साहित्यकार डा. लम्सालको ‘अग्नि’ महाकाव्य: ‘जातीय छुवाछुत र सनातन उत्पीडनको कथा’


प्रकाशित मिति : आश्विन १६, २०७८ शनिबार

साहित्यकार तथा रेडियोकर्मी डा. नवराज लम्सालको तेस्रो महाकाव्य ‘अग्नि’ लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आयोजित कार्यक्रममा आहुति, डा रामप्रसाद ज्ञवाली र डा. गीता त्रिपाठीसँगै डा. लम्सालकी ६ बर्षिया नातिनी आयराले संयुक्त रुपमा महाकाव्यको लोकार्पण गर्नुभयो ।

‘जातीय व्यवस्था परिवर्तनका लागि सहयोग पुग्ने विश्वास’

कार्यक्रममा आहुतीले महाकाव्यले नेपाली समाजमा रहेको विकृति, विसङ्गति र जातीय व्यवस्था परिवर्तनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दलित समुदाय नेपाली इतिहासको प्रथम प्राविधिक वा वैज्ञानिक रहे पनि जात व्यवस्थाले त्यसको सही मूल्याङ्कन हुन नसकेको बताउनुभयो ।

यसैगरी डा. रामप्रसाद ज्ञवालीले वि.सं. २०५० को दशकयता नेपाली साहित्यमा लेखिएका तीन सयभन्दा बढी महाकाव्य मध्ये ‘अग्नि’ सबैले पढ्नै पर्ने विषय र पात्रमाथि लेखिएको उल्लेखनीय महाकाव्य भएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आयोजित लोकार्पण

कार्यक्रममा डा. गीता त्रिपाठीले अग्नि महाकाव्य मार्फत नेपाली समाजको चरित्र, उत्पीडन र विभेदको कथा मौलिक ढङ्गले प्रस्तुत गरेकोमा लेखकको प्रशंसा गर्नुभयो ।

साहित्यकार डा. लम्सालले अग्नि यसअघि लेखिएका दुई वटा महाकाव्य कर्ण र धराभन्दा भिन्न विषयवस्तु, विशेष गरी जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीडनको लामो कथालाई महाकाव्य मार्फत उजागर गरेको बताउनुभयो ।

सीमान्तकृत पात्र , प्रवृत्ति र पहिचानलाई मूल प्रवाहमा

समकालीन नेपाली साहित्यका प्रतिनिधि कवि तथा गीतकार र नेपाली सञ्चार क्षेत्रका अग्रणी व्यक्ति डा. लम्सालको रेडियो नेपाल तथा बीबीसी नेपाली सेवासँग जोडिएको लामो इतिहास छ ।

साहित्यकार हुनुको शिल्पले सञ्चारको क्षेत्रमा उहाँको उपस्थितिलाई जति अर्थपूर्ण र बहुविध बनाएको छ , सञ्चारको ज्ञान र शिल्पले साहित्य लेखनमा पनि त्यति नै तीव्र आलोचनात्मक चेत बढाएको पाइन्छ । निकै सुस्त जस्तो लाग्ने नेपाली महाकाव्य विधालाई चलायमान बनाउने उहाँको यो योगदानलाई बौद्धिक , तार्किक र वस्तुनिष्ठ मानिन्छ ।

समकालीन चेतनाको जगमा पूर्वीय दर्शन र मिथकलाई हेर्ने , देशको बहुलता र विविधतालाई नजिकबाट अनुभूत गर्ने र सीमान्तकृत पात्र , प्रवृत्ति र तिनको पहिचानलाई मूल प्रवाहमा ल्याउने सन्दर्भ डा लम्सालका लेखनका खास विशेषता मानिन्छन् ।

अग्नि महाकाव्यको कभर

यसअघिका दुई महाकाव्य: कर्ण र धरा

कर्णमा सीमान्तकृत कर्णको नायकत्व , धरामा देशको बहुलता र बहुलतामै उठेको राष्ट्रिय चिन्तन तथा अग्निमा देखापरेको उच्च मानवतावाद उनीभित्र क्रमशः क्रमशः बढ्दै आएको लेखकीय उत्कर्ष मान्न सकिन्छ ।

अग्नि उहाँको लामो अध्ययन , अनुभव र अनुसन्धानको जगमा उभिएको निकै बौद्धिक र तार्किक तर भाषा र अभिव्यक्तिका हिसाबले कोमल र सम्प्रेष्य महाकाव्य हो । विभिन्न धार्मिक , सांस्कृतिक तथा ऐतिहासिक तर्क र तथ्यसहित मानव मर्यादाका लागि यसमा गहिरो आग्रह गरिएको छ ।

पूर्वीय दर्शन र नेपाली इतिहासको पोयो समाएर वर्तमान समयको संवेदनालाई उहाँले कसिलोसँग पक्रिनुभएको छ । कर्ण महाकाव्य २०६६ र धरा महाकाव्य २०७३ का अतिरिक्त उहाँका अन्य ३ वटा कविता सङ्ग्रह र २ वटा गीत सङग्रह प्रकाशित छन् । अग्नि उहाँको आठौं कृति हो ।

यो महाकाव्य बुकहिल प्रकाशनले बजारमा ल्याएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com