२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

ईयूको “सहयोगी सदस्य” बन्ने निमन्त्रणापछि ट्रम्प आक्रोशित: युरोपमाथि भारी भन्सार शुल्क लगाउने चेतावनी

अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : म्याट राउर्के/एपी-रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघले क्यानडालाई आफ्नो सहयोगी सदस्य बनाएमा कडा जवाफी कदम चाल्ने चेतावनी दिएका छन्। ट्रम्पले क्यानडासँग जारी व्यापार विवादका बीच ईयूको यो कदमलाई अमेरिकाप्रति ‘शत्रुतापूर्ण’ मान्न सकिने र त्यसको बदलामा “गम्भीर भन्सार शुल्क लगाउन सक्ने बताएका छन्।

बुधबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयनले आफ्नो ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा क्यानडालाई  ईयूको पहिलो सहयोगी सदस्य बनाउन ढोका खोल्ने प्रस्ताव गरेकी थिइन्। तर ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै यो प्रस्तावलाई “हास्यास्पद” भनेका छन्।

उत्तरी क्यारोलिनाको सार्लोटस्थित विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, “क्यानडा सधैँ एक खराब व्यापारिक साझेदार रहँदै आएको छ। यदि मलाई यो कदम अमेरिकाविरुद्ध लक्षित छ भन्ने लाग्यो भने, म युरोपमाथि धेरै भारी भन्सार शुल्क लगाउने छु वा धेरै वस्तुहरूको व्यापार नै रोक्ने छु।”

यद्यपि, यदि यो व्यवस्था असल नियतका साथ गरिएको हो भन्ने लागेमा स्वीकार गर्न सकिने सम्भावनालाई भने उनले खुला नै राखेका छन्।

ईयू प्रमुख भोन देर लेयनले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको उपस्थितिमा यो प्रस्ताव अघि सारेकी हुन्। उनले ईयू र क्यानडाबीच विद्यमान व्यापार सम्झौतालाई विस्तार गर्दै “भविष्यका लागि गठबन्धन  निर्माण गर्ने घोषणा समेत गरिन्।

तथापि, ईयू कानुनमा हालसम्म यस्तो ‘सहयोगी सदस्यता’ को प्रावधान नभएकाले यो प्रस्तावले युरोपेली देशहरूलाई आश्चर्यमा पारेको छ। क्यानडाका नेताहरूले पनि यस विषयमा अहिल्यै हतार नगर्ने सङ्केत दिएका छन्। स्ट्र्यासबर्गमा पत्रकारहरूसँग कुरा गर्दै ईयूका लागि क्यानडाका नवनियुक्त राजदूत जोनाथन विल्किन्सनले भने, “हामी अझै त्यो स्थितिमा पुगेका छैनौँ, हाम्रो ध्यान अहिल्यै ठोस परिणाम निकाल्नुमा छ।”

अमेरिका र क्यानडाबीच बढ्दै गएको व्यापारिक तनावका कारण क्यानडाले अमेरिकासँगको आर्थिक निर्भरता घटाउन युरोपसँग सम्बन्ध बढाउन खोजेको हो। प्रधानमन्त्री कार्नीले ईयूसँग “विशिष्ट गठबन्धन” को आह्वान गरे पनि पूर्ण सदस्यताको समर्थन भने गरेका छैनन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।