अमेरिकामा कानुनी सहायता नपाउने आप्रवासीको संख्या तीव्र रूपमा बढ्दै: ५ वर्षमा कानुनी सहायता पाउने दर आधा घट्यो
सिरैक्युज युनिभर्सिटीको डेटा क्लियरिङहाउसले सार्वजनिक गरेको नयाँ तथ्याङ्कले अमेरिकाका अध्यागमन अदालतहरूमा मुद्दासँग जुधिरहेका कागजातविहीन आप्रवासीहरूसँग कानुनी प्रतिनिधि नहुने समस्या भयावह बन्दै गएको देखाएको छ।
‘ट्रान्ज्याक्सनल रेकर्ड्स एक्सेस क्लियरिङहाउस’का अनुसार, आर्थिक वर्ष २०२१ मा आप्रवासी अदालतमा वकिल उपस्थित हुने दर ६३ प्रतिशत रहेकोमा सन् २०२६ सम्म आइपुग्दा यो घटेर ३२ प्रतिशतमा सीमित भएको छ।
अध्यागमन अधिवक्ता किम ब्रुनोका अनुसार अध्यागमनसम्बन्धी मुद्दाहरू देवानी प्रकृतिका हुने भएकाले फौजदारी मुद्दामा जस्तो सरकारले नि:शुल्क वा सरकारी वकिल उपलब्ध गराउने कानुनी अधिकार यहाँ लागू हुँदैन।
“देवानी मुद्दामा वकिल राख्न पाउने अधिकार त हुन्छ, तर के तपाईंले नि:शुल्क वकिल वा सरकारले नै प्रतिनिधि तोकिदिने अधिकार पाउनुहुन्छ? पाउनुहुन्न,” ब्रुनोले भनिन्।
अध्यागमनसम्बन्धी मुद्दाहरूको सङ्ख्या उच्च हुनु र मागअनुसार वकिलहरूको उपलब्धता नहुनु नै यो गिरावटको मुख्य कारण रहेको ब्रुनोको भनाइ छ। नि:शुल्क सेवा दिने वकिलहरूको सङ्ख्या सीमित रहेको र ठूलो सङ्ख्यामा आप्रवासीहरू नियन्त्रण वा हिरासतमा रहेकाले सेवा पुर्याउन निकै कठिन भइरहेको उनले बताइन्।
टेक्सास राज्यको तथ्याङ्कअनुसार, त्यहाँका अध्यागमन अदालतमा मुद्दा विचाराधीन रहेका प्रति १० जनामध्ये ६ जना आप्रवासीसँग कुनै वकिल छैनन्।
वकील वा कानुनी प्रतिनिधि नहुँदा आप्रवासीहरूलाई द्रुत प्रक्रियाबाट देश निकाला गरिने जोखिम उच्च रहन्छ। तर, कानुनी प्रतिनिधि हुँदा उनीहरूले आफ्ना ग्राहकका लागि सम्भावित सबै विकल्प र मार्ग प्रयोग गरेर अमेरिकामा नै रहने कानुनी लडाइँ लड्ने ब्रुनोले बताइन्।





