कोकिन बोकेको आरोपमा १५ बर्ष जेल सजाय सुनाइएका युवाले बोकेको धुलो पाउडर दुध


प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार

अमेरिकामा कोकिन बोकेको आरोपमा १५ बर्ष जेल सजाय सुनाइएका एकजना युवाले बोकेको सेतो पदार्थ पाउडर दुध भएको प्रयोगशाला परीक्षणबाट पुष्टी भएको छ । उनले बोकेको सेतो धुलो पाउडर दुध भएको पुष्टी भएपछि उनीबिरुद्ध लगाइएका सबै अभियोगहरु खारेज भएका छन् ।

गत अगस्त १२ मा ओक्लोहोमाका २९ बर्षका कोडी ग्रेगलाई प्रहरीले पक्राउ गरेको थियो । सुरुमा साइकलको पछाडिको बत्ति नबालेको भन्दै प्रहरीले रोकेकोमा उनको झोला खानतलासी गर्दा सेतो पाउडर भेटिएको थियो । प्रहरीले उक्त पाउडर कोकिन भएको भन्दै उनलाई पक्राउ गरेको थियो ।

त्यसपछि ती युवालाई लागुपदार्थको ओसारपसारको अभियोग लगाइएको थियो । साथै ५० हजार डलर बण्ड तोकेर जेलमा राखिएको थियो । सुरुमा ती युवाले आफू निर्दोष रहेको बताएका थिए । तर पछि दुईमहिना जेलमा राखेपछि उनले प्रहरीले लगाएको अभियोग स्वीकारेका थिए । त्यसपछि उनलाई १५ बर्षको सजाय सुनाइएको थियो ।

केहीदिनपछि उक्त सेतो पदार्थ पाउडर दुध रहेको पुष्टी भएपछि ती युवालाई अदालतमा पेश गरिएको थियो । ओक्लोहोमा काउन्टी जेलको अवस्था असाध्यै नाजुक रहेको र त्यहाँ खाद्यान्नमा समेत अखाद्य पदार्थ भेटिएपछि उक्त जेलबाट निस्कनका लागिमात्र आफूले प्रहरीको अभियोग स्वीकारेको ती युवाले बताएका छन् ।

उक्त जेलको अवस्था अत्यन्तै कमजोर रहेको तथा जताततै छुचुन्द्राहरु दगुर्ने जनाइएको छ । साथै उक्त जेलमा आत्महत्या दर पनि निकै उच्च रहेको बताइएको छ । सेतो पाउडर परीक्षणको क्रममा पाउडर दूध रहेको प्रमाणित भएपछि ती युवालाई रिहा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com