सेल्फीमोहले गुरिल्ला संकटमा


प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार

मानिसहरू प्रायः सेल्फी लिन निकै उत्सुक हुन्छन् । तर, सेल्फी लिने क्रममा यसबाट हुने नोक्सान भने नजरअन्दाज गर्छन् । मानिसले लिने सेल्फीबाट अफ्रिकाका गुरिल्ला पनि समस्यामा परेका छन् । प्रायजसो चिडियाखाना वा अन्य ठाउँमा गुरिल्ला, बाँदर र मानिसबीचको दूरी सात मिटर हुनुपर्ने प्रावधान छ । तर, सामाजिक सञ्जालमा राम्रा तस्बिर राख्ने आकांक्षामा मानिस यी जनावरको नजिकै पुग्छन् ।

युगान्डामा जनावरको सुरक्षाका विषयमा भएको कार्यक्रममा एक विशेषज्ञले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्ने लालचमा मानिसले आफ्नो व्यवहारमा ध्यान नपुर्‍याएको बताए । उनका अनुसार मानिसहरू माउन्टेन गुरिल्लासँग सेल्फी लिन नजिक जान्छन्, उनीहरू गुरिल्लालाई छुन पुग्छन्, जसबाट मानिसमा भएको भाइरस गुरिल्लामा सर्छ । अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीका प्रोफेसर गेसपर्ड भन्छन्, ‘साना गुरिल्लानजिक धेरै मानिस पुग्छन्, यसबाट मानिसलाई लागेको सरुवा रोग गुरिल्लालाई सर्छ ।’

माउन्टेन गुरिल्ला रुवान्डा, युगान्डा र कंगोमा पाइन्छन्, यी गुरिल्लालाई दुर्लभ प्रजातिको श्रेणीमा राखिएको छ । अहिले यी क्षेत्रमा गुरिल्लाको संख्या १ हजार ४ रहेको छ । १९८० पछि यिनीहरूको संख्यामा वृद्धि भए पनि यिनीहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो, जसलाई मानिससँगको स्पर्शको कारण मानिएको छ ।

रुवान्डामा १२ गुरिल्लामध्ये ११ वटामा यस्तो समस्या देखिएको थियो । यसमा पाँचवटा गुरिल्लालाई डाक्टरले एन्टिबायोटिक दिएका थिए तर दुईवटाको मृत्यु भयो । मृत्यु भएका गुरिल्लाको पोस्टमार्टम गर्दा तिनीहरू मानिसलाई लाग्ने भाइरसबाट ग्रस्त भएको पाइएको थियो । यी तीन देशमा गुरिल्ला हेर्न जंगल जाने अनुमति त दिइएको छ, तर सात मिटर टाढा रहनुपर्ने नियम छ ।

गुरिल्लाको स्वास्थ्यमा समस्या देखिएपछि मानिसको व्यवहार अध्ययन गर्न यी देशका नागरिकको सामाजिक सञ्जालका खाता खोलेर हेरिएको थियो । यसरी हेर्दा सबै तस्बिर सात मिटरभन्दा नजिक गएर खिचेको भेटियो । यसबाहेक गुरिल्लासँग ‘फिजिकल कन्ट्याक्ट’मा समेत रहेका २० वटा तस्बिर थिए । यी जंगलको हेरचाह गर्ने एक अधिकारीका अनुसार केही आम्दानी होस् भनेर मानिसलाई गुरिल्ला हेर्न सरकारले अनुमति दिएको हो । जनावर विशेषज्ञहरू यहाँ तत्कालै केही नियम बनाएर लागू गर्नुपर्ने र सजायको पनि व्यवस्था गरे मात्रै गुरिल्ला जोगाउन सकिने बताउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com