अमेरिकी स्वास्थ्य क्षेत्रमा नयाँ चुनौती: ७०% युवा कर्मचारी नयाँ काम खोज्दै
प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार
Photo: Online Marketing/ Unsplash
दीर्घकालीन रूपमा एउटै संस्थामा काम गर्ने इच्छा भए तापनि अमेरिकाका अधिकांश युवा स्वास्थ्यकर्मीहरू आगामी एक वर्षभित्र नयाँ जागिर वा भूमिकाको खोजी गर्ने योजनामा रहेको एक सर्वेक्षणले देखाएको छ।
‘स्ट्र्याटेजिङ एजुकेशन’ र ‘वर्कफोर्स एज’को सहयोगमा ‘ह्यारिस पोल’ले गरेको नयाँ अध्ययन अनुसार सन् १९९७ देखि २०१२ बीच जन्मेका करिब ७० प्रतिशत स्वास्थ्यकर्मीहरूले आगामी १२ महिनाभित्र नयाँ भूमिका अन्वेषण गर्ने बताएका छन्। अचम्मको कुरा त के छ भने, तिनैमध्ये ६५ प्रतिशतले भने कम्तीमा पाँच वर्ष वा सोभन्दा बढी समय एउटै रोजगारदातासँग काम गर्न चाहेको र उनीहरूका लागि रोजगारीको स्थायित्व महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्।
समग्रमा सबै उमेर समूहका ५९ प्रतिशत स्वास्थ्यकर्मीहरूले आगामी वर्ष नयाँ जागिर खोज्ने अपेक्षा गरेका छन्। यो अध्ययनले युवा कर्मचारीहरूमा जागिर छाड्ने प्रवृत्ति केवल काम परिवर्तन गर्नका लागि नभई, ‘करियर’को पदोन्नति र विकासका लागि भएको देखाउँछ।
सर्वेक्षणमा सहभागी आधाजसो रोजगारदाताहरूले पर्याप्त तालिम र करियर वृद्धिको अभाव नै कर्मचारीहरूले जागिर छाड्नुको मुख्य कारण भएको स्वीकारेका छन्। अर्कोतर्फ, केवल २५ प्रतिशत कर्मचारीहरूले मात्र आफ्नो उज्ज्वल भविष्यका लागि रोजगारदाताले लगानी गर्नेमा विश्वास व्यक्त गरेका छन्।
सन् २०३८ सम्ममा अमेरिकामा करिब ५ लाख स्वास्थ्यकर्मीको अभाव हुने प्रक्षेपण भइरहेका बेला यो निष्कर्षले स्वास्थ्य क्षेत्रका रोजगारदाताहरूलाई कर्मचारी टिकाइराख्न ठूलो चुनौती थपेको छ।
यसैगरी, रोजगारदाताहरूले कार्यबल योजनामा आर्टिफिसियल इन्टेलिजेन्सको भूमिकालाई पुनः मूल्याङ्कन गरिरहेको पनि अध्ययनले देखाएको छ। कर्मचारीहरू प्रतिस्पर्धामा टिकिरहन एआई सम्बन्धी सीप महत्त्वपूर्ण हुने बताउने रोजगारदाताको सङ्ख्या गत वर्षको ८९ प्रतिशतबाट घटेर यस वर्ष ७९ प्रतिशतमा झरेको छ।
यो सर्वेक्षण गत जुन १२ देखि जुलाई १ सम्म १,५१४ जना स्वास्थ्यकर्मी र ३०४ जना रोजगारदाताहरूबिच अनलाइनमार्फत गरिएको थियो।





