कालोबजारी गर्नेको पाता कस्छौँ : मन्त्री भट्ट


प्रकाशित मिति : चैत्र ९, २०७६ आईतबार

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिनेगरी बन्दोवस्त गरेको स्पष्ट पार्नुभएको छ । आइतबार राजधानीमा एक विशेष साक्षात्कारमा बोल्दै उहाँले आपूर्ति व्यवस्थापनका लागि सरकारले पूरै योजनाबद्ध ढंगले काम गरिरहेको स्पष्ट पार्नुभएको हो ।

मन्त्री भट्टले भन्नुभयो, ‘अहिलेको अवस्थामा तत्काल आपूर्ति व्यवस्थापन कसरी गर्ने भन्ने एउटा तयारी छ, अर्को अलिक गम्भीर अवस्था आयो भने कसरी गर्ने र महामारी नै आयो भने कसरी गर्ने भन्ने पनि तयारी छ ।’

उहाँले बजारमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन्छ भन्ने मनोवृत्तिले उपभोक्ताले संचितीकरण गर्न थालेकोले केही समस्या उत्पन्न भएको पनि टिप्पणी गर्नुभयो । ‘कतिले चारदेखि ६ वटासम्म ग्यास सिलिण्डर राख्ने गरेका छन्, कतिले त दुईचार बोरा चामल राख्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा कतिपय व्यापारीले पनि मौकाको फाईदा उठाउनलाई कालोबजारी गर्न सक्छन् । हामीले मन्त्रालयको टिमलाई पूरै परिचालन गरेका छौं । कोही पनि कर्मचारी बिदामा नबसी फिल्डमा खटिनुभएको छ ।’

कालोबजारी र कृत्रिम अभाव गर्न खोज्नेहरुलाई ३ लाख जरिवाना र हदैसम्मको ५ वर्षसम्मको कैद सजाय गरिने उहाँले स्पष्ट पार्नुभयो । ‘बदमासी गर्न खोज्नेहरुलाई सबैले कारबाही गर्नुपर्छ । कालोबजारी गरेको पाइए सुचना दिनुहोस् । हामी कारबाही गर्छौं, पाता कस्छौँ’ उहाँले भन्नुभयो, ‘सबैको सहयोग भयो भने हामी आपूर्ति लगायतका समस्या समाधान गर्न सफल हुन्छौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्री भट्टले अत्यावश्यक वस्तु नपाए वाणिज्य विभागमा सुचना दिनसमेत आग्रह गर्दै भन्नुभयो, ‘११३७ नं.मा फोन गर्नुहोस् । हामी व्यवस्थापन गर्छौं ।’ यस बीचमा कारबाही गरिएकाहरुबाट ६० देखि ७० लाख राजश्व उठेको सुनाउँदै गलत गर्नेहरुलाई कारबाही गरिएको उहाँको दाबी छ ।

अभाव हुँदैन

खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीको कुनै अभाव नहोस् र सहज तवरले आपूर्ति व्यवस्थापन होस् भनी आफ्नो नेतृत्वमा एक समिति समेत हिजो गठन भएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो समितिमा तीनवटै सुरक्षा निकायका प्रतिनिधि हुनुहुन्छ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि, चेम्बर अफ कमर्स, सिएआई, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि हुनुहुन्छ । हामी विशेष तयारीका साथ काम गरिरहेका छौं ।’

मन्त्री भट्टले भोलि त्यस्तो अवस्था आए संकटकाल नै घोषणा पनि हुनसक्ने बताउनुभयो । ‘सबै कुराको ख्याल गरेर हामीले तयारी गरिरहेका छौं,’ उहाँले कोरोनाबारे सबैले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउँदै भन्नुभयो, ‘मिडियाले पोजिटिभ मेसेज दिईरहनुभएको छ । तर, सामाजिक सञ्जालमा कतिपयले नेगटिभ मेसेज पनि दिइरहेका छन् । त्यसलाई कन्ट्रोल गर्नुपर्छ ।’

भारतसँग कूटनीतिक पहल

भारतबाट ठूलो संख्यामा आवातजावत भएको प्रसंगमा यसबारेमा भारतसँग कुटनीतिक पहल गर्ने पनि उहाँले बताउनुभयो । ‘जो जुन मुलुकमा हुनुहुन्छ, त्यहीँ बसौं । देशलाई संकटबाट बचाउँ । यसबारेमा भएको कमजोरीको समिक्षा गर्नुपर्छ । हामी समिक्षा गर्छौं । भारतसँगको सीमा अझै व्यवस्थित् गर्छौं । त्यहाँ सुरक्षा जनशक्ति थप्ने कुरा भएको छ,’ मन्त्री भट्टले भन्नुभयो ।

‘गड्डाचौकी नाकाबाट ठूलो भीड आएको देखिन्छ । हाम्रो तयारी जुन थियो, त्यहाँ अलिक ठूलो भीड आयो । त्यसले समस्या पैदा गर्यो । त्यो भीडलाई नियन्त्रण गर्न नसकिएको कुरा पनि देखियो,’ उहाँले भन्नुभयो । भारतबाट ठूलो संख्यामा नेपाल आउने भीडालाई ध्यानमा राखेर आफूहरुले अब नेपाल आउन नदिन भारत सरकारलाई कुटनीतिक माध्यमबाट आग्रह गरिरहेको मन्त्री भट्टको दाबी छ ।

मास्क अहिले बाहिरबाट पनि आइरहेको र नेपालमा उत्पादन क्षमता पनि बढाएको सुनाउँदै उहाँले भन्नुभयो, ‘हाम्रो उत्पादन क्षमता कम छ । तर, माग बढी छ । हिजोको दिनमा २५ हजार खपत हुन्थ्यो,अ हिले अत्यधिक माग बढेको छ । डिमाण्डअनुसार प्रोडक्सन भएको छैन् । तर, अहिले हामीले क्षमताभन्दा बढि उत्पादन भैरहेको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com