरेका छन्।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली अमेरिकी व्यवसाय तथा लगानी सम्मेलन (नाबिस २०२६) को दोस्रो दिनको उद्घाटन समारोहलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै। (तस्बिर : दीपक परियार/खसोखास)
न्यूयोर्क — नेपालले आगामी दिनमा अमेरिकासँग प्रविधि, स्वच्छ ऊर्जा, जलवायु उत्थानशील पूर्वाधार र उद्यमशीलताका क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्न चाहेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्।
न्यूयोर्कमा जारी नेपाली अमेरिकी व्यवसाय तथा लगानी सम्मेलन (नाबिस २०२६) को दोस्रो दिनको उद्घाटन समारोहलाई शनिबार भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उनले नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरको बनाउने लक्ष्य हासिल गर्न लगानी, नवप्रवर्तन, उद्यमशीलता र विदेशमा रहेका नेपालीको सहभागिता आवश्यक रहेको बताए।
नेपालमै रहेका कारण न्यूयोर्क आउन नसकेको उल्लेख गर्दै खनालले सम्मेलन आयोजना गरेकोमा ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीप श्रेष्ठ, संस्थाको नेतृत्व तथा अन्य साझेदारलाई बधाई दिए। उनले सम्मेलन आयोजनामा सहयोग गरेको न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासप्रति पनि आभार व्यक्त गरे।
‘पुँजी, विचार र अवसरलाई जोड्ने’ नारासहित आयोजित सम्मेलनमा व्यवसायी, उद्यमी, लगानीकर्ता, सांसद, कूटनीतिक समुदायका प्रतिनिधि तथा नेपाली डायस्पोराका सदस्य सहभागी छन्।

खनालले नेपालले आर्थिक रूपान्तरणका लागि सुशासन, नीतिगत स्थिरता, डिजिटल रूपान्तरण, पूर्वाधार विकास र निजी क्षेत्रको विस्तारलाई प्राथमिकतामा राखेको बताए।
‘हाम्रो लक्ष्य व्यवसाय फस्टाउने, लगानी बढ्ने र युवा नेपालीले अर्थपूर्ण अवसर पाउने वातावरण निर्माण गर्नु हो,’ उनले भने।
नेपाल र अमेरिकाबीच झन्डै आठ दशकदेखि कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले सन् २०२७ मा दुई देशबीचको सम्बन्ध स्थापनाको ८०औँ वर्षगाँठ मनाउने तयारी भइरहेको बताए। त्यस अवसरलाई आर्थिक साझेदारी थप गहिरो बनाउने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
उनले नेपाल र अमेरिकाबीच सहकार्य विस्तार गर्न सकिने तीन प्रमुख क्षेत्र पहिचान गरे।
पहिलो, प्रविधि र डिजिटल रूपान्तरण हो। नेपालको युवा जनशक्ति, डिजिटल क्षमता र स्वच्छ ऊर्जा स्रोतले अमेरिकी लगानी तथा सहकार्यका लागि अवसर सिर्जना गर्न सक्ने उनले बताए।
नेपालको जलविद्युत् सम्भावनालाई डिजिटल पूर्वाधार, क्लाउड कम्प्युटिङ र नयाँ प्रविधिको विकासमा उपयोग गर्न सकिने उनको भनाइ थियो। कृत्रिम बुद्धिमत्ता (एआई), उद्यमशीलता र सीप विकासमा सहकार्यले विश्वव्यापी डिजिटल अर्थतन्त्रमा नेपालको सहभागिता बढाउन सक्ने उनले बताए।
दोस्रो, जलवायु उत्थानशीलता र दिगो पूर्वाधार विकास हो। नेपालमा हालै भएका विनाशकारी बाढीका घटनाले सुरक्षित र विपद् प्रतिरोधी समुदाय निर्माणको आवश्यकता झनै स्पष्ट पारेको उनले बताए।
‘सगरमाथादेखि समुद्रसम्म’ (सगरमाथा टु सी) पहलमार्फत नेपालले जलवायु परिवर्तनका चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य खोजिरहेको उनले बताए। जलवायु उत्थानशील पूर्वाधार र दिगो विकासका परियोजनामा विदेशमा रहेका नेपालीले आफ्नो विशेषज्ञता, लगानी र साझेदारी परिचालन गर्नुपर्ने उनको आग्रह थियो।
तेस्रो, डायस्पोरामार्फत आर्थिक कूटनीति विस्तार हो।
विदेशमा रहेका नेपालीलाई नेपालको सबैभन्दा ठूलो शक्तिमध्ये एकका रूपमा व्याख्या गर्दै खनालले उनीहरूको व्यवसाय, व्यावसायिक उपलब्धि र अन्तर्राष्ट्रिय सञ्जालले नेपाल र अमेरिकाबीच महत्वपूर्ण सम्बन्ध निर्माण गरेको बताए।
उनले अमेरिकामा रहेका नेपालीलाई नेपालको आर्थिक विकासमा लगानीकर्ता, नवप्रवर्तक, उद्यमी र साझेदारका रूपमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

नाबिसले यी प्राथमिकतालाई अघि बढाउन महत्वपूर्ण मञ्च उपलब्ध गराएको उनको भनाइ थियो। विशेषगरी सम्मेलनमा समावेश स्टार्टअप प्रस्तुति तथा व्यवसायिक साझेदारीका लागि आयोजना गरिने बिजनेस म्याचमेकिङ सत्रको उनले प्रशंसा गरे।
‘यसले सम्भावना बोकेका विचारलाई व्यवसाय, लगानी र दीर्घकालीन साझेदारीमा रूपान्तरण गर्न सक्छ,’ उनले भने।
नेपालका कूटनीतिक नियोगहरू अन्तर्राष्ट्रिय स्तरमा नेपालको आर्थिक हित प्रवर्द्धन गर्न र यस्ता पहललाई सहयोग गर्न प्रतिबद्ध रहेको पनि उनले बताए।
नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध ८० वर्ष पुग्न लागेका बेला नाबिसलाई व्यापार, लगानी र नवप्रवर्तनको वार्षिक मञ्चका रूपमा विकास गर्नुपर्ने उनको अपेक्षा थियो।
‘तपाईंहरूको उपलब्धिले अमेरिकामा अवसरका ढोका खोलेको छ। अब हामी मिलेर नेपालको भविष्यका लागि नयाँ ढोका खोल्न सक्छौँ,’ उनले भने।
ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको सहयोगमा आयोजना गरेको तीनदिने सम्मेलन शुक्रबारदेखि सुरु भएको हो। पहिलो दिन स्टार्टअप प्रस्तुति, लगानीसम्बन्धी छलफल र व्यवसायिक नेटवर्किङमा केन्द्रित कार्यक्रम भएका थिए।

शनिबारको कार्यक्रममा प्रविधि, कृत्रिम बुद्धिमत्ता, नेपालको आर्थिक सम्भावना, नेपाल–अमेरिका व्यापार तथा लगानीलगायत विषयमा छलफल र प्यानल आयोजना हुँदैछन्।
आइतबार सम्मेलनको अन्तिम दिन व्यवसायीबीच साझेदारी विस्तार, लगानीका अवसर र सरकारी प्रतिनिधिसँग उद्यमीहरूको प्रत्यक्ष संवाद तथा बिजनेस म्याचमेकिङ कार्यक्रम आयोजना गर्ने कार्यसूची छ।





