टेक्सासमा खानेपानीको आलोचना गर्ने महिलालाई पक्राउ गर्ने प्रहरी विभाग राज्य सरकारद्वारा खारेज
Photo: Charlie Fair/ Unsplash
नगरको दूषित खानेपानीको समस्याबारे सामाजिक सञ्जालमा आवाज उठाउने एक महिलालाई पक्राउ गरेपछि विवादमा तानिएको अमेरिकाको टेक्सासस्थित ट्रिनिडाड प्रहरी विभागलाई राज्य सरकारले खारेज गर्ने आदेश दिएको छ। राज्यको नियामक निकायले उक्त प्रहरी विभागले “समुदायलाई कुनै लाभ पुर्याउन नसकेको” र न्यूनतम मापदण्डसमेत पूरा नगरेको ठहर गर्दै सो निर्णय गरेको हो।
‘टेक्सास कमिसन अन ल एनफोर्समेन्ट’ले गत सेप्टेम्बर ९ मा ट्रिनिडाडका मेयर डेनिस हसलाई पत्र पठाउँदै प्रहरी विभाग सञ्चालन गर्ने अनुमतिपत्र रद्द गरिएको जानकारी दिएको छ। गत अगस्ट ५ मा गरिएको अनुसन्धानका क्रममा उक्त प्रहरी विभागसँग बल प्रयोग, सवारी साधन पछ्याउने, व्यावसायिक आचरण र सक्रिय हतियारधारी आक्रमणकारी सम्बन्धी आवश्यक १८ वटा आधारभूत नीतिहरू समेत नरहेको पाइएको थियो।
यो विवाद गत मे महिनामा सुरु भएको थियो। स्थानीय बासिन्दा जेनिफर कम्ब्सले नगरको खानेपानीको पाइपमा कीटाणु भएका कारण मानिसहरू अस्पताल भर्ना हुनुपरेको भन्दै फेसबुकमा पोस्ट गरेकी थिइन्। सोही पोस्टको आधारमा प्रहरीले उनलाई “झूटो आपतकालीन सूचना फैलाएको” आरोपमा पक्राउ गरी रातभर हिरासतमा राखेको थियो।
यद्यपि, कम्ब्सको पोस्टभन्दा केही हप्ताअघि नै नगरपालिका स्वयंले दूषित पानीका कारण सर्वसाधारणलाई पानी उमालेर मात्र पिउन सार्वजनिक सूचना जारी गरेको थियो।
कम्ब्सको गिरफ्तारीको विरोध गर्ने नागरिक पत्रकार विन्स्टन नोल्सलाई पनि प्रहरीले पक्राउ गरेको थियो। घटनाले राष्ट्रिय स्तरमै ध्यान खिचेपछि प्रहरी विभाग चौतर्फी दबाबमा पर्यो। पछि दुवै जनामाथि लगाइएको आरोप फिर्ता लिइयो भने प्रहरी प्रमुख चार्ल्स ग्रेगोरीले जुन १९ मा पदबाट राजीनामा दिए।
त्यसलगत्तै स्थानीय जिल्ला सरकारी वकीलको कार्यालयले पनि उक्त प्रहरी विभागबाट आउने मुद्दाहरू स्वीकार नगर्ने घोषणा गरेको थियो। साथै, टेक्सासको पर्यावरण सम्बन्धी निकायले कम्ब्सले उठाएको खानेपानीको समस्या वास्तवमै गम्भीर रहेको पुष्टि गर्दै नगरपालिकाहरूलाई सुधार गर्न निर्देशन दिएको छ।
करिब ८०० जनसंख्या रहेको ट्रिनिडाड सहरमा ५ जना पूर्णकालीन र केही अंशकालिक प्रहरी कार्यरत थिए। अब उक्त क्षेत्रको सुरक्षा व्यवस्था ह्यान्डरसन काउन्टी शेर्फिस कार्यालयले सम्हाल्नेछ।





