ट्रम्प समर्थक सांसदहरूको नयाँ प्रस्ताव: २५० डलरको नयाँ नोटमा ट्रम्पको अनुहार


प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित नयाँ २५० डलरको नोट छाप्ने तयारी सुरु भएको छ। तर, यस्तो नोट छाप्नका लागि अमेरिकामा कानुनी अड्चनहरू भने कायमै छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ २५० डलरको नोट छाप्ने तयारी गरिरहेको र उक्त नोटमा ट्रम्पकै तस्बिर राख्न सकिने सम्भावना रहेको बताइएको छ। नोटमा ट्रम्पको तस्बिर राख्न अमेरिकी संसद्ले कानुन परिवर्तन गर्नुपर्ने हुन्छ; किनकि हालको सङ्घीय कानुनअनुसार जीवित व्यक्तिको तस्बिर अमेरिकी मुद्रामा राख्न पाइँदैन। त्यसैले ट्रम्प समर्थक रिपब्लिकन सांसदहरूले उक्त कानुनमा विशेष छुट दिने प्रस्ताव अघि सारेका छन्।

अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ताले मन्त्रालयले यसका लागि “उचित योजना र आवश्यक प्रक्रिया” अघि बढाइरहेको बताएका छन्। प्रस्ताव ल्याउने सांसदहरूका अनुसार २५० डलरको नोट अमेरिकाको २५०औँ स्थापना वर्षको प्रतीक हुनेछ। यदि यो प्रस्ताव पारित भयो भने, राष्ट्रिय प्रतीक तथा सरकारी संस्थाहरूमा ट्रम्पको नाम, अनुहार र प्रभाव थप प्रस्ट रूपमा स्थापित गर्ने ट्रम्प र उनका सहयोगीहरूको प्रयासको यो अर्को उदाहरण बन्नेछ।

हालसम्म २५० डलरको नोटको डिजाइन सार्वजनिक गरिएको छैन। तर अमेरिकी मुद्रा डिजाइन तथा छपाइ गर्ने अर्थ मन्त्रालयअन्तर्गतको निकाय ‘ब्युरो अफ इन्ग्रेभिङ एन्ड प्रिन्टिङ’लाई डिजाइन तयार गर्न आग्रह गरिएको बताइएको छ। अर्थ मन्त्रालयका प्रवक्ताले यो प्रस्ताव कानुनका रूपमा पारित भएमा ब्युरोले राष्ट्रको २५०औँ वार्षिकोत्सवलाई सम्मान गर्दै विशेष २५० डलरको स्मारक नोट उत्पादन गर्न सक्रिय रूपमा काम गर्ने स्पष्ट पारे।

हाल अमेरिकी चलनचल्तीमा रहेको सबैभन्दा ठूलो नोट १०० डलरको हो, जसमा अमेरिकाका संस्थापक नेताहरूमध्येका एक बेन्जामिन फ्राङ्कलिनको तस्बिर छ। अमेरिकाले यसअघि ५००, १,००० र १०,००० डलरका नोट पनि छाप्ने गर्थ्यो, तर ती नोटहरू सन् १९६९ देखि छाप्न बन्द गरिए। ती नोटहरू अझै पनि कानुनी रूपमा मान्य भए तापनि अहिले प्रायः सङ्कलकहरूको सङ्ग्रहमा मात्र सीमित छन्।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले ह्वाइट हाउसमा बोल्दै यो विषय पूर्ण रूपमा संसद्को हातमा रहेको बताएका छन्। उनले संसद्बाट प्रस्ताव पारित भएमा अर्थ मन्त्रालयले आवश्यक तयारी गर्ने भए पनि पूर्ण रूपमा कानुनअनुसार नै काम गर्ने स्पष्ट पारे।

सामान्यतया नयाँ कागजी मुद्रा डिजाइन गर्न वर्षौँ लाग्ने गर्छ। यस प्रक्रियामा अमेरिकी केन्द्रीय बैङ्क प्रणाली र अमेरिकी सेक्रेट सर्भिस लगायतका निकायहरू संलग्न हुन्छन्। ब्युरो अफ इन्ग्रेभिङ एन्ड प्रिन्टिङका अनुसार नयाँ नोटको डिजाइन सामान्यतया सर्वसाधारणका लागि जारी गर्नुभन्दा ६ देखि ८ महिना अगाडि मात्र सार्वजनिक गरिन्छ। त्योभन्दा अगाडि नै जानकारी खुलाउँदा नक्कली नोट बनाउनेहरूलाई बल पुग्ने र अमेरिकी मुद्राप्रतिको जनविश्वास कमजोर हुन सक्ने जोखिम रहन्छ।

त्यसैले, यो २५० डलरको नोट अमेरिकाको २५०औँ स्वतन्त्रता दिवस (जुलाई ४) अगावै तयार हुन सक्छ या सक्दैन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com