झापाका अनिलले बनाए हात्ती धपाउने साइरन ड्रोन


प्रकाशित मिति : कार्तिक २, २०७६ शनिबार

झापाका विद्यार्थी अनिल प्रधानले जङ्गली हात्ती धपाउने साइरन ड्रोन विकास गरेका छन्  । कक्षा १२ मा अध्ययनरत भद्रपुर नगरपालिका–१ निवासी प्रधानले आफ्नै घरमा उक्त ड्रोन बनाएका हुन् । उनले साइरन जडान गरिएको ड्रोनको सफल र प्रभावकारी प्रयोग पनि गरेका छन् ।

उनले भने, “मेरो घर आसपासमा जहिले पनि जङ्गली हात्ती आउने र दुःख दिने गथ्र्यो । झापामै हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको देखियो । यसले गर्दा हात्तीलाई कसरी धपाउन सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गरिरहेको थिएँ । ”

मौरी कराएको आवाजबाट हात्ती सबैभन्दा बढी डराउने तथ्य फेला परेपछि मौरीको भुनभुन आवाजलाई ड्रोनमा जडान गरिएको उनले बताए । यो ड्रोनमा रातो बत्तीसमेत प्रयोग गरिएको छ ।

हात्तीको नजिकै लगेर ड्रोन उडाएपछि मौरी आएको त्रासमा हात्ती ठूलो आवाजका साथ गर्जंदै जङ्गलतिर भाग्ने गरेको प्रधानले बताए । पाँच किलोमिटर दूरीसम्म रिमोटले काम गर्ने भएकाले आफू पनि सुरक्षित भएर हात्तीलाई टाढाबाट नै धपाउन सकिने उनको भनाइ छ ।

डिभिजन वन कार्यालय, झापाको समेत सहभागितामा स्थानीय बासिन्दासहितको टोलीले हात्ती धपाउन साइरन ड्रोन परीक्षण गरेको थियो । गत बिहीबार र शुक्रबार राति यसको परीक्षण गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com