जलवायु परिवर्तनसम्बन्धी सम्झौताबाट अमेरिका औपचारिक रूपमै अलग
प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार
WASHINGTON, DC – OCTOBER 30: U.S. President Donald Trump delivers remarks during the Medal of Honor ceremony for Army Master Sgt. Matthew Williams in the East Room of the White House October 30, 2019 in Washington, DC. Serving with Special Forces Operational Detachment Alpha in Afghanistan’s Shok Valley in 2008, Williams repeatedly risked his life to evacuate four wounded teammates and lead counterassaults after they were pinned down by enemy fire during a mission to capture or kill high-value targets. (Photo by Chip Somodevilla/Getty Images)
अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अलग भएको विषयमा राष्ट्रसंघलाई औपचारिक जानकारी गराएको छ । जलवायु परिवर्तनविरुद्ध ऐक्यबद्धता कायम राख्ने भन्दै विश्वका नेताहरूको सहभागितामा फ्रान्सको राजधानी पेरिसमा एउटा सम्झौता भएको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएलगत्तै सो सम्झौताबाट बाहिरिने घोषणा गरेका थिए ।
सम्झौताबाट बाहिरिने विषयमा अमेरिकाले राष्ट्रसंघलाई मंगलबार औपचारिक पत्र पठाएको छ । विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजलाई मंगलबार पत्र लेखेर औपचारिक रूपमै जानकारी गराएको राष्ट्रसंघले जानकारी दिएको छ ।
राष्ट्रसंघका महासचिव गुटरेजका प्रवक्ताले अमेरिकाले पत्र लेखेको पुष्टि गरेका छन् । नोभेम्बर ४ देखि अमेरिका सो सम्झौताबाट पछि हटेको औपचारिक पत्र प्राप्त गरेको प्रवक्ताले जानकारी दिए । ‘सन् २०१५ डिसेम्बर १२ मा गरिएको पेरिस सम्झौताबाट हट्न अमेरिकाले पठाएको पत्र गुटरेजले प्राप्त गरेका छन्,’ उनले भनेका छन् ।
सम्झौतामा अमेरिकाले सन् २०१६ को अप्रिल २२ मा हस्ताक्षर गरेको थियो । करिब एक महिनाअघि नै अमेरिकाले सम्झौताबाट बाहिरिने आफ्नो योजनाबारे राष्ट्रसंघलाई जानकारी गराएको थियो । सम्झौतामा अमेरिकासहित विश्वका १८८ देशले हस्ताक्षर गरेका छन् । सम्झौतामा भएका कतिपय प्रावधानका कारण अमेरिकालाई अनावश्यक रूपमा आर्थिक बोझ थपेको ट्रम्पको दाबी थियो । सोही कारण देखाएर अमेरिकाले सो सहमतिको कार्यान्वयनमा जान नसक्ने बताउँदै आएको थियो ।
राष्ट्रसंघीय प्रवक्ताले अमेरिकाले दिएको पत्रबमोजिम राष्ट्रसंघले काम गर्ने भन्दै यही नोभेम्बर ४ देखि नै अमेरिका सो सम्झौताबाट अलग भएको प्रावधान कार्यान्वयनमा आउने जानकारी दिएका छन् ।






