क्यालिफोर्नियामा रोजगारीमा अप्रत्याशित उछाल, अक्टोबरमा थपिए ४७ हजार १ सय रोजगारी
एआई क्षेत्रको विशाल लगानी, ठुला आईपीओ र आतिथ्य क्षेत्रको सुधारले अमेरिकाभर थपिएका कुल रोजगारीमध्ये २८.५ प्रतिशत हिस्सा क्यालिफोर्नियाले मात्र ओगटेको हो।
Photo: Sasun Bughdaryan /Unsplash
अघिल्ला अनुमानहरूलाई गलत साबित गर्दै अमेरिकाको क्यालिफोर्निया राज्यको अर्थतन्त्रमा अक्टोबर महिनामा अप्रत्याशित रूपमा ४७ हजार १ सय नयाँ रोजगारी थपिएका छन्। शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार, यस वृद्धिसँगै राज्यको बेरोजगारी दर विगत तीन वर्षयताकै न्यून विन्दुमा झरेको छ।
यसअघि राज्यमा ज्येष्ठ नागरिकहरूको बढ्दो आवश्यकता पूरा गर्न स्वास्थ्य सेवा क्षेत्रमा मात्र रोजगारी सीमित थियो। तर अक्टोबरमा भने व्यावसायिक तथा व्यापारिक सेवालगायत विभिन्न क्षेत्रमा व्यापक रूपमा रोजगारी सिर्जना भएको छ।
क्यालिफोर्नियाको रोजगार विकास विभागका अनुसार, अक्टोबरमा अमेरिकाभर थपिएका कुल १ लाख ६५ हजार रोजगारीमध्ये २८.५ प्रतिशत हिस्सा क्यालिफोर्नियाले मात्र ओगटेको छ। यद्यपि, राज्यको बेरोजगारी दर ५ प्रतिशत रहेको छ, जुन राष्ट्रिय औसत ४.१ प्रतिशतभन्दा निकै माथि र अमेरिकी राज्यहरूमध्ये दोस्रो उच्च हो।
सेप्टेम्बर महिनामा क्यालिफोर्नियाले ९ हजार ३ सय रोजगारी गुमाएको थियो। अक्टोबरको वृद्धिसँगै चालु वर्षमा राज्यमा कुल १ लाख ४८ हजार ७ सय नयाँ रोजगारी थपिएका छन्।
क्लेरमोन्ट म्याककेना कलेजका अर्थशास्त्रका प्राध्यापक म्यानफ्रेड किलले एक महिनाको तथ्याङ्कलाई लिएर धेरै उत्साहित भइहाल्नु नपर्ने बताए पनि यो प्रतिवेदन निकै सकारात्मक रहेको उल्लेख गरे। विगतका महिनाहरूमा काम खोज्ने मानिसहरूको सङ्ख्या घटेका कारण बेरोजगारी दर कम देखिने गरेकोमा अक्टोबरमा भने राज्यको नागरिक श्रमशक्ति नै करिब ५ हजारले बढेको उनले स्पष्ट पारे।
यस पछिल्लो तथ्याङ्कले क्यालिफोर्नियाको अर्थतन्त्रलाई ‘रोजगारीविहीन आर्थिक वृद्धि’ भनी गरिँदै आएको टिप्पणीलाई खण्डन गरेको छ। दोस्रो त्रैमासिकमा राज्यको वास्तविक कुल गार्हस्थ्य उत्पादन वृद्धिदर २.५ प्रतिशत पुगेको थियो, जुन राष्ट्रिय औसतभन्दा बढी हो।
दोस्रो त्रैमासिकसम्ममा क्यालिफोर्नियाका कम्पनीहरूले ३ खर्ब ६६ अर्ब डलर भेन्चर क्यापिटल भित्र्याएका छन्, जुन अन्य सबै राज्यहरूको संयुक्त लगानीभन्दा तीन गुणा बढी हो। यसका साथै, जुन महिनामा स्पेसएक्सको ७५ अर्ब डलरको कीर्तिमानी आईपीओ र यसै साता एन्थ्रोपिकले १ खर्ब ७ अर्ब डलर जुटाउँदै जारी गरेको आईपीओबाट पनि राज्यले ठुलो लाभ लिएको छ।
आर्टिफिसियल इन्टेलिजेन्सको तीव्र विकासका कारण सिलिकन भ्यालीमा भएको कर्मचारी कटौती तथा स्ट्रिमिङ उद्योगको उथलपुथलले हलिउडमा रोजगारी गुमेको पृष्ठभूमिमा यो सुधार देखिएको हो।
अक्टोबरमा ११ वटा औद्योगिक क्षेत्रमध्ये ८ वटामा रोजगारी थपिएको छ। जसमा व्यावसायिक तथा व्यापारिक सेवामा ११ हजार ६ सय, मनोरञ्जन तथा आतिथ्य क्षेत्रमा ८ हजार १ सय, सरकारी क्षेत्रमा ५ हजार १ सय र उत्पादनमूलक क्षेत्रमा ३ हजार ४ सय रोजगारी सिर्जना भएका छन्। प्राध्यापक किलका अनुसार आतिथ्य क्षेत्रमा भएको वृद्धिले मानिसहरू बाहिर खान जाने र होटेल बुक गर्ने क्रम बढेको सङ्केत गर्छ भने एआईमा भएको विशाल लगानीले अब रोजगारी सिर्जना गर्न थालेको देखिन्छ।
रोजगार विकास विभागका पूर्वनिर्देशक माइकल बर्निकले एआईले डर मानिएजस्तो रोजगारी विनाश नगरेको तथ्याङ्कले देखाएको बताए। उनका अनुसार एरोस्पेस, रक्षा क्षेत्र र ठुला सार्वजनिक पूर्वाधार परियोजनाहरूमा भएको वृद्धिले इन्जिनियरहरूको माग उच्च बनाएको छ। ठुला आईपीओमार्फत लगानीकर्तामाझ पुगेको पुँजीले अर्थतन्त्रमा थप रोजगारी सिर्जना गर्न भने अझै केही समय लाग्ने उनको भनाइ छ।
सेप्टेम्बर महिनामा मात्र क्यालिफोर्नियामा ५७ हजार ३ सय १६ वटा नयाँ व्यवसाय दर्ता भएका छन्। तर, ज्याला तिर्ने योजनासहित रोजगारदाता बन्न सक्ने कम्पनीहरूको सूचीमा भने विगत चार दशकदेखिका नीतिगत अवरोधका कारण क्यालिफोर्निया अन्य राज्यहरूको तुलनामा मध्यम स्थानमा रहेको बर्निकले उल्लेख गरे।
यस्तै, मध्यावधि निर्वाचनको नतिजापछि ‘मेडिकेड’ कोषमा कटौती गर्ने भनिएको योजना रोकिएमा वा कम गरिएमा राज्यको अर्थतन्त्रलाई थप अप्रत्याशित लाभ मिल्न सक्ने अर्थशास्त्री किलको विश्लेषण छ।





