ट्रम्प प्रशासनले अन्तिम समयमा घोषणा गरेका नियम रोक्न बाइडेनले पहिलो दिन नै मेमो जारी गर्ने


प्रकाशित मिति : पुस १५, २०७७ बुधबार

जनवरी २० पछिमात्र कार्यान्वयन हुनेगरी ट्रम्प प्रशासनले ल्याउन लागेका अध्यागमन लगायतका कैयन नियम खारेज गर्न कार्यभार सम्हालेको पहिलो दिन नै जो बाइडेनले मेमो जारी गर्ने भएका छन् । यो मेमोले जनवरी २० को मध्यान्ह १२ बजेसम्म लागु नभएका ट्रम्प प्रशासनले ल्याएका नियमहरुलाई या त कार्यान्वयन हुनबाट रोक्नेछ, या त पछाडि धकेल्नेछ ।

नियमहरुमात्र नभएर नीति निर्देशनात्मक कागजातका सन्दर्भमा समेत यो नियम लागु हुने जनाइएको छ । यो मेमो जनवरी २० को मध्यान्ह १२ बजेपछि लागु हुने जनाइएको छ । यो मेमोले ट्रम्प प्रशासनले जाँदाजाँदै ल्याउन सक्ने कैयन नीतिहरुलाई उल्टाउनसक्नेछ ।

ट्रम्प प्रशासनले नोभेम्बर ३ को चुनावपछि लेमडक अवधिमा जारी गरेका र जनवरी २० पछि कार्यान्वयन हुने तय भएका नियमहरुलाई बाइडेनको मेमोले कार्यान्वयनमा रोक लगाउनेछ । पदावधी सकिने बेलामा जिम्मी कार्टर लगायतका हरेक राष्ट्रपतिहरुले विभिन्न खालका नियम ल्याउने गरेका छन् ।

ट्रम्प प्रशासनले सरकारको अवधि सकिन लागेको अन्तिम समयमा अध्यागमनमा कडाई गर्ने लगायतका कैयन नियमको तयारी गरेको छ । अध्यागमनबाहेकका अन्य क्षेत्रमा पनि ट्रम्प प्रशासनले जाँदाजाँदै केही नियमहरु ल्याउने तयारी गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जो बाइडेनले भने कार्यभार सम्हालेको पहिलो दिन नै विभिन्न महत्वपूर्ण कदमहरु चाल्ने भएका छन् । पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठनमा पुन संलग्न हुने लगायतका कैयन कार्यकारी आदेशमा बाइडेनले हस्ताक्षरको तयारी गरेका छन् ।

पदावधि सम्हाल्ने झण्डै तीनसाता बाँकी रहँदा बाइडेनले मन्त्रिपरिषद् र उच्च स्तरका केही नियुक्तिहरुको घोषणा गरिसकेका छन् । कैयन पदहरुमा आगामी साता नियुक्तीको घोषणा गर्ने भएका छन् ।

ट्रम्पले पद छाड्नु अगाडि नै अध्यागमनबारे आधादर्जन नयाँ नियमको तयारी

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी लगायतका संघीय एजेन्सीहरुबाट डोनाल्ड ट्रम्प राष्ट्रपति छँदै अर्थात् आगामी जनवरी २० अगाडि नै अमेरिकी अध्यागमनमा विभिन्न परिवर्तनका योजना सार्वजनिक गरिएको छ । यद्यपी झण्डै तीनसातामा ती मध्ये कति योजना पूरा गर्न ट्रम्प प्रशासन सफल हुनेछ, त्यो भने हेर्न बाँकी नै छ ।

ट्रम्प प्रशासनले कामदार भिसा एचवानबीको लोटरी प्रणाली हटाएर डिपार्टमेन्ट अफ लेवरको चार स्तरको पारिश्रमिक प्रणालीका आधारमा छनौट गर्ने प्रणाली ल्याउन खोजेको छ । गत नोभेम्बरमा फेडरल रजिस्टरमा प्रकाशित यो नियमको कमेन्ट अवधि डिसेम्बर २ मा सकिएको छ भने अन्तिम नियम जनवरीमा प्रकाशित गर्ने अपेक्षा गरिएको छ ।

यो नियमबारे विस्तृतमा यहाँ पढ्नुहोस् ।

यो नियम अनुशार सबैभन्दा धेरै पारिश्रमिक भएका आवेदनलाई पहिलो प्राथमिकता दिइनेछ भने कामदार भिसामा कम्युटरबाट लोटरी प्रणालीलाई अन्त्य गर्नेछ । एचवानबी कामदार भिसाबाट अमेरिकामा विभिन्न कम्पनीहरुले विदेशी कामदारहरुलाई काममा लगाउँदै आएका छन् ।

