ग्रिनकार्ड आवेदकलाई स्पोन्सर गर्नेले क्रेडिट स्कोरदेखि ३ बर्षको ट्याक्स रेकर्ड बुझाउनुपर्ने नियम प्रस्ताव


प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार

अमेरिकी सरकारको युएससीआईएसले ग्रिनकार्ड आवेदकलाई स्पोन्सर गर्ने स्पोन्सरकर्तालाई जिम्मबार बनाउन नयाँ नियम प्रस्ताव गरेको छ । यो नियम शुक्रबार फेडरल रजिस्टरमा प्रकाशित हुने भएको छ । त्यसपछि यो नियमका लागि ३० दिनको कमेन्ट अवधि दिइने छ ।

स्पोन्सर फर्म आई ८६४ र आई ८६४ ईजी भर्ने स्पोन्सरकर्ताहरुलाई त्यसका नियमप्रति उत्तरदायी बनाउन यस्तो नियम ल्याउन लागिएको युएससीआईएसले जनाएको छ । अमेरिकी ग्रिनकार्ड आवेदकलाई स्पोन्सर गर्दा स्पोन्सर गरिएको व्यक्तिले सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट गराउने नियम रहेको छ ।

शुक्रबार फेडरल रजिस्टरमा प्रकाशित हुने नियम यहाँ पढ्नुहोला ।

नयाँ नियम लागु भएमा स्पोन्सरकर्ताले क्रेडिट रिपोर्ट, क्रेडिट स्कोर, विगत ३ बर्षको ट्याक्स रिर्टनको प्रमाणित प्रति, बैंक एकाउन्टको विवरण पेश गर्नुपर्ने जनाइएको छ । स्पोन्सरकर्ताले आवश्यक आम्दानी गरिरहेको प्रमाणित गर्न बैंक एकाउन्टको विवरण पेश गर्नुपर्ने युएससीआईएसको भनाई छ ।

यदि स्पोन्सरकर्ताले विगत ३६ महिनाको अवधिमा सरकारी सुविधा लिएको भएमा त्यस्तो कुनै सरकारी सुविधा नलिएको अर्को स्पोन्सरकर्ता समेत आवश्यक पर्ने जनाइएको छ । विगतमा कसैलाई स्पोन्सर गरेर उक्त आप्रवासीलाई गर्ने सहयोग गर्न असफल रहेको भएमा पनि को स्पोन्सरको आवश्यकता पर्नेछ ।

प्राय सबै परिवारमा आधारित र केही रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिनेहरुका लागि स्पोन्सरको आवश्यकता पर्छ । स्पोन्सरकर्ताले आई ८६४ वा आई ८६४ ईजी भरेर स्पोन्सर गर्नका लागि अमेरिकी सरकारले तोकेको मापदण्ड अनुशारको आम्दानी भएको हुनुपर्ने प्रावधान रहेको छ ।

नयाँ नियम लागु भएमा स्पोन्सरकर्ताले आफ्नो एकाउन्ट भएको बैंकको नाम, एकाउन्ट नम्बर, राउटिंग नम्बर, बैंक एकाउन्ट होल्डरको नाम लगायतका विवरण समेत बुझाउनुपर्नेछ । अमेरिकामा आउने व्यक्तिले प्रयाप्त बित्तिय सहायता भएको पुष्टी गर्न स्पोन्सरकर्ताका तर्फबाट यो विवरण अमेरिकी सरकारलाई बुझाउनुपर्छ । कतिपय रोजगारमा आधारित ग्रिनकार्डमा अमेरिका आउनेहरुलाई समेत यस्तो स्पोन्सरको आवश्यकता पर्छ ।

यस फारमले कानुनी रूपमा बाध्यकारी सम्झौताको रूपमा काम गर्दछ जहाँ अमेरिकाका नागरिक वा ग्रिनकार्डवाहक जसले कुनै व्यक्तिलाई स्पोन्सर गर्छन् । स्पोन्सरकर्ताले कसैलाई स्पोन्सर गर्नका लागि प्रयाप्त आम्दानी हुन जरुरी छ, जुन सामान्यतया संघीय गरिबी गाइडलाइनको १२५ प्रतिशत हुनुपर्छ ।

अहिलेसम्मको नियममा स्पोन्सर फर्म भर्दा स्पोन्सरकर्ताले नोटरी गर्न आवश्यक छैन । तर नयाँ नियम लागु भएपछि भने स्पोन्सरकर्ताले उक्त फर्म भरिसकेपछि नोटरी गरेको हुनुपर्नेछ । स्पोन्सरपछि अमेरिका आएको व्यक्तिले कुनै स्वास्थ्य, खाद्य वा आवासीय सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट असुल्ने सरकारी नियम रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com