क्रान्तिका नाममा रीतिरिवाज तोड्नु हुँदैन– उपप्रम पोखरेल


प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताउनुभएको छ । विजयादशमीका अवसरमा कामपा–५ हाँडीगाउँमा त्रिशक्ति युवा क्लबले बुधबार आयोजना गरेको दुर्गा पूजा समारोहमा उपप्रधानमन्त्री पोखरेलले कसैले पनि कसैको आस्था र विश्वासमा प्रहार गर्ने काम गर्न हुँदैन भन्नुभयो ।

रक्षामन्त्री पोखरेलले भन्नुभयो, “मानिसको आस्था र विश्वासको सम्मान गर्नुपर्छ । धर्म, संस्कृति हाम्रा पुर्खाको देन हो, त्यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।”

सो अवसरमा पूर्वमन्त्री डा प्रकाशशरण महतले समाजको सांस्कृतिक परम्परा जोगाउन क्लबले गरेको प्रयास धेरैका लागि अनुकरणयोग्य भएको बताउनुभयो । हाम्रो परम्परागत धर्म, संस्कृति पनि समृद्धि र पहिचानका आधार रहेको उल्लेख गर्दै उहाँले सरकार पनि यसबारे अलि गम्भीर हुनुपर्छ भन्नुभयो । साहित्यकार रोचक घिमिरेले हाँडीगाउँ संस्कृति र धार्मिक परम्पराले समृद्ध रहेको बताउनुभयो । पूजा व्यवस्थापन समितिका अध्यक्ष सुदीप समद्दारले भाषा, संस्कृति र परम्परागत रीतिरिवाजका हिसाबले नेपाल विश्वकै धनी मुलुक हो भन्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com