त्यस्तै कामदार भिसा एचवानबीका एच फोर भिसामा रहेका आश्रित दम्पत्तिलाई वर्क परमिट दिइदै आएकोमा त्यसको अन्त्य गर्ने प्रस्तावित नियम प्रकाशित गर्ने योजनामा ट्रम्प प्रशासन रहेको छ । पहिले नै वर्क परमिट पाइसकेकाहरुको वर्क परमिट खारेज गर्ने वा कायमै राख्ने भन्नेबारे केही स्पष्ट छैन । प्रस्तावित नियम ट्रम्प राष्ट्रपति हुँदै आएपनि अन्तिम नियम भने जनवरी २० अगाडि आउन सम्भव देखिएको छैन ।

त्यस्तै विद्यार्थी भिसाको अवधि सिमित गर्ने अन्तिम नियम डिसेम्बरमा नै प्रकाशित गर्ने योजनामा ट्रम्प प्रशासन रहेको छ । विगतमा विद्यार्थी भिसामा ड्युरेशन अफ स्टाटस दिइदै आएकोमा यो नियम लागु भएमा भिसाको निश्चित अवधिमात्र तोकिनेछ । ओभरस्टे दर बढी भएका देशहरुबाट आउने विद्यार्थीका लागि २ बर्षकोमात्र भिसा दिइनेछ ।

यसबारे प्रस्तावित नियम गत सेप्टेम्बरमा नै फेडरल रजिष्टरमा प्रकाशित भएको थियो भने एकमहिनाको कमेन्ट अवधि राखिएको थियो । अब यसको अन्तिम नियम ल्याउने तयारीमा ट्रम्प प्रशासन रहेको छ । जुन जनवरी २० अगाडि नै लागु हुन सम्भव रहेको छ ।

यो नियमबारे विस्तृतमा यहाँ पढ्नुहोस् ।

त्यस्तै भिजिटर भिसाका सन्दर्भमा कडाई गर्ने दुईवटा प्रस्तावित नियम ट्रम्प प्रशासनले ल्याएको छ । त्यसमध्ये भिजिटर भिसामा आउनेहरुले कस्ता गतिविधि गर्न पाउने भन्ने सन्दर्भमा सिमाबन्दी तोक्ने अन्तिम नियम तत्काल आउने सम्भावना छैन । बाइडेन प्रशासन आएपछि उक्त नियमलाई समर्थन गर्ने नगर्ने पनि स्पष्ट छैन । तर भिजिटर भिसामा आउनेहरुलाई अमेरिकामा बस्नका लागि दिइने अवधिमा परिवर्तन गर्नेबारेको अन्तिम नियम भने जनवरीमा नै प्रकाशित गर्ने योजनामा ट्रम्प प्रशासन रहेको छ ।

यो नियमबारे विस्तृतमा यहाँ पढ्नुहोस् ।

बायोमेट्रिक संकलनबारे ट्रम्प प्रशासनले गत सेप्टेम्बरमा एउटा प्रस्तावित नियम ल्याएको थियो । यो नियम अनुशार अमेरिकामा रहेका विदेशी नागरिकको बेलाबेलामा बायोमेट्रिक लिने, जाँचबुझ गर्ने, बायोमेट्रिक संकलनमा उमेरको हदबन्दी हटाउने लगायत समेटिएको छ । यसबारेको अन्तिम नियम जनवरीमा नै प्रकाशित गर्ने ट्रम्प प्रशासनको योजना रहेको छ ।

त्यस्तै सीबीपीको पनि बायोमेट्रिकबारे प्रस्तावित नियम फेडरल रजिष्टरमा प्रकाशित छ । जसका लागि डिसेम्बर २१ सम्म कमेन्ट अवधि राखिएको थियो ।अमेरिका प्रवेश गर्ने र बाहिरिने क्रममा संकलन गरिएका बायोमेट्रिकको प्रयोगलाई बृहत बनाउनेबारे अन्तिम नियम ट्रम्प कार्यकालमा नै आउने नआउने स्पष्ट छैन ।

अमेरिकामा ग्रिनकार्डमा आउनेहरुलाई स्पोन्सर गर्ने क्रममा स्पोन्सर गर्ने व्यक्तिले स्पोन्सर फर्ममा बैंक खाताको विवरण, क्रेडिट रिपोर्ट, क्रेडिट स्कोर समेत बुझाउनुपर्ने प्रस्तावित नियम गत अक्टोबरमा प्रकाशित भएको थियो । यसबारेको अन्तिम नियम पनि जनवरीमा नै प्रकाशित गर्ने योजनामा ट्रम्प प्रशासन रहेको छ ।

यो नियमबारे विस्तृतमा यहाँ पढ्नुहोस् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ फाइल गर्न नमिल्ने नियम ल्याउने तयारी गरेको छ । तर यो नियम सन् २०२१ को सेप्टेम्बरमा ल्याउने योजना रहेको छ । यो नियमले बाइडेन प्रशासनले समर्थन गर्ने वा नगर्ने स्पष्ट छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com