राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजा–अर्चना


प्रकाशित मिति : आश्विन १९, २०७६ आईतबार

राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गर्नुभएको छ । उहाँले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन्दिर परिक्रमा गरी स्थानीय जनप्रतिनिधिसँग मन्दिरको पुनःनिर्माणबारे चासो राख्नुभएको थियो । साथै उहाँले मन्दिरको छानोमा सुनको मोलम्बा लगाउने विषयमा जिल्ला समन्वय समितिसँग समन्वय गर्न जनप्रतिनिधिलाई सुझाव दिनुभएको थियो ।

बिहान १०ः०५ बजे मन्दिर आइपुग्नुभएका राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी र उपप्रमुख मञ्जु गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जू, पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारलगायत स्थानीय जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो ।

बडादशैँको आठौँ दिन आज महाअष्टमी पर्वको दिन दूर्गा भवानीको पूजा–अर्चना गरी मनाइन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले विशेष महत्वका साथ आजको दिन महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा गरिन्छ ।

साथै, आजकै दिन दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गर्ने चलन पनि रहँदै आएको छ । बडादशैँको नवरात्रिभर दूर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्त्रोत पाठ गरिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com