नेपथ्यका पहिलो गायक रबिन श्रेष्ठसहित हरिश माथेमा र राजु लामाले न्युयोर्कमा प्रस्तुति दिने
कन्सर्टबाट संकलित रकमको केही हिस्सा नेपालका रसुवा, नुवाकोट र धादिङका बाढीपीडितलाई सहयोग गर्न खर्च गरिने आयोजकले जनाएको छ। न्युयोर्कबाट सुरु हुने कलाकारहरूको यो सांगीतिक यात्रा टेक्सासको ड्यालास, भर्जिनिया र अमेरिकाका अन्य सहरमा पनि आयोजना हुने बताइएको छ।
न्युयोर्क — नेपालको चर्चित लोक, रक तथा पप ब्याण्ड नेपथ्यका संस्थापक तथा पहिलो गायक रबिन श्रेष्ठले नोभेम्बर २० मा न्युयोर्कमा सांगीतिक प्रस्तुति दिने भएका छन्। श्रेष्ठसँगै चर्चित गायक हरिश माथेमा र द एन्जेल ब्याण्डका गायक राजु लामाले पनि क्वीन्सस्थित ‘द प्यालेस’ मा आयोजना हुने ‘द एन्जेल्स लाइभ इन कन्सर्ट’ मा प्रस्तुति दिनेछन्।
रिभिल इभेन्ट्स इंकका राजेश हमाल, मिराकल इभेन्ट्स इंकका सूर्य सिंखडा र डिजेएलएस एनवाइसीका जाङ्बु शेर्पाको संयुक्त आयोजनामा कन्सर्ट हुन लागेको हो। श्रेष्ठ र उनका म्यानेजर मधु गुरुङ लन्डनबाट न्युयोर्क आइसकेका छन्।
कन्सर्टमा नेपथ्यका संस्थापक गायक श्रेष्ठले ‘आँगनै भरी’, ‘छेक्यो छेक्यो देउराली डाँडा’ र ‘आँखैमा झलझली’ लगायत आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछन्।
त्यस्तै, माथेमाले ‘आँखाको नानी हौ तिमी’, ‘मोहनी लायो’, ‘आभास आउँछ’ र ‘हेलम्बुको स्याउ’ लगायत गीत गाउनेछन्। द एन्जेल ब्याण्डका राजु लामाले ‘अल्लारे माया’, ‘कति छन्’ र ‘होइनन् मेरी होइनन्’ लगायत लोकप्रिय गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ।
कार्यक्रममा अतिथि कलाकारका रूपमा गायिका शशिकला मोक्तानले विशेष प्रस्तुति दिनेछिन्। कार्यक्रमको अन्त्यमा डिजे तेन्जिङले संगीत प्रस्तुत गर्नेछन्।
कन्सर्टबाट संकलित रकमको केही हिस्सा नेपालका रसुवा, नुवाकोट र धादिङका बाढीपीडितलाई सहयोग गर्न खर्च गरिने आयोजकले जनाएको छ। न्युयोर्कबाट सुरु हुने कलाकारहरूको यो सांगीतिक यात्रा टेक्सासको ड्यालास, भर्जिनिया र अमेरिकाका अन्य सहरमा पनि आयोजना हुने बताइएको छ।
न्युयोर्क कन्सर्टका इभेन्ट पार्टनरमा एनआरएनए एनसीसी युएसए तथा बंगला ट्राभल्सका कञ्चन बस्नेत र मन्दिप भुजेल रहेका छन्।
आयोजक सूर्य सिंखडाका अनुसार कन्सर्टको टिकट मूल्य ५० डलर तोकिएको छ। कार्यक्रमस्थलमा साँझ ६ बजे प्रवेश खुला हुनेछ भने कार्यक्रम ७ बजे सुरु हुनेछ।
नेपाली गीतसंगीतको प्रवर्द्धन र बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको कन्सर्टमा सहभागी हुन आयोजकले न्युयोर्कवासी नेपाली समुदायलाई आग्रह गरेका छन्।





