चीनका विदेशमन्त्री नेपालमा भेटघाटमा व्यस्त


प्रकाशित मिति : भाद्र २४, २०७६ मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले राष्ट्रपति कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

भेटमा विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यका साथै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो ।

प्रधानमन्त्री ओली र यीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको टोलीसँग उच्चस्तरीय वार्ता गरे लगतै यी बालुवाटार पुग्नु भएको थियो । भेटमा दुई देशको सम्बन्ध र आपसी हितबारे कुराकानी भएको बताइएको छ ।

राष्ट्रपति सीको प्रधानमन्त्री ओलीलाई सन्देश

चिनिया राष्ट्रपति सि चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । नेपाल भ्रमणमा रहनु भएका विदेशमन्त्री वाङ यी मार्फत राष्ट्रपति सिले सुस्वास्थ्यको शुभकामना पठाउनु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विदेशमन्त्री वाङले सो शुभकामना पढेर सुनाउनु भएको थियो । यसैगरी राष्ट्रपति सि सँगै चिनियाँ प्रधानमन्त्री लि खच्याङले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । विदेशमन्त्री वाङले सुस्वास्थ्यको लागि दुवै जनाले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाउनु भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराईले जानकारी दिनुभयो ।

जवाफमा प्रधानमन्त्री ओलीले यो सदासयताका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओली दुई पटक सिंगापुर पुगेर मुगौलासम्वन्धि थप उपचार गरेर गत शुक्रबार स्वदेश फर्किनु भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com