४ मंसिर २०८३, शुक्रबार| Friday, November 20, 2026
नेपालबाहिरको नेपाल

ब्रसेल्सस्थित नेपाली दूतावासद्वारा अनलाइन कन्सुलर सेवा पोर्टल सुरु

नयाँ डिजिटल प्रणालीमार्फत बेल्जियम, नेदरल्यान्ड्स र लक्जेम्बर्गमा रहेका नेपाली तथा विदेशी सेवाग्राहीले अनलाइन आवेदन दिन, कागजात बुझाउन र आवेदनको अवस्था अनुगमन गर्न सक्नेछन्।

बेनेलक्स मुलुकका लागि नेपाली राजदूत सेवा लम्सालले अगस्टमा ब्रसेल्सस्थित नेपाली दूतावासमा नेपाली समुदायका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँगको अन्तरक्रियामा मन्तव्य व्यक्त गर्दै।

बेल्जियमको ब्रसेल्सस्थित नेपाली दूतावासले शुक्रबारदेखि अनलाइन कन्सुलर सेवा पोर्टल सञ्चालनमा ल्याएको छ। नयाँ प्रणालीमार्फत सेवाग्राहीले विभिन्न कन्सुलर सेवाका लागि अनलाइन आवेदन दिन, आवश्यक कागजात बुझाउन र आवेदनको अवस्था हेर्न सक्नेछन्। यसले सेवा प्रवाहलाई आधुनिक बनाउनुका साथै दूतावासमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।

दूतावासले नोभेम्बर २० मा जारी गरेको विज्ञप्तिअनुसार नयाँ पोर्टलबाट कागजात प्रमाणीकरण, सिफारिस तथा प्रमाणपत्र, अधिकृत वारेसनामा र अस्थायी जन्मदर्ता प्रमाणपत्रलगायत सेवाका लागि आवेदन दिन सकिनेछ। यसका साथै राहदानीसम्बन्धी र दूतावासका अन्य सेवाहरू पनि एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध गराइएको छ।

नयाँ प्रणाली सार्वजनिक गर्दै बेनेलक्स मुलुकका लागि नेपाली राजदूत सेवा लम्सालले सामाजिक सञ्जालमा लेखेकी छन्, “डिजिटल रूपान्तरणतर्फ हाम्रो सानो योगदान!”

दूतावासका अनुसार सेवाग्राहीले पोर्टलमार्फत आवेदन र त्यससँग सम्बन्धित आवश्यक कागजात अपलोड गर्न, आवेदनको प्रगति हेर्न तथा सेवाको प्रकृतिअनुसार तयार भएका कागजात पोर्टल वा इमेलमार्फत प्राप्त गर्न सक्नेछन्। दूतावासमा प्रत्यक्ष उपस्थित हुनुपर्ने सेवाका लागि पनि यही प्रणालीबाट समय लिन सकिने व्यवस्था गरिएको छ।

यद्यपि, नयाँ प्रणालीले सबै सेवाका लागि दूतावासमा भौतिक रूपमा उपस्थित हुनुपर्ने आवश्यकता अन्त्य नगर्ने दूतावासले स्पष्ट पारेको छ। पहिचान प्रमाणीकरण, कागजात जाँच वा नेपालका प्रचलित कानुन तथा नियमअनुसार पूरा गर्नुपर्ने अन्य औपचारिकताका लागि केही सेवामा सेवाग्राही स्वयं उपस्थित हुनुपर्नेछ।

विदेशी नागरिकले पनि पर्यटक भिसासम्बन्धी सेवाका लागि पोर्टलमार्फत समय लिन सक्नेछन्। तर, दूतावासको पोर्टलबाट समय माग गर्नुअघि नेपाल अध्यागमन विभागको आधिकारिक अनलाइन प्रणाली ‘नेपालीपोर्ट’ मार्फत भिसा आवेदन प्रक्रिया पूरा गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

पोर्टलमा बारम्बार सोधिने प्रश्नहरूको जवाफ, राहदानीको अवस्थाबारे जानकारी लिने सुविधा, दूतावासका गतिविधिको पात्रो तथा अन्य सेवासम्बन्धी जानकारी पनि राखिएको छ। अनलाइन आवेदन र आवेदनको अवस्था अनुगमन गर्ने सुविधासँगै यी सबै जानकारी एउटै प्लेटफर्ममा उपलब्ध हुँदा प्रक्रिया सहज हुने र सेवा प्रवाहमा पारदर्शिता बढ्ने दूतावासको अपेक्षा छ।

दूतावासले बेल्जियम, नेदरल्यान्ड्स र लक्जेम्बर्गमा बसोबास गर्ने नेपाली नागरिक तथा विदेशी सेवाग्राहीलाई पोर्टलमा दर्ता गरी आफ्नो खाता सुरक्षित राख्न आग्रह गरेको छ। एउटै खाताबाट पुनः दर्ता नगरी विभिन्न सेवामा पहुँच प्राप्त गर्न सकिने दूतावासले जनाएको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

दूतावासका अनुसार उपलब्ध स्रोतसाधनको उपयोग गर्दै नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरेर आफ्नै पहलमा पोर्टल विकास तथा सञ्चालनमा ल्याइएको हो। यो सरकारको बृहत् डिजिटल रूपान्तरण अभियानअन्तर्गतको प्रयास भएको पनि दूतावासले जनाएको छ।

लेखक सुसान श्रेष्ठ

सुसान श्रेष्ठ युरोपमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार हुन्। उनले स्थानीय विषयदेखि संयुक्त राष्ट्रसंघ, युरोप मामिला, अन्तर्राष्ट्रिय मामिलासम्मका विविध विषयमा रिपोर्टिङ गर्दै आएका छन्। यसअघि उनले नेपालमा रहँदा खसोखासका लागि संवाददाताका रूपमा काम गरेका थिए।

यस लेखकका थप समाचार